रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान १८ गते घोषणा हुने

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान १८ गते घोषणा हुने

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ १६, २०७६

कास्की । पूर्वमन्त्री तथा नेकपाका नेता स्व. रवीन्द्रप्रसाद अधिकारीका स्मृतिमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना गरिएको छ ।

 प्रतिष्ठान तदर्थ समितिका अध्यक्षमा नेता अधिकारीकी पत्नी विद्या भट्टराई, उपाध्यक्षमा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा र महासचिवमा धनराज आचार्यलाई राखिएको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल जेठ १८ शनिवार प्रतिष्ठानको औपचारिक घोषणा कार्यक्रम रहेको प्रतिष्ठानले   जनाएको छ । 

पोखरामा २०७६ साल जेठ १६ गते विहिवार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठान तदर्थ समितिका अध्यक्ष भट्टराईले जनताका नेता अधिकारीको विचार र राष्ट्रका लागि उहाँले पु¥याएको योगदानलाई चिरस्थायी बनाउन  प्रतिष्ठान स्थापना गरिएको जानकारी दिनुुभएको थियो  । उहाँले  विकास, राजनीति र संस्कृतिको अनुसन्धानमा जोड दिने,  विश्वविद्यालय स्थापना गर्ने तथा प्राविधिक क्षेत्रमा मानव स्रोत संसाधनको विकास गर्न प्रतिष्ठान लागिरहने जानकारी समेत गराउनुु भएको थियो । 

प्रतिष्ठानका उपाध्यक्ष समेत रहनुभएका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले अन्य प्रतिष्ठानभन्दा रवीन्द्र अधिकारी प्रतिष्ठान फरक रहने र यसले अधिकारीको नामलाई जनजनमा चिरस्थायी बनाउने खालका गतिविधिहरु सञ्चालन गर्ने जनाकारी गराउन बताउनु भयो । प्रतिष्ठानका महासचिव आचार्यले प्रतिष्ठान गैरनाफामूलक संस्था रहने र यसमा तीन किसिमका सदस्यता रहने जानकारी दिनुभयो । साधारण सदस्यका लागि रु पाँच सय र  आजीवन सदस्यका लागि रु पाँच  हजार तथा विशिष्ट सदस्यका लागि रु एक लाख शुल्क लाग्ने प्रतिष्ठानको विधानमा उल्लेख गरिएको छ ।  युवा नेता अधिकारीको पाथीभरा क्षेत्रमा हवाई दुर्घटनामा परी २०७५ साल फागुन १५ गते ५० वर्षका उमेरमा नै निधन भएको थियो ।