रवि लामिछानेको नागरिकता वैधताको प्रश्न :सर्वोच्चलाई पुरानै कि नयाँ नजिर स्थापित गर्ने चुनौती ?

लोकसंवाद टिप्पणी

रवि लामिछानेको नागरिकता वैधताको प्रश्न :सर्वोच्चलाई  पुरानै कि नयाँ  नजिर स्थापित गर्ने चुनौती ?

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ११, २०७९

नेपालमा पटक पटक नागरिकताको विषयले चर्चा पाउने गर्छ । दुई ठूला शक्ति राष्ट्रको बिचमा भएका कारण पनि नेपालमा पटक पटक नागरिकताको प्रश्न उठिरहेको हुन्छ । तराईमा भारतीयले नागरिकता लिएको त हिमालमा तिब्बतीयनले नागरिकता लिनसक्ने कुरा सधैं उठिरहन्छ । 

यतिबेला सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकताबारे गम्भीर मुद्दा हेरिरहेको मात्र होइन बहालवाला गृह मन्त्रीकै नागरिकता विवादको मुद्दामा अग्राधिकार  दिएर आजदेखि सुनवाई गर्दैछ  ।  मुद्दाका विपक्षी छन्, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ।

उनको पदको निरन्तरतासँग समेत जोडिएको लामिछानेको नागरिकता विवादको मुद्दामाथि बुधबार (आज) देखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदैछ । लामिछाने विरुद्धको मुद्दाको फैसला आउँला उनी एक्लैलाई मात्रै प्रभावित पार्नेछैन । यसले नेपाली नागरिकता त्याग्ने र विदेशी नागरिकता लिएका तथा नेपाली नागरिकता नलिइ विदेशी नागरिकता लिएका धेरैका लागि प्रभावित बनाउनेछ ।

लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम थियो वा थिएन र उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने थियो वा थिएन भन्ने विवाद यो मुद्दाको विषय हो । 

लामिछानेले अमेरिकी नागरिकता लिएका हुन् र उनले सो नागरिकता त्यागेपछि स्वतः नेपाली नागरिकता क्रियाशील हुन्छ वा हुँदैन भन्ने विषय मुद्दाको प्रमुख विषय हो । अब यो प्रकरणको फैसलाले नागरिकता बारेमा नयाँ परिभाषा नजिर प्रचलनमा आउने निश्चित छ । जसले रवि लामिछानेको सांसद र मन्त्री पद रहने/नरहने पनि एकैपटक फैसला गर्नेछ । 

अमेरिकी नागरिकता लिएका उनले नेपाल आएर सञ्चार कर्ममा सामेल हुँदा ‘वर्क पर्मिट’ नलिएको विषयमा विवाद भएको थियो । सोही विवादका क्रममा उनले अमेरिकी नागरिकता त्यागेका थिए । अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता फेरि कायम गर्ने प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज हुनुपर्ने मागदावी सहितको सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । 

रवि लामिछानेको मुद्दा सिधा रुपमा दोहोरो नागरिकताको प्रकरणसँग सम्बन्धित छ । त्यसैले उनको मुद्दाको फैसला हुँदा दोहोरो नागरिकता, नागरिकता परित्याग र पुनः प्राप्ति वा कायम गर्ने विषयमा महत्वपूर्ण नजीर जन्मिनेछ । त्यसैले यो मुद्दा रवि लामिछानेको मात्रै नभएर दुरगामी महत्वको हुने निश्चित छ । 

यो मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधीन छ । पाँच जना न्यायाधीशले गर्ने फैसला पुनरावलोकन पनि नहुने भएकाले प्रतिनिधिसभा विघटनपछि निकै महत्वपूर्ण र संवैधानिक व्याख्या गर्ने अवसर पनि छ । 

लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि फेरि नागरिकता कायम गराउन निवेदन नदिएकाले उनको पुरानो नागरिकताको प्रमाणपत्र अबैध हुने रिट निवेदकको दाबी छ । गृहमन्त्री लामिछानेले भने आफूले नागरिकता परित्याग नगरेको जवाफ सर्वोच्चलाई दिएका छन् । अमेरिकाको नागरिकता लिएपछि नेपालको नागरिकता कायम नरहे पनि उताको नागरिकता त्याग्ना साथ स्वतः नेपाली नागरिकता कायम हुने उनको दाबी छ ।

यसैले उनले अमेरिकी नागरिकता लिएका बेला नेपाली नागरिकता किन त्यागेनन् र उनले दोहोरो नागरिकता प्राप्त कसरी गरे र गरेकै भए पनि यो कार्य अवैध हुने भएकाले यस्तो कायमा किन सामेल भए भन्ने निक्र्यौल हुनेछ । गृह मन्त्रालयले सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा भनिएको छ, ‘कुनै नेपाली नागरिकले अन्य देशको नागरिकता प्राप्त गरेको जानकारी तोकिएको अधिकारीलाई आधिकारिक रुपमा प्राप्त नभएसम्म तोकिएको अधिकारीले त्यस्तो व्यक्ति नेपाली नागरिक कायम नरहेको भनी अनुमान गरी कारबाही प्रक्रिया अगाडि बढाउन मिल्ने देखिँदैन ।’

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० मा ‘नेपालीले आफूखुशी विदेशी नागरिकता प्राप्त गरेपछि उसको नेपाली नागरिकता कायम नरहने’ उल्लेख छ । उसले फेरि नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस दिनदेखि फेरि नेपाली नागरिकता कायम हुने’ अर्को प्रावधान पनि छ ।

लामिछानेले १० फागुन २०५० मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएका थिए । २१ फेब्रुअरी २०१४ (तदनुसार ९ फागुन २०७०) मा लामिछानेले अमेरिकाको नागरिकता लिएका थिए । त्यसको तीन वर्षपछि नेपाल फर्किएका उनले ४ जेठ, २०७५ मा नागरिकता परित्यागका लागि अमेरिकी दूतावासमा निवेदन दिए ।

अमेरिकी सरकार (डिपार्टमेन्ट अफ स्टेट्स) ले निवेदन स्वीकार गरेको प्रतिउत्तर करिब ४० दिनपछि दियो । तर उनले दोहोर्‍याएर नेपाली नागरिकता लिएका छैनन् । 

नागरिकता ऐनको दफा १० (१) मा आफूखुसी विदेशको नागरिकता लिएमा र दफा १० (२) नेपाली नागरिकता त्याग्न निवेदन दिएमा त्यही दिनदेखि नागरिकता कायम नरहने दुई वटा अर्को व्यवस्था छन् ।

लामिछानेले अमेरिकी नागरिकता लिएका हुन् र उनले सो नागरिकता त्यागेपछि स्वतः नेपाली नागरिकता क्रियाशील हुन्छ वा हुँदैन भन्ने विषय मुद्दाको प्रमुख विषय हो । अब यो प्रकरणको फैसलाले नागरिकता बारेमा नयाँ परिभाषा नजिर प्रचलनमा आउने निश्चित छ । जसले रवि लामिछानेको सांसद र मन्त्री पद रहने/नरहने पनि एकैपटक फैसला गर्नेछ ।