साहित्यमा बेग्लै शैलीका रवीन्द्र आशीष शैली

साहित्यमा बेग्लै शैलीका रवीन्द्र आशीष शैली

आशिष पौडेल  |  समाचार  |  माघ ९, २०७९

उहाँको बुवा व्यापारी हुनुहुन्थ्यो । आमा भने शुद्ध गृहिणी । व्यापारी भएको हुनाले आर्थिक अवस्थाका हिसाबले राम्रै मान्नुपर्छ । उहाँले अभाव भोग्नु, खेप्नु र देख्नु परेन । खान,लाउन राम्रै पुग्ने सम्पन्न परिवार हो उहाँको । उहाँको बाल्यकाल पनि आम नेपालीको बाल्यकाल झैँ खेल्दै, हाँस्दै रमाउँदै बितेको हो । उहाँले पांग्रा भने गुडाउनु भएन । गुच्चा खेल्ने चाहिँ भयो । लुकामारी पनि खेल्नुभयो । यस्तै बालवालिका खेलहरु भए ।

०००

उहाँको प्रारम्भिक शिक्षा बनेपाको आजाद हाइस्कुलमा भएको हो । प्राथमिक तहमा पढ्दा विद्यार्थीहरु एउटा कक्षमा करिब २५/३० जना हुन्थे । छात्राहरुको संख्या त्यसमा करिब एक तिहाइ अर्थात् १० जनाको हुने गर्थ्यो । बस्नलाई भने डेस्क बेन्चको व्यवस्था थिएन । तर, घरबाटै चकटी बोकेर जानुपर्ने अवस्था पनि होइन । स्केलले नै व्यवस्था गरेको थियो । डेस्क बेन्चको व्यवस्था भने ६ कक्षादेखि मात्रै थियो । 

६ कक्षामा आएपछि भने विद्यार्थीको संख्या बढेर ५०/५२ जना भयो । त्यसमा छात्राहरुको संख्या पनि बढ्यो । अनुपात भने उही एक तिहाइ । अर्थात् करिब १५/२० जना हुन्थे । कक्षामा एउटा काठको टेबुल र ब्ल्याक बोर्ड हुन्थ्यो । सरले आएर ब्ल्याक बोर्डमा चकले लेखेर पढाउने काम गर्नुहुन्थ्यो । 

माध्यमिक तहमा आइसकेपछि स्कूलमा अतिरिक्त क्रियाकलाप पनि प्रशस्तै हुन्थ्यो । क्यारेमा बोर्ड, भलिबल, हाइ जम्प, लङ्जम्म , चेस आदि पनि खेल्ने वातावरण थियो स्कुलमा । उहाँ त्यस बेला दशरथ रंगशालामा भएको राष्ट्रिय चेस प्रतियोगितामा उहाँ सेमिफाइनलसम्म पुग्नु भएको थियो । उहाँ क्यारेम बोर्डमा पनि पहिलो दोस्रो हुनुहुन्थ्यो । टेबुल टेनिसमा पनि दोस्रो त हुनुभयो तर प्रथम भने हुनुभएन । त्यो भनेको काभ्रे जिल्ला व्यापी प्रतियोगिता तथा स्कूलमा हुने प्रतियोगिताको कुरा हो । 

उहाँ पढाइमा खास तेज विद्यार्थी होइन । मध्यम नै हो । उहाँ अलि चकचके स्वभावको हुनुहुन्थ्यो । त्यसैले पहिले पहिले फस्र्ट बेञ्चमा बस्दा सरहरूको गाली खाएपछि भने लास्ट बेन्चतिर गएर बस्न थाल्नुभयो । उहाँको साहित्य चेत त्यतिखेर नै थियो । दश कक्षामा उहाँले बिजुली नामक कविता लेखेर कविता प्रतियोगितामा भाग पनि लिनुभएको थियो । प्रतियोगितामा पुरस्कार नपाए पनि उहाँको साहित्यको चेत भने यसले देखाउँथ्यो । यो २०३०/३१ सालको कुरा हो । 

उहाँलाई ठ्याक्कै सम्झना नभए पनि २०३०/३१ सालतिर एसएलसी दिनुभएको हो । उहाँको ब्याचमा त्यस बेला झण्डै ५०/५२ जना विद्यार्थी थिए । कतिजना विद्यार्थी पास भएको सम्झना नभए पनि उहाँ भने पास हुनुभयो । त्यसपछि उहाँ भक्तपुर क्याम्पसमा मानविकी संकायमा पढ्न थाल्नुभयो । र, पछि बिए भने त्रिचन्द्र क्याम्पसमा पढ्नुभयो । 

हुनत भक्तपुर क्याम्पसमा पनि बिए नभएको भने होइन । तर बनेपाबाट दैनिक आउन जान गाह्रो भएकोले काठमाडौँ मै बसेर पढ्ने विचार गरेर त्रिचन्द्रमा भर्ना हुनुभएको हो । त्रिचन्द्रपछि भने त्रिभुवन विश्वविद्यालयमा एमए पढ्नु भयो । उहाँको समयमा एनडीएस खारेज भइसकेको थियो । त्यसकारण एनडीएसको कार्यक्रममा कतै बाहिर जानु परेन । 

त्रिविबाट एमए सकेपछि उहाँले सामान्य प्रशासन मन्त्रालयमा शाखा अधिकृत रुपमा काम सुरु गर्नुभयो । त्यस बेला तलब ७ सय ५० भएझैँ लाग्छ उहाँलाई ठ्याक्कै सम्झन नभए पनि । आर्थिकरुपमा सम्पन्न भएका कारण यो पैसा आफ्नै लागि खर्च गर्नुभयो । यो २०४०/४१ सालतिरको कुरा हो । करिब ३०/३१ वर्ष काम गरेपछि उहाँ सह–सचिवबाट गृह मन्त्रालयबाट अवकाश प्राप्त गर्नुभयो । 

०००

उहाँ गीत, गजल, कविता तथा लघुकथामा उहाँ कलम चलाउनुहुन्छ । उहाँले छन्द कवितामा पनि आफ्नो प्रयास जारी राख्नु भएको थियो । तर, छन्दमा उहाँको कलम त्यति जमेन । त्यसकारण उहाँ यो विधामा रमाउन सक्नु भएन । त्यस्तै आख्यानमा पनि उहाँले हात हालेको हो । आधाउधी त उपन्यास पनि लेखेकै हो उहाँले । तर, त्यो पनि खासै राम्रो भए जस्तो लागेन उहाँलाई । त्यसकारण त्यसलाई पूरा नगरी आधा उधीमै त्यसलाई पनि थन्क्याउनु भयो । 

उहाँको साहित्य तिरको यात्रा १० कक्षामा पढ्दा भएको कविता प्रतियोगितामा बिजुली कविता लेखेर भाग लिएसँगै सुरु भएको हो । उहाँले पुरस्कार त केही प्राप्त गर्नुभएन । तर, साहित्यिक जाँगर भने चलायो । 

कसैले, कसैलाई आदर भाव नराख्ने, कसैसँग नम्र नहुने, नझुक्ने र सबै आफैँ ठूलो, जान्ने र अहम्को भावना भएकोले समाज नैतिकरुपमा पतन हुँदै गएको र त्यसको असर समाज तथा साहित्यमा पनि धेरथोर देखा पर्न थालेका प्रति पनि उहाँको चिन्ता छ ।

पाठ्यक्रममा भएको सिद्धिचरण श्रेष्ठको मेरो प्रतिविम्ब पुस्तकले उहाँलाई कविता लेख्न विशेष प्रेरित गरेको हो । त्यसपछि महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविता तथा भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छेले उहाँलाई कविता त लेख्नु नै पर्ने पो रहेछ विशेष झकझकायो र लेख्न थाल्नुभयो । 

त्यस बेला इगल भन्ने मोटो कपी पाइन्थ्यो । त्यो इगल भन्ने दुई वटा कपी नै उहाँले लेखेर भर्नु भएको थियो । त्यसमा कविता तथा गीतहरु थिए । उहाँको दिदीको साथी एकजना संगीतकार हुनुहुन्थ्यो र उहाँले आफ्नो गीतमा संगीत भरेर गाउन दिनका लागि भनेर उहाँलाई कपी दिनुभएको थियो । तर, दुर्भाग्यवश कपी नै हरायो । यसले उहाँले लेख्ने उर्जा तथा जाँगर पनि कम गरायो ।

जागिरको व्यस्तताले साहित्यमा केही सक्रियता कम गरायो । तर, पनि उहाँले लेख्न भने छोड्नु भएन । उहाँको अहिलेसम्म प्रकाशित कृतिमा माया महल गजल संग्रह, मध्यान्तर मुक्तक संग्रह, शैलीका गीतहरु गीति संग्रह आदि हुन् र उहाँ अब छिटै नै नयाँ कविता संग्रह प्रकाशित गर्ने सोचमा हुनुहुन्छ । यसका लागि सबै काम सकिएर प्रेसमा गइसकेको अवस्था छ ।

उहाँले काभ्रे व्यापी कविता प्रतियोगितामा दोस्रो भएर पुरस्कार पनि पाउनु भएको थियो । यो २०३४/३५ सालतिरको कुरा हो । कविताको शीर्षक भने जीवन थियो । 

मान, सम्मानमा उहाँको खासै रुचि नरहे पनि केही भने उहाँले पाउनु भएको छ । चुपचाप आफ्नो कर्म गर्ने, आफ्नो कर्ममा निरन्तर लागिरहने उहाँको सोच छ । यसले नै एकदिन सफल बनाउने र त्यो नै सबैभन्दा ठूलो पुरस्कार हुने पनि उहाँको सोच छ । यसका लागि उहाँ निरन्तर साधनामा होमिई रहनु भएको छ । अचेल भएका पुरस्कारका नामका विकृतिले पनि पुरस्कारका सन्दर्भमा उहाँलाई त्यति जाँगर चलेको छैन । त्यसकारण कर्म गर फलको आशा नगर भन्ने गीता वाणीको उहाँ अनुसरण गर्दै हुनुहुन्छ । 

जनमत, दायित्व वाङ्मय प्रतिष्ठानलगायतका संस्थामा उहाँको संलग्नता छ । तर, साहित्यिक संस्थाहरुमा हुने व्यस्तताले साहित्यमा सृजनामा समय कम हुने कारणले उहाँ कार्यक्रमहरुमा पनि त्यस्तो धेरै रुचि छैन । 

अवकाशपछिको उहाँको जिन्दगी भनेको यस्तै साहित्य सृजना र अरु सकारात्मक कर्ममै बितेको छ । उहाँ साहित्यलाई आफ्नो विचार तथा भावना पोख्ने र आफूलाई जीवित राख्ने एउटा औजारको रुपमा लिनुहुन्छ । प्रकाशनमार्फत आफ्नो भावना र सृजना पोखिनुको अलावा त्यसले वर्तमान वा गएको समयको सर्जकको धारणा, कल्पनाशिलता र एउटा विचार पोखिने मात्र नभएर एउटा दस्तावेजका रुपमा रहने हुँदा एउटा इतिहास पनि हुने कुरामा उहाँ सहमत देखिनुहुन्छ । 

यदि यस्तो दस्तावेज देश, समाज र पाठकले उत्कृष्ट ठहर्यायो भने एउटा नाम, मान, सम्मान छँदैछ नभए पनि आफ्नो क्षमता तथा प्रतिभा उजागर गर्ने एउटा माध्यम रहने उहाँको धारणा छ । यसका लागि सर्जकले आफ्ना भावना सकभर इमानदारी पूर्वक पाठकले के भन्छन् भन्दा पनि आफूलाई लागेको एउटा अभिव्यक्तिलाई सार्वजनिक गर्नुपर्ने भन्ने लाग्छ उहाँलाई । पहिले आफू सन्तुष्ट भएपछि मात्रै सृजनाले सार्थक तथा सही निकास पाउने हुँदा आफ्ना भावना तथा अभिव्यक्तिलाई सकभर उम्दा तरिकाले प्रस्तुत गनुपर्ने उहाँको धारणा छ । 

०००

उहाँ विगत लामो समयदेखि फलित ज्योतिषको पनि अभ्यास गर्दै आउनु भएको छ । यसका लागि उहाँले एकजना गुरुसँग सम्पर्क गरेर अनि स्व अध्ययनबाट यसलाई अगाडि बढाउनु भयो । तर, अभ्यासको अर्थ उहाँ चिना हेर्दै र अरुलाई ज्योतिषीका बारेमा बताउँदै हिँड्ने होइन । ज्योतिषीलाई पनि जीवनोपयोगी एउटा शिक्षाको रुपमा लिएर यसको लाभ उठाउन सकिने उहाँको सोच छ । त्यसकारण यसलाई केवल परम्परागत शिक्षाको रुपमा नभएर यसलाई एउटा व्यवहार सम्मत र यसलाई एउटा जीवनको लाभ गर्ने विज्ञानको रुपमा  उपयोग गरेर यसबाट लाभ लिन सकिने विज्ञान भन्ने लाग्छ उहाँलाई ।

यसलाई अहिले बजारमा देखिएका मागी खाने भाँडको रुपमा भन्दा पनि यसको उपयोगबाट जीवनलाई कसरी समुन्नत बनाउन सकिन्छ भन्ने एउटा विज्ञानको रुपमा उपयोग गर्न सके यो एउटा मानव हितको विज्ञानको रुपमा प्रयोग गर्न सकिनेमा पनि उहाँ आशावादी हुनुहुन्छ । 

मान्छे जन्मनु भनेको केही न केही राम्रो गरेर पठाएको हुनाले अरुलाई नराम्रो नगर्ने, नराम्रो विचार, भावना मनमा नल्याउने र अरुका प्रति कहिल्यै पनि नकारात्मक धारणा राख्ने र बनाउने काम गर्न नहुने पनि उहाँको सोच छ । यसमा उहाँलाई ज्योतिष विज्ञान र साहित्य दुवैले सहयोग गरेको छ । साहित्यका माध्यमबाट आफ्ना मनका भावना व्यक्त गर्ने र अरुसँग अनावश्यक समय बिताएर नकारात्मक कुरा गर्ने वातावरण नहुने र ज्योतिष विज्ञानको कारणले सकारात्मक धारणा राख्न मद्दत गरिरहने पनि उहाँको विचार छ ।

उहाँ आफ्नो भावना वा विचारले कसैलाई पनि चोट नपुगोस्, कसैको भावनामा ठेस नपुगोस् भन्नेमा पनि सचेत देखिनुहुन्छ । साहित्यमा लाग्ने मान्छेले त झनै यस्ता किसिमका दुर्भावना राख्न नहुने र राख्दा कहिले यस्ता कुराहरु साहित्यमा पनि अभिव्यक्त हुन जाँदा त्यसले सकारात्मक साटो नकारात्मक असर पर्ने कारणले यसले समाजमा समेत नराम्रो धारणा फैलाउन सघाउने हुँदा यस्ता कुराबाट टाढै रहनुपर्ने उहाँको धारणा छ । 

उहाँ हामीकहाँ नैतिक शिक्षा पढाउने चलन र नैतिक वान बनाउने परम्परा दुवै लोप हुँदै गएकोमा चिन्तित पनि देखिनुहुन्छ । कसैले, कसैलाई आदर भाव नराख्ने, कसैसँग नम्र नहुने, नझुक्ने र सबै आफैँ ठूलो, जान्ने र अहम्को भावना भएकोले समाज नैतिकरुपमा पतन हुँदै गएको र त्यसको असर समाज तथा साहित्यमा पनि धेरथोर देखा पर्न थालेका प्रति पनि उहाँको चिन्ता छ । यसकारण अहिले उहाँ नैतिक शिक्षा पाठ्यक्रममा नै पुनः समावेश गरेर यसबाट समाजलाई सही र सभ्य तरिकाले अगाडि बढाउनु पर्नेमा पनि देखिनुहुन्छ । यो कुरा साहित्यमा पनि लागू हुन्छ ।