एउटा आदर्श शिक्षक रोंगाेंगको सम्झना : मजस्ता हजारौँलाई शिक्षाको ज्योति बाल्नुभयो

फर्कलान्  र ती दिनहरु

एउटा आदर्श शिक्षक रोंगाेंगको सम्झना : मजस्ता हजारौँलाई शिक्षाको ज्योति बाल्नुभयो

हरिविनोद अधिकारी  |  शिक्षा  |  माघ ७, २०७९

मलाई मेरा गुरु प्राध्यापक डाक्टर राजेन्द्रकुमार रोंगाेंगका सम्झना आइरहन्छ । एउटा त उच्च शिक्षामा शिक्षा भन्ने विषय नै उहाँले सिकाउनु हुन्थ्यो । अझ शिक्षाभित्रको पाठ्यक्रम भन्ने विषयको ज्ञान दिनुहुन्थ्यो । बारम्बार उहाँले भन्नुहुन्थ्यो, प्रशिक्षार्थीमा जबसम्म मनमा प्रश्न उठ्दैन, तबसम्म उसले नयाँ ज्ञान तर्फको पाइलो चाल्न सक्दैन ।

वास्तवमा हो रहेछ । मलाई लाग्थ्यो, मैले त शिक्षा आधार, शिक्षा मनोविज्ञान , विद्यार्थी मूल्याङ्कन र पाठ्यक्रमका बारेमा बी एड मा धेरै कुरा थाहा पाइसकेको छु जसको प्रयोग शिक्षण अभ्यासमा सफलताका साथ गरेर आएको हुँ ।

तर जब रोंगोंग सरको कुराले भित्रैसम्म छोयो, मलाई लाग्यो मैले केही थाहा नै पाएको रहेन छु । म त नबुझेर जान्ने ठान्दो रहेछु आफूलाई । उहाँ आध्यात्मिक मात्र होइन, धार्मिक पनि हुनुहुन्थ्यो र सायद क्रिस्चियनहरुको एउटा विद्वद्मण्डलीको नेतृत्वसमेत गर्नुहुन्थ्यो र पनि पूर्वीय धार्मिक मान्यताको ज्ञान यस्तो राख्नुहुन्थ्यो कि वैदिक परम्पराको व्याख्या गर्नुहुन्थ्यो । भन्नुहुन्थ्यो-जबसम्म वैदिक शिक्षा या विद्याको ज्ञान हुँदैन, तबसम्म आधुनिक शिक्षाको विकासक्रमको जरा पत्ता लाग्दैन । र भन्नुहुन्थ्यो—ज्ञानको भोकलाई पूरा नगरी जीवन र जगतसँग भिड्न गाह्रो हुन्छ । हामीलाई लाग्थ्यो गुरु कुनै पत्र नपल्टाइ कन, कुनै  तयारी नगरिकन आउनु भएको जस्तो लाग्थ्यो र उहाँले दिने व्यावहारिक शैक्षिक ज्ञानको महत्व मैले या समकालीन हामीले तब बुझ्यौँ , जब म र समकालीन साथीहरु पनि उच्च शिक्षाका शिक्षार्थीहरूसँग साक्षात्कार गर्न थाल्यौँ । 

मेरो प्रातः स्मरणीय गुरु, हाम्रो आदरणीय गुरु रोंगाेंग सर नेपाली शिक्षा शास्त्रको क्षेत्रमा अचानक ऐतिहासिक व्यक्तित्व बनेको कुरा बडो रमाइलो पाराले हामीलाई कक्षामा सुनाउनु हुन्थ्यो ।  १५जना भर्ना भएका रहेछन्, ५ जना नियमितरुपमा कक्षामा पनि आएका हुन्थे रे तर नेपालबाटै जाँच दिएर नेपालबाटै स्नातक उपाधि पाउने चाहिँ उहाँ नै हुनुभएछ ।

नेपालमा विश्व विद्यालय खुल्ने क्रममा मात्र थियो तर खुलिसकेको थिएन । २०१६सालको त्रिभुवन जयन्तीका दिन पारेर खुलेको विश्व विद्यालय नै त्रिभुवन विश्व विद्यालय हो जसको कुलपतिमा स्वर्गीय महाराज त्रिभुवनका रानीहरू कान्ति र ईश्वरीहरु थिए र उपकुलपतिमा तत्कालीन उपप्रधानमन्त्री सुवर्ण समशेर राणा रहनु भएको थियो । २०१६सालमा विश्व विद्यालय खुल्नुभन्दा पहिले शिक्षा शास्त्रमा स्नातक हुनुभएका रोंगोंग सरका लागि र नेपालका लागि पनि त्यो उपाधि जगेर्ना गर्ने र मान्यता पाउने कुरामा सबैको ध्यान गएको देखिन्छ । 

त्यसो त रोंगोंग सरले तत्कालीन अवस्थामा कलकत्ता विश्व विद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको देखिन्छ र पनि नेपालमा त्यो बेलामा शिक्षक तथा राम्रा प्रशासकका लागि नेपाली मूलका या नेपालीहरु जो जो भारतमा स्नातक छन्, तिनलाई बोलाएर यहाँ काम दिने प्रक्रियाको क्रममा नै सर पनि नेपाल आउनु भएको रहेछ । लामो कथा छ उहाँको तर त्यो एक बर्षे  बी एड्को मान्यताका लागि पनि उहाँलाई तत्कालै जस्तो दिल्ली विश्व विद्यालयमा एम एड् पढ्न पठाइएछ । यसरी भारतीय विश्व विद्यालयबाट मान्यता पाएको र अमेरिकी सरकारको पाठ्यक्रम र योजना अनुसार भएकाले अमेरिकामा त पक्कै नै समकक्षता रहेको बुझ्न सकिन्छ ।

शिक्षाविद् तथा कुशल शैक्षिक प्रशासक त्रैलोक्यनाथ उप्रेतीको नेतृत्वमा कलेज अफ एजुकेसन भएका बेलामा नै अहिलेको शिक्षाशास्त्र संकायको गठन, शिक्षाको भवन निर्माण र लेबोरेटरी माध्यमिक विद्यालयको निर्माण कीर्तिपुरमा भएको कुरा स्वयं उप्रेती सरले मलाई प् पनि बताउनु भएको थियो शिक्षा शास्त्र सौरभको अन्तर्वार्तामा । अझ उहाँको एउटा स्मरण थियो, अहिलेको लेबोरेटरी स्कुल शिक्षा भवनकै वरिपरि कीर्तिपुरमा नै बनाउने योजना थियो किनभने कलेज अफ एजुकेसनका लागि आवश्यक पर्ने प्रेक्षालय (अडिटोरियम)लाई साझा रुपमा बनाइएको थियो विद्यार्थी तथा शिक्षकहरुका अतिरिक्त क्रियाकलाप अन्तर्गतका नाचगान, वादविवाद, सभा समारोहका लागि  ।

त्रिविको परिसरमा बनेको पहिला निर्माण नै सायद कलेज अफ एजुकेसनका भवनहरु नै हुन् । कलेज अफ एजुकेसन अन्तर्गतको केन्द्रीय शिक्षा विभागको प्रवेशका लागि कलंकीतिर फर्केको भवन छ । तर जुन दिन शिक्षा भवनको शिलान्यास गर्नु थियो, त्यो दिन यस्तो पानी परेको थियो रे कि अमेरिकाबाट आएका शिक्षाका प्रोफेसरहरु, अमेरिकी राजदूतावासका राजदूत तथा कर्मचारी र शिक्षा मन्त्रालय र विश्वविद्यालयका नेपाली जनहरु समेत हेलिकप्टरबाट आएर शिलान्यास गर्नु परेको थियो रे !  अनि विद्यालय यस्तो ठाउँमा नराखौँ भनेर दक्षिणकाली  जाने बाटोमा निर्माण गरिएको अनि बाटो पनि विद्यालय जानका लागि अहिलेको विश्व विद्यालय भित्रको बाटो बनेको कुरा डाक्टर उप्रेतीले भन्नु भएको थियो ।

हामीलाई छोडेर जानु भएको केही समय भएको रहेछ । यदि हाम्रो पूर्वीय मान्यता अनुसार हुने हो भने उहाँको माहायात्रा पछि उहाँको भित्री इच्छा जुन थियो, शिक्षाका विकास भएको नेपालको कल्पना, प्रशिक्षित शिक्षकबाट मात्र कक्षाकोठामा शिक्षण, त्यो पनि व्यावहारिक शिक्षाको रुपमा । पूरा हुनेछ काठमाडौँ शिक्षा क्याम्पसको नेतृत्वमा भन्ने अपेक्षा गरौँ ।

डाक्टर उप्रेतीलाई भेट्दा हाम्रा गुरु डाक्टर रोंगोंग विनीत भावमा उभिएर अभिवादन गर्नुहुन्थ्यो र हामी पनि गुरुका गुरुलाई आदर भाव गथ्यौँ ।  यसै पनि डाक्टर उप्रेती नेपाली शैक्षिक फाँट र शैक्षिक प्रशासनका पितामह नै हुनुहुन्थ्यो । उहाँले त्रिविको सबैजसो पदमा रहेर सेवा गर्नु भएको थियो निर्विवाद रुपमा । अत्यन्त मिजासिलो, विनम्र र स्वावलम्बी गुरु हुुनु हुन्थ्यो । 

कुरो रोंगोंग सरको हुँदै थियो , म त अन्तै  पुगेँ छु ।पछि मैले उहाँको शैक्षिक विकासक्रमलाई उहाँकै हस्ताक्षरमा लिपिबद्ध गराएँ २०६८सालको शिक्षा शास्त्र सौरभमा प्रकाशन गर्न जुन काठमाडौँ शिक्षा क्याम्पसको वार्षिक जर्नलको रुपमा प्रकाशित हुन्छ । त्यो जीवनी जस्तै गरेर हातले लेखेर दिएपछि भन्नु पनि भयो- मेरो बारेमा मैले लेखेको यो नै सूक्ष्म आत्मकथा हो । धेरै पनि लेख्नु भएन तर लेख्नुभयो के भने उहाँ नै २०१३ सालमा खुलेको अमेरिकी सहयोगको कलेज अफ एजुकेसनको पहिलो शिक्षा शास्त्री(बी एड) हुनुहुँदो रहेछ ।

एकबर्से बि एड मा भर्ना भएका  १५ जना प्रशिक्षार्थीमध्ये अन्तमा बी एड मा जाँच दिने उहाँमात्र हुनुभएछ र नेपालमा पहिलोपटक स्नातकको उपाधि नेपाली शिक्षालय वा प्रशिक्षालयको मूल्याङ्कनमा उहाँ नै हुनु हुँदो रहेछ । नेपाली शिक्षाको इतिहासमा पहिलो बी एड उत्तीर्ण गर्ने व्यक्तिको रुपमा उहाँ नै पर्नु भएछ । त्यो ताका भारतबाट धेरै नेपाली मूलका विद्वानहरूलाई नेपालमा बोलाएर प्रवेश गराइएको देखिन्छ जसले शिक्षा, कला, इतिहास र साहित्यमा नेपालमा योगदान दिएको पाइन्छ ।

रोंगोंग सरले म्याट्रिकुलेसन, इन्टरमिडियट र ब्याचलर डिग्री कलकत्ता विश्व विद्यालय, एकबर्से बी एड्, कलेज अफ एजुकेसन ( अमेरिकी सहयोगको शिक्षक प्रशिक्षणालय, जहाँ मोन्टेसरी तालिम देखि एम एड् सम्मको  शिक्षा प्रदान गरिन्थ्यो ) नेपाल,  एम  एड दिल्ली विश्व विद्यालय, दिल्ली भारत, एड एम रटगर्स विश्व विद्यालय , अमेरिका, विद्यावारिधि , सदर्न इलिन्वाय विश्व विद्यालय इलिन्वाय, अमेरिका । 

युवावस्था र प्रौढावस्थामा समेत गुरुको रुपमा उहाँलाई नै मैले सम्मान गर्न पाएको  थिएँ । धेरै गुरुहरू आउनु भयो शैक्षिक जीवनमा । तर कखरा पढाउने गुरुहरु धर्मराज बराल, टीकाहरि काफ्ले, नैतिकता र पठन संस्कृतिका लागि र सामान्य संस्कृत सिकाउनु  गुरु पं साम्बभक्त सुवेदी अनि एम एडमा पढ्दाको गुरुहरु धेरै हुनुहुन्छ तर जीवनमा सम्झना आइरहने गुरुमा रोंगोंग सर नै हुनुभयो ।

पाठ्यक्रम विषय सामान्यतः क्लिष्ट मानिँदो रहेछ । धेरैको विचारमा अव्यवहारिक पनि मानिँदो रहेछ तर शिक्षा आदानप्रदान प्रक्रियाको सबैभन्दा महत्वपूर्ण पाटो नै त्यही रहेछ भन्ने कुरा उहाँले हामीलाई सम्झाउनु भएको थियो । उहाँको जन्म सन १९३०को अप्रिल २४मा कालिम्पोङ्मा भएको रहेछ इलामबाट गएका लेप्चा परिवारमा । इलाम र कालिम्पोङ्का बासिन्दा रोंगोंग परिवार ।

जब देखि कालिम्पोङ् छोडेर गुरु नेपाल आउनु भएछ, त्यही बेलादेखि नै उहाँ नेपालमै बस्नु भएछ । उहाँको एउटा असन्तुष्टि देखिन्थ्यो नेपाली नीति निर्माताहरूसँग कि म इसाई भएकाले मेरो क्षमता अनुसारको काम दिइएन भन्ने । तर हामीले, उहाँलाई जनस्तरमा खुलेको पहिलो शिक्षा शास्त्रको क्याम्पसमा अध्यक्षको रुपमा आमन्त्रण गर्‍यौँ र स्थापनादेखि १६वर्षसम्म(२०४८मा स्थापना, २०६३को अन्तसम्म) गुरुको नेतृत्वमा हामी रह्यौँ ।

हामी केही उत्साही शिक्षकहरुले ( म, प्रेमनारायण अर्याल, हेमाङ्गराज अधिकारी, माधव भट्टराई र यज्ञप्रसाद दाहाल) एउटा शिक्षक प्रशिक्षण पनि हुने, योग्यताका हकमा पनि स्नातक तथा स्नातकोत्तर तहको पढाइ हुने गरी काठमाडौँ शिक्षा क्याम्पसको स्थापना गर्‍यौँ जसलाई अहिले बहुमुखी क्याम्पसका रुपमा विकास गरिएको छ । पछि गुरुको स्वास्थ्यले पनि काम गरेन, मुटुको बाइपास सर्जरी गर्नुपरेको थियो, बारम्बार अस्पताल भर्ना हुनुपर्ने भएकाले हामीलाई बोलाएर आफूले अब सेवा दिन नसक्ने अनि तपाईँहरुले जुन आदर साथ मलाई शैक्षिक नेतृत्वको अभिभारा दिनुभयो, त्यसका लागि आभार व्यक्त गर्दछु र यसलाई एउटा शैक्षिक विश्व विद्यालयको रुपका विकास गर्नुहोला भन्नुहुन्थ्यो ।

गुरुको महाप्रस्थान २०७५साल जेठ २ गते भएछ । सायद हामी  कसैले पनि तत्काल थाहा पाएनौँ तर पछि म जब गुरुलाई भेट्न भनेर सानेपा गएँ, त गुरुले हामीलाई छोडेर जानु भएको केही समय भएको रहेछ । यदि हाम्रो पूर्वीय मान्यता अनुसार हुने हो भने उहाँको माहायात्रा पछि उहाँको भित्री इच्छा जुन थियो, शिक्षाका विकास भएको नेपालको कल्पना, प्रशिक्षित शिक्षकबाट मात्र कक्षाकोठामा शिक्षण, त्यो पनि व्यावहारिक शिक्षाको रुपमा । पूरा हुनेछ काठमाडौँ शिक्षा क्याम्पसको नेतृत्वमा भन्ने अपेक्षा गरौँ । 

मलाई उहाँले शिक्षाको ज्योति यसरी बाल्नुभयो कि त्यसको आलोकले मलाई अहिले पनि आन्तरिक शान्ति दिन्छ र एउटा कल्पनाको शिक्षालय, शिक्षा, त्यसको परिणामको झझल्को आउँछ कल्पनामा ! हुन त सबै कुराको सुरुवात त कल्पनाको झिल्कोबाट सुरु हुने हो  र त्यसलाई मूर्तरुप दिने त समयले हो , असल पात्रले हो, केही गरुँ भन्नेहरुको हुटहुटीले हो ।  गुरुकै प्रेरणाले ममा एउटा कल्पना छ शिक्षा विकासको , शिक्षक प्रशिक्षण विकासको क्रम बद्धता यस्तो हुने कल्पना गरेको छु । क्रमशः