हरि उप्रेतीको पुस्तक 'अन्तर्य' पढेँ पढेपछिको संक्षिप्त टिप्पणी

हरि उप्रेतीको पुस्तक 'अन्तर्य' पढेँ पढेपछिको संक्षिप्त टिप्पणी

एकराज भण्डारी  |  साहित्य  |  माघ १३, २०७९

हरि उप्रेतीको पुस्तक 'अन्तर्य' पढेँ । समग्रमा पुस्तक पढ्न लायक पाएँ । कानुन व्यवसायमा लाग्ने जो कोहीले यो पुस्तक पढ्नै पर्ने लाग्यो । उपयोगी नै रहेको मेरो निश्कर्ष रहयाे  ।

  लेखकको कुनै वस्तुमा दृष्टि पर्यो भने तत्काल त्यसको आकलन गरी आवश्यक लाग्यो भने वस्तुलाई दह्रोसँग पक्डने र पक्डन सक्ने क्षमता लेखकमा प्रचुर भएको कुरा पुस्तक पढ्दा अनुभूति हुन्छ ।

  समग्रमा हेर्दा लेखकमा भावना पक्ष प्रचुर भएको पाइन्छ । यो पक्ष बढी हुँदा कहिलेकाही लेखकलाई यसले स्वयं कमजोर बनाएको अनुभूति पनि हुन्छ जस्तो लाग्यो । राजनीतिक परिवेश पढ्दा लेखकमा व्यवसायिक क्षेत्रको अनुपातमा राजनीतिक क्षेत्रमा छिपछिपे सम्मको ध्यान मात्र दिएको पाइयो । राजनीतिमा पक्षधरता हुन्छ ।पक्षधरता दृष्टिकोणले जन्माउँछ । दृष्टिकोण दर्शनको उपज हो । दर्शन प्रतिको दृष्टिकोणको स्पष्टता पुस्तक पढ्दा अलि कम भेटिन्छ ।

वर्ग पक्षधरताले राजनीतिको अङ्कुरण गराउँछ । त्यसैले राजनीतिक परिवेशमा पार्टी एवं संगठनको महत्वपूर्ण जिम्मेवारीमा रही व्यवसाय प्रति आदर्श पूर्ण लगाव देखिएपनि राजनीति एवं विचार प्रति गहिरिएको प्रस्तुति भने पुस्तकमा अलि कमै हो कि जस्तो लाग्यो ।   पुस्तक पढ्दा लेखकको व्यावसायिक पक्षधरता स्पष्ट भएको देखिन्छ ।कानुन व्यवसायप्रति लगाव निष्ठा प्रतिबद्धता व्यापक देखिन्छ । यो सबल पक्ष हो । पुस्तक यसमै बढि केन्द्रीत छ । जो कोही वकिलले पढ्नै पर्ने देखिन्छ ।

जीवन र जरा खण्डमा भावना पक्ष बेजोडसँग उर्लिएको छ । सरल छ, मन छुने छ, मिठास छ, उद्धत परिवेशहरू नितान्त सान्दर्भिक छन् । औषत नेपाली परिवेश र जीवनसँग तादम्यता राख्छन् । प्रस्तुति सलसल बगेको छ । पाठकलाई पढ्न शुरुवात गरेपछि अन्त्य नहुँदा सम्म छोड्नै मन लाग्दैन । 

 पुस्तकको भौतिक पक्ष पनि सुन्दर छ । कलात्मक छ । विषय सूचिमा पहिलो खण्डको जीवन र जरामा १८ शीर्षक छन् । ताप्लेजुङका ति कुरा साह्रै मन पर्यो । माइली फुपूको भतिजा प्रति पनि वात्सल्य प्रेम जस्तो कस्तो मिठो !  'म नराम्रो मान्छेका लागि मिठो बन्न सकिन ' भन्ने उक्ति जीवन र दर्शन प्रतिको दृष्टिकोण आफ्नै लवजमा  सारै राम्रो छ । परालको खमारी (कुन्यू) बाट हतपतिएर हाम फाल्दा एकवर्ष पढाइमा बाधा पर्यो । त्यो हतपतिएको देख्दा लेखकले जवानी चढ्दै गर्दा आउने उताउलो पनलाई नियन्त्रण गर्न नसकेको हो की भन्ने देखिन्छ । लेखक हरि उप्रेति जी चञ्चले स्वभावको त पक्कै नहुनुपर्ने हो । 

बुबालाई सम्झँदा आँशुको वर्षा खै आफू रोएर हो की सबै रोएकै मात्र देखिन्थ्यो भन्ने भनाइले मन छोयो । श्रद्धेय बुबा प्रति पाठकको पनि भाव पूर्ण श्रद्धान्जली ।

 राजनीतिक परिवेशमा 'मदन भण्डारी मरेर पनि नमर्ने मान्छे' भित्रको तपाईँ अमरत्व पाइरहँदा तपाईँकी श्रीमती राष्ट्रपति पदमा पुगेर पनि विवादको भूमरीमा परि बदनामी कमाएको देख्दा नेपालीको मन दुखेको छ । भन्ने प्रस्तुती भावमा राम्रो लाग्यो । तापनि यसमा चयन भएको शब्द र वाक्यले लेखकले राष्ट्रपति प्रति बढि आग्रह पूर्वाग्रह पोखेको हो कि भन्ने आभाष दिन्छ । यसमा राजनीतिक भाषा र शब्द चयन गरेको भए अझ उत्कृष्ट हुन्थ्यो कि ! जस्तो लाग्छ । 

 वकालतका सम्बन्धमा व्यक्त 'बार यात्रा सकियो, दलगत रुपमा निरपेक्ष छु । धुर्त्याइँ सँग समय नष्ट गरेकोमा पश्चाताप छ' ले मन छोयो । मार्मिक छ । यो  भनाइबाट लेखकमा निरासा देखिए ता पनि पुस्तक सबै पढ्दा लेखकमा आशावादिता नै देखिन्छ ।

 सिकारी मृग र ऋषि संवाद शिक्षा प्रद छ।  विभिन्न शिर्षकमा हिम्मतका साथ न्यायपालिका सम्बद्धका प्रवृतिको नामाकरण पनि सान्दर्भिक छ । यसले लेखकमा कुनै स्वार्थ देखिदैन लोभ देखिदैन । हिम्मत र स्पष्टता देखिन्छ । 

 नित्य अनित्य निबन्धात्मक शैलीको प्रस्तुति उत्कृष्ट छ । अर्को प्रस्तुती छिट्टै पढ्न पाउँ । 
जय होस् 

धन्यवाद ।
२०७९।०६।१०