दमकमा 'सन्तापको धून'  माथि विमर्श

दमकमा 'सन्तापको धून'  माथि विमर्श

लोकसंवाद संवाददाता  |  साहित्य  |  माघ ९, २०७९

झापा ।  डा. अशोक थापाको कथाकृति 'सन्तापको धून'  माथि झापाको दमकमा विमर्श तथा परिसंवाद सम्पन्न भएको छ। डाइनामिक पब्लिक लाइब्रेरीद्वारा आफ्नै भवनमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले गरेका थिए । 

कृतिमाथि समीक्षा गर्दै समीक्षक दीपक सुवेदीले डा। अशोकका कथा भाषिक तथा वैचारिक क्लिष्टताबाट मुक्त, सरस, सरस र मनमोहक रहेको बताए । 'हात्तीछाप चप्पल'  जस्ता उच्चस्तरीय कथाको उपस्थितिका कारण उक्त सङ्ग्रह सबै पठकका लागि उत्तिकै ग्राह्य र पठनीय हुने उनले बताए । कथा लेख्न चाहनेहरूका लागि अशोकका कथा नमुना हुने उनले दावी गरे ।

 अर्का वक्त समालोचक महेश पौड्यालले कृत्रिम र अनावश्यक प्रयोगको बोझबाट मुक्त डा। अशोकका कथा नेपाली जमिनमा टेकेर उभिएको टिप्पणी गरे । कथाकार थापाले आफूले सिर्जनाका लागि ठूल्ठूला विषय सोचेर वर्षौं खेर फालेको तर कथा ससाना विषयको अन्तर्यमा भेटिने गरेको बोध भएको बताए । विश्वविद्यालय ज्ञानको केन्द्र हुँदाहुँदै सिर्जनाको पनि केन्द्र हुनुपर्ने कुरा स्वीकार गर्दै आफूले शिक्षण कार्य सँगसँगै सिर्जना कर्ममा पनि हात हालेको बताए । 

गजलकार लोकेन्द्र बन्जाराले युवा सर्जकहरूको साहित्य प्रवेशले पाठकहरूमा नयाँ उत्साहको सञ्चार गरेको बताए भने लाइब्रेरीका प्रमुख तथा यस कार्यक्रमका सभापति भेषराज न्यौपानेले आफ्नो नेतृत्वमा रहको पुस्तकालय साहित्य र पठन संस्कृतिको प्रवर्धनमा लागि सदैव तत्पर रहेको बताए । 

कार्यक्रममा उपन्यासकार तथा समाजसेवी दुर्गा काफ्लेले न्यून आयस्रोत भएका विद्यार्थीहरूलाई छात्रवृत्ति दिने लाइब्रेरीको अभियानमा सहयोगस्वरूप एक लाख रपियाँ आर्थिक सहयोग  हस्तान्तरण गरेकी थिइन् ।