मगर संघ : माघे सङ्क्रान्ति पर्वको उपलक्ष्यमा बेल्जियममा पनि पितृ पूजा र चेलीबेटी सम्मान

मगर संघ : माघे सङ्क्रान्ति पर्वको उपलक्ष्यमा बेल्जियममा पनि पितृ पूजा र चेलीबेटी सम्मान

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १०, २०७९

युरोप र बिश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्रान्ति २०२३ कार्यक्रम बेल्जियम स्थित क्यासेल्लो शहरमा भव्य र सभ्य रूपमा सम्पन्न भयो ।मगर समुदायको महान् चाड माघे संक्रान्ति २०२३ विश्वभरको मगर एक हौं, पुर्खाको विरासत हाम्रो पहिचान ,हामीले संरक्षण गरौं । हाम्रो संस्कृति प्राण भन्दा प्यारो छ । यही संस्कृति बचाउने हाम्रो अभिभारा छ ,भन्ने नाराका साथ हिजो मनाएको हो । 

प्रमुख अतिथि बेनेलक्स तथा यूरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले बिबिधता भित्र एकता कायम गर्न पर्ने कुरामा जोड दिदै सबै नेपाली चाड पर्व, परम्परा, भाषा संस्कृतिको संरक्षण गर्नु पर्ने बताए । प्रमुख अतिथी राजभन्डारीले प्रवासमा यस्ता पर्वहरूको अझ धेरै महत्व हुन्छ भन्दै नेपालको संविधानले प्रदान गरेको समानता र स्वतन्त्रताको अधिकार प्रयोग गरी हरेक समुदायले आ-आफ्नो कला संस्कृतिको जगेर्ना गर्न सुझाव दिए । राजदूतले कार्यक्रममा गरिएको पितृ पूजा र चेलीबेटी सम्मानको प्रशंसा गरे । यस्ता राम्रा कुराहरूको सबैले अनुसरण गर्नुपर्ने बताए।

कार्यक्रममा  शुभकामना मन्तव्यका क्रममा मगर संघ युकेकी अध्यक्ष सीता पुनले पितृ पूजालाई नयाँ पुस्ताले पनि अनुसरण गर्दै अगाडि बढाउने विश्वास व्यक्त गरिन् । मगर संघ बेल्जियमद्वारा कार्यक्रममा उपस्थित सबै चेलीहरूलाई सम्मान गरिएकोमा खुसी व्यक्त गर्दै नेतृत्व तहमा पनि चेलीहरू आउन् भन्ने कामना गरिन् । 

गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्ग केसी नेपाल बिभिन्न लोक संस्कृतिले सम्पन्न देश भएको र एनआरएनए बेल्जियम बिभिन्न जातीय कला संस्कृति जगेर्नाको लागि सहयोग गर्न तत्पर रहेको,नेपाल फेस्टिबलको आयोजना गरेर नेपाली समुदायको भेषभुषा कला संस्कृतिको प्रचार प्रसार गरिरहेको बताए ।

विश्व मगर संघ पोर्चुगलका अध्यक्ष कमल पुनले माघे संक्रान्तिको शुभकामना दिदै विश्वभरीका मगर समुदायले आफ्नो भेष, भाषा, संस्कृति र चाडपर्वको विकास र संरक्षणका लागि मिलेर काम गर्न सुझाब दिए । 

नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान मगरले शुभकामना आदानप्रदान गर्ने क्रममा नयाँ वर्षको उपलक्ष्यमा माघे संक्रान्ति मनाउने गरेको बताए । उनले विश्व मगर संघको संस्थापक अग्रजहरूको सम्झना गरे । मगरहरूको इतिहासलाई दबाइएको भन्दै शहीद लखन थापाको स्मरण गरे। सम्पूर्ण अग्रजहरूको महत्वपूर्ण योगदानको कदर गर्दै गोरे बहादुर खपांगी लगायत अन्य दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गरे ।

 विश्व मगर संघ बेल्जियमको निमन्त्रणालाई स्वीकार गरेर हिजो साँझ सम्पन्न उक्त कार्यक्रममा बेल्जियमको विभिन्न शहरबाट मगर तथा गैर मगर समुदायका नेपालीहरुको उपस्थित भएका थिए। बेल्जियमको चिसो सहँदै र हिउँको थुप्रोहरुलाई पार गर्दै बेलायत र पोर्चुगलको न्यानोपनको कोसेली बोकी ल्याउने पाहुनाहरूको आगमनले कार्यक्रम थप शानदार बन्यो । 'खैजडी र मादलुको तालै मा ताल मिलाई....'  पृष्ठभूमिमा बजिरहेको गीत र स्क्रिनमा देखाइएको मगरहरूको गाउँ, बस्तीको तस्बिर हेरेर आफू पनि त्यही बस्तीमा पुगे जस्तै लाग्थ्यो । 

उक्त भव्य कार्यक्रममा उपस्थित सम्पूर्ण पाहुनाहरूलाई कूल मगरले स्वागत गरेका थिए भने पहिलो र दोस्रो चरणको कार्यक्रम संचालन सचिब सुशीला रोक्का मगरले गरेकी थिइन् । संस्थापक अध्यक्ष, अध्यक्ष, प्रमुख अतिथी राजदूतद्वारा पितृ पूजा र द्विप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । मगर समुदायमा प्रचलित भुमे नाच मगर संघका सदस्यहरूले अतिथिहरूको साथ नाचेका थिए । यूरोपको मन्च पनि रूकुम- रोल्पामा नाचिने 'टिपिकल' लोकनृत्य नाचेर उतैको घर आँगन जस्तै लागेको थियो । 

संस्थापक अध्यक्ष मार्के मगरको अगुवाइमा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी लगायत अतिथिहरूलाई धनु वाण हान्ने खेल खेलाई मगर समुदायको परम्परागत खेल, संस्कृतिसँग परिचित हुने मौका दिलाइएको थियो । पहिलो चरणको कार्यक्रमको अन्त्यमा बोल्दै विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरले विश्व मगर संघ बेल्जियमद्वारा आयोजित कार्यक्रमले आदिवासीहरूको भाषा संस्कृति, संस्कार र पहिचानको निम्ति नयाँ पुस्तालाई धेरै कुरा सिकाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहयोगीहरु सहित उपस्थित सबैलाई धन्यबाद दिदै बेल्जियममा स्थापित नेपाली समाजसँग मगर संघ बेल्जियम सधैं एकता र भाइचाराको सम्बन्ध बढाउने बताए। अध्यक्ष लोक रानाले कार्यक्रमको आयोजना मनोरञ्जन प्रदान गर्न भन्दा पनि परम्परा, संस्कार सिकाउन र सिक्नको लागि गरिएको बताए। रमाइलो गर्नुभन्दा पहिलो प्राथमिकतामा राखेर आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षण र संवर्द्धन गर्नुपर्ने कुरामा जोड दिए । 

जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवताको वास हुन्छ। नारीहरूको सम्मान गरिनु मातृत्वलाई सम्मान गरिनु हो । यो मानव सभ्यताको एउटा महत्वपूर्ण उदाहरण हो । चेलीबेटीहरूलाई खादा लगाएर सत्कार र सम्मान गरिएको उक्त कार्यक्रममा नारीहरूको सम्मान गर्नुपर्छ भन्ने विशेष सन्देश दिने संस्कार अनुकरणीय र उदाहरणीय थियो । उक्त कार्यक्रममा विशेष योगदान गर्ने सदस्यहरू, कलाकारहरूका साथै यूरोप भ्रमणका क्रममा बेल्जियम आएका नेपालमा कार्यरत चार जना नेपाल प्रहरीहरूलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा लोक तथा दोहोरी गायिका अनु गुरुङले मीठो स्वरमा दर्जनौ गीत गाइन् । विभिन्न भाकाहरूमा गाउन सक्ने प्रतिभाशाली गायिका अनुले दमदार प्रस्तुतिद्वारा सांगितिक माहौल  भब्य बनाउन सफल भइन् ।

स्थानीय कलाकारहरुले सुन्दर नृत्य प्रस्तुत गरेका थिए । बाल कलाकारहरूको आकर्षक नृत्यले दर्शकको मन जितेको थियो । गायन कलामा पोख्त कृतिका मगरको प्रस्तुतिबाट दर्शक मन्त्र मुग्ध भए। हरेक कलाकारहरूको प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो ।

कार्यक्रममा उपस्थित प्राय मौलिक मगर परम्परागत गरगहना र पोषाक भाङग्रा, घलेक, गादा, लुकुनी, कछाडमा सजिसजाउ थिए ।कार्यक्रममा नेकपा एमाले बेल्जियमकी अध्यक्ष चन्द्र कुमारी गुरुङ (ईशा), नेकपा माओवादी  बेल्जियम इन्चार्ज जीत लामा ,नेपाली जन प्रगतिशिल मन्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, नेपाल आदिबासी जनजाति साहित्यकार-लेखक महासंघ यूरोप संयोजक इन्दिरा चाम्लिङ, नेपाल पत्रकार महासंघ युरोपका निवर्तमान अध्यक्ष केजिन राई , अन्तरराष्ट्रिय मगर महासंघ युरोप अध्यक्ष नेत्र मगर, आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान घर्तिमगर, आदिबासी जनजाति सरोकार मोर्चा बेल्जियम संयोजक बदन योङ्हाङ, युरो नेपाल कलाकार संघ बेल्जियमका अध्यक्ष बलराम पुन , तमुसमाज बेल्जियम अध्यक्ष  ओम राज गुरुङ, शेर्पा समाजका  अध्यक्ष सोनम शेर्पा, ठकुरी समाजका अध्यक्ष सुदन मल्ल, तमुधी बेल्जियमकी उपाध्यक्ष संगीता गुरूङ, तामाङ् समाज बेल्जियमका अध्यक्ष राम लामा, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा ,कास्की समाज बेल्जियम  अध्यक्ष जिबन गुरुङ , पर्बत समाज बेल्जियम अध्यक्ष नन्दा कुमारी तमुस्यो, महिला संयोजक यमुना रोका लगायत पोर्चुगल र बेलायतबाट आएका अतिथिहरूले माघे सङ्क्रान्तिको शुभकामना दिएका थिए ।