नेपाल प्रज्ञा प्रतिष्ठान : ‘उप’ ताक्नेको लर्को !

नेपाल प्रज्ञा प्रतिष्ठान : ‘उप’ ताक्नेको लर्को !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ९, २०७९

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान पुस १ गतेदेखि रिक्त छ अर्थात् पदाधिकारीविहीन छ । असोज २१ गते कुलपति गंगाप्रसाद उप्रेती र सदस्य सचिव जगत्प्रसाद उपाध्यायको चार वर्षे कार्यकाल सकिएलगत्तै पुस १ गतेदेखि उपकुलपति डा. जगमान गुरुङसहित प्राज्ञ परिषद् सदस्यहरू प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. उषा ठाकुर, प्रा.डा. हेमनाथ पौडेल, प्रा. दिनेशराज पन्त, डा. देवी नेपाल, प्रा.डा. गोपीन्द्र पौडेल, माया ठकुरी र लक्ष्मी मालीलगायत २४ जना प्राज्ञ सभा सदस्यहरूसमेतको चार वर्षे कार्यकाल सकिएपछि प्रज्ञाप्रतिष्ठान रिक्त बनेको हो ।

यसरी रिक्त रहेको प्रज्ञाप्रतिष्ठानमा नियुक्ति खानका लागि नेताहरूको घरदैलोमा आकांक्षीको लर्को लाग्ने गरेको छ । यसमा सबैभन्दा लामो लर्को चाहिँ ‘उप’ अर्थात् उपकुलपति पदका आकांक्षीको रहेको छ । यस लर्कोमा एक कार्यकाल र दुई कार्यकालसमेत परिषद् सदस्यमा नियुक्ति खान भ्याइ सकेकाहरू सबैभन्दा अगाडि रहेको बताइन्छ ।

यस अगाडिको परिषद्मा सदस्य रहिसकेका सुलोचना मानन्धर, नर्मदेश्वरी सत्याल, विष्णु प्रभात, निर्वतमान परिषद्का सदस्यहरू प्रा. दिनेशराज पन्त, गोपीन्द्र पौडेल, लक्ष्मी माली लगायत रहेका छन् । पन्तले दुई कार्यकाल खाइसकेका छन् । उनी फेरि तेस्रो पटक पनि नियुक्ति खानका लागि परेका छन् ।  निवर्तमान परिषद्मा रहेका अधिकांश दोहोरिन चाहन्छन् । उपकुलपति डा. जगमान गुरुङ कुलपतिमा आउन चाहन्छन् । 

यसै गरी परिषद् सदस्यका लागि नयाँ आकांक्षीमा घरदैलो अभियानलाई तीब्र बनाउनेमा पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष स्नेह सायमीले सबैलाई पछि पारेको बताइन्छ  । सायमी केही वर्ष अगाडि एमाले प्रवेश गरेको बताइए पनि अहिले आफू माओवादीमै रहेको भन्दै माओवादी नेताहरूकोमा घरदैलो अभियान चलाइरहेका छन् । उनी आफ्नी श्रीमतीसमेत रहेकी लक्ष्मी मालीलाई उपकुलपति बनाउनु पर्ने त्यसो नभए आफूलाई सदस्य सचिव वा त्यो पनि नभए परिषद् सदस्यमा नियुक्ति दिएर काव्य विभागको जिम्मेवारी दिलाउनु पर्ने भन्दै अनुनय विनय गरिरहेको बताइन्छ ।

उनले केही समयअघिदेखि पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिसलाई रिझाएर ओलीको प्रशस्तिमा कविता लेखेर सुनाउने गरेका छन् । अहिले एमाले नेता कहाँ जाँदा आफू एमालेमा लागेकाले माओवादीले सताउने गरेको भन्छन् भने माओवादी नेताकोमा पुग्दा आफूलाई बिना आधार एमाले गएको भनी आरोप लगाएको तर आफू सदाबहार माओवादीमै रहेको स्पष्टीकरण दिने गरेका छन् । 

यसरी नै माओवादी कोटाबाट प्राज्ञ परिषद्मा नियुक्ति पाएका प्रा.डा. गोपीन्द्र पौडेलले पनि पदमा रहँदा आफूनिकट केही व्यक्तिलाई मात्रै परियोजना दिने गरेको प्रज्ञाप्रतिष्ठानका कर्मचारीहरू बताउँछन् । उता नेपाली लेखक संघमा आवद्धहरू पनि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कारण आफूहरूले पनि प्रज्ञाप्रतिष्ठानमा भाग पाउनुपर्ने भन्दै लबिङ गरिरहेको बताइन्छ ।

उनी हालै एमाले पार्टी कार्यालयमा आयोजित कमरेड पुष्पलालका साथी स्व. कवि हर्ष स्याङ्बो स्मृति कार्यक्रममा वक्ता बनाइएका थिए । जानकारहरूका अनुसार उक्त कार्यक्रम उनै सायमीलाई मञ्च दिनका लागि आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली थिए । कार्यक्रममा सायमीले स्याङ्बोको भन्दा ओलीको गुण गानमा अधिकांश समय खर्चिएका थिए । 

सायमी निर्वतमान प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी मालीका पति हुन् । उनले मालीको विभागबाट समकालीन नेपाल भाषाका कविता संकलन तथा सम्पादनको परियोजना लिएका थिए । नेवारी भाषाबाट नेपालीमा अनुवाद गर्ने उक्त कार्यका लागि मालीले पति सायमीलाई ९० हजार निकासा दिलाएकी थिइन् । जबकी यस्तो परियोजनामा प्रज्ञाप्रतिष्ठानले ५० हजारभन्दा माथि दिएको पाइँदैन ।

यस्तै मालीले एक पटक मातृभाषा साहित्य गोष्ठीमा कार्यपत्र लेख्नका लागि आफ्नी छोरी अस्मिता मालीलाई लगाएकी थिइन् भने समीक्षकमा श्रीमान् सायमीलाई राखेकी थिइन् । उनले उनको विभागका अधिकांश काम माओवादी निकटलाई मात्रै दिएकी थिइन् भने विभागको सहकार्यमा राजधानी बाहिर हुने कार्यक्रममा पति सायमीलाई साथमै लगेर स्थानीय आयोजकलाई हैरानी दिने गरेकी थिइन् । उनले आफ्नो घरमा सहयोगी काम गर्ने एक जना युवालाई आफू करारमा कर्मचारी छनोट समितिमा हुँदा कार्यालय सहयोगीको जागिर लगाइदिएकी थिइन् । उनले पति सायमीलाई संस्कृति मन्त्रालयको पुरस्कार दिलाउन र प्रज्ञाप्रतिष्ठानको कविता महोत्सवमा निर्णायक सदस्यमा राख्न भूमिका खेलेकी थिइन् । अहिले उनले प्रज्ञाका कर्मचारीहरूलाई फोन गरेर आफू फेरि प्राज्ञ भएर आउँदैछु, मेरा केही सामानहरू छन्, सुरक्षित राखिदिनु भनेकी प्रज्ञा प्रतिष्ठान ए  कर्मचारीले जानकारी दिएका छन् ।  

यसरी नै माओवादी कोटाबाट प्राज्ञ परिषद्मा नियुक्ति पाएका प्रा.डा. गोपीन्द्र पौडेलले पनि पदमा रहँदा आफूनिकट केही व्यक्तिलाई मात्रै परियोजना दिने गरेको प्रज्ञाप्रतिष्ठानका कर्मचारीहरू बताउँछन् । उता नेपाली लेखक संघमा आवद्धहरू पनि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कारण आफूहरूले पनि प्रज्ञाप्रतिष्ठानमा भाग पाउनुपर्ने भन्दै लबिङ गरिरहेको बताइन्छ ।  यसै गरी निवर्तमान प्राज्ञ सभाका अधिकांश सदस्यहरू पनि परिषद्मा जान इच्छुक देखिएका छन् । 'हातोलाई भन्दा जाँतोलाई सकसक'  भने झेँ अहिले संस्कृति मन्त्रीलाई भन्दा बढी प्रज्ञा तिरको रौनक साहित्यकारहरूलाई लागेको छ । उता सङ्गीत तथा नाट्य र ललितकलातिर पनि उत्तिकै सर गर्मी बढेको देखिँदैछ ।