प्रा.डा. पौडेलका ‘कथा परिशीलन’ र ‘स्रष्टा, समीक्षा र संस्कृति’ नामक दुई समालोचना सङ्ग्रहको लोकार्पण

प्रा.डा. पौडेलका ‘कथा परिशीलन’ र ‘स्रष्टा, समीक्षा र संस्कृति’ नामक दुई समालोचना सङ्ग्रहको लोकार्पण

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १५, २०७९

काठमाडौँ। समालोचक प्रा.डा. गोपिन्द्र पौडलका दुई समालोचना कृतिको लोकार्पण गरिएको छ । अखिल नेपाल लेखक संघद्वारा काठमाडौँको पद्मोदय स्कुलमा आयोजित एक कार्यक्रमकाबीच प्रा.डा. पौडलका ‘कथा परिशीलन’ र ‘स्रष्टा, समीक्षा र संस्कृति’ नामक दुई समालोचना सङ्ग्रहको लोकार्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाई सहितका अतिथिहरूले संयुक्त रुपमा ती कृतिहरूको लोकार्पण गर्नुभयो । संघका अध्यक्ष डा. धनप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिका रुपमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्याय, वरिष्ठ समालोचक प्रा.डा. जीवेन्द्र देव गिरी, प्रगतिशील लेखक संघका अध्यक्ष मधुसूदन गिरी, समालोचकहरू डा. साधना पन्त, पुरुषोत्तम रिजाल र वन्दना ढकाल, लेखकका दाजु केशवराज शर्मा, प्रकाशक संस्था भुँडी पुराणका राजेन्द्रप्रसाद पराजुलीलगायत रहनु भएको थियो ।

राष्ट्रिय गान र शहीदहरु प्रति मौनधारणबाट सुरु भएको कार्यक्रममा लेखकका नाती बालक सक्षम पौडेलले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । ताली बजाएर कार्यक्रमको औपचारिक समुद्घाटन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईंले लेखकलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले कृतिको सवल पक्षहरुको प्रसंशा पनि गर्नुभयो । रचनामा जनयुद्धलाई एकांकी ढंगले हेरिएको र केही सीमाहरु रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

समालोचक वन्दना ढकालले स्रष्टा प्रा.डा. पौडेलको जीवनी, विषय प्रसङ्ग र लेखक सन्दर्भ प्रस्तुत गर्नुभयो । 

समीक्षक पुरुषोत्तम रिजालले समालोचना सङ्ग्रह ‘कथा परिशीलन’ को टिप्पणी गर्नु भएको थियो । कृतिको समीक्षा गर्दै रिजालले कृतिमा १२ वटा अनुसन्धानमूलक समालोचनात्मक रचना रहेको बताउनु भयो । पुस्तक उपयोगी स्रोत सामग्रीको रुपमा रहेको र आम पाठक तथा स्रष्टालाई अभिप्रेरित गर्ने उहाँले बताउनु भयो । एक रचनामा विश्वेश्वरप्रसाद कोइरालाका कथालाई माक्र्सवादी दृष्टिकोणबाट हेरिएकोले यो फरक र रोचक विषय रहेको उहाँको भनाई थियो । जनयुद्धकालीन कथा कलालाई संक्षेपमा मात्रै प्रस्तुत गरिएकोले त्यसको विस्तृत विषय आम पाठकले पढ्न चाहेको पनि उहाँले बताउनु भयो ।

अर्को समालोचना कृति ‘स्रष्टा, समीक्षा र संस्कृति’ माथि समीक्षा गर्दै डा. साधना पन्तले शीर्षकमा जस्तै तीनवटा विषयवस्तु समेटिएको बताउनु भयो । पहिलो खण्डमा खुसीराम पाख्रिन सहितका पाँच स्रष्टाको बारेमा समालोचना गरिएको उहाँको भनाई थियो । यसैगरी अर्को खण्डमा पाँचवटा समीक्षा समावेश गरिएको र त्यसमा संस्मरणलाई छुट्टै विधाको रुपमा मानिनुपर्ने दाबी गरिएको उहाँले उल्लेख गर्नुभयो । कृतिको तेस्रो खण्डमा संस्कृति, जन संस्कृति र सांस्कृतिक रुपान्तरणको विषय समेटिएको उहाँले सुनाउनु भयो । समालोचक प्रा.डा. पौडेल विद्वता र शालिनताको संगम भएकोेले सो र लेखन यात्रा निरन्तर जारी रहोस् भन्ने उहाँले कामना गर्नुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका पूर्वसदस्य–सचिव प्रा. जगत्प्रसाद उपाध्यायले समालोचक पौडेलको गुणगानमा लामो समय खर्चिनु भएको थियो । उहाँले विचारमा दृढता र कार्यनीतिमा लचकता भएको मान्छे भनेर प्रा.डा. पौडेललाई विशेषण दिनुभयो । स्रष्टालाई निक्कै पहिलेदेखि चिनेको प्रसङ्ग उल्लेख गर्दै उहाँ आलोचनात्मक प्रगतिशील लेखक भएको बताउनु भयो । प्रा.डा. पौडेलले सांस्कृतिक चिन्तन मूलक केही निबन्ध लेखेको पनि उहाँले सुनाउनु भयो  । लेखनको धार समाजवादी यथार्थवाद भएको उल्लेख गर्दै उहाँले जीवन र जगतलाई वस्तुवादी ढंगले हेरिएको बताउनु भयो  । 

कार्यक्रममा प्रलेसका अध्यक्ष डा. मधुसूदन गिरी, वरिष्ठ संस्कृतिकर्मी ईश्वरचन्द्र ज्ञवाली, प्रा.डा. जीवेन्द्रदेव गिरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा तेजविलास अधिकारीले धन्यवाद ज्ञापन, प्रा.डा. गोपीन्द्र पौडेलले लेखकीय मन्तव्य र डा. धनप्रसाद सुवेदीले समापन मन्तव्य राख्नुभएको थियो ।