भुसाल पश्चात् गौतम र रावल पनि एकीकृत समाजवादीमा मिसिने उपयुक्त उपायको खोजीमा !

लोकसंवाद टिप्पणी

भुसाल पश्चात् गौतम र रावल पनि एकीकृत समाजवादीमा मिसिने उपयुक्त उपायको खोजीमा !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १५, २०७९

नेपाली राजनीतिमा कुनै बेला चल्ताकी नाम हुन्, वामदेव गौतम र भीम रावल । तर एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अवसानसँगै यी दुई नेता राजनीतिबाट छायाँमा परे ।

नेकपा विघटनको प्रक्रियासँगै गौतम नेकपा एकता अभियान नामक संगठन खोलेर बसे । रावल भने तत्कालीन नेकपामा माधवकुमार नेपाल र प्रचण्डको खेमामा थिए । एमाले पुनर्स्थापनापछि माधवकुमार नेपाललाई साथ दिएका उनी २९ असार, २०७८ मा केपी ओलीलाई विस्थापित गर्दै आफूसहितको निवेदनबाट सर्वोच्चले आदेश दिए बमोजिम प्रधानमन्त्री भएका शेरबहादुर देउवालाई विश्वासको मत दिन रावल पछि हटे । त्यसपछि उनी १० बुँदे सहमतिमार्फत माधवकुमार नेपालको साथ छाड्दै एमालेमै बसे । त्यसरी नै १० बुँदे सहमतिको फेर समातेर एमालेमै रहेका र पार्टी उपाध्यक्षमा प्रतिस्पर्धा गरेका घनश्याम भुसाल समाजवादीमा समाहित भई सचिवालय सदस्य भइ सकेका छन् भने पार्टी महासचिव बनाउने तयारी भइरहेको बताइन्छ । 

चितवनमा भएको महाधिवेशनमा उनी पार्टी अध्यक्षका लागि केपी ओलीसँग प्रतिस्पर्धा गरे । उनी ओलीसँग फराकिलो अन्तरले पराजित भएपछि एमालेको उनको भूमिका शून्य अर्थात् भूमिका बिहीन अवस्थामा छन् ।

अघिल्लो संसदको कार्यकालसम्म उनले संसदमा आफ्ना विचारहरु राख्दै आएका थिए । गत ४ मंसिरको निर्वाचनका लागि अछामबाट उम्मेदवार बन्न सर्वसम्मत सिफारिस भए पनि रावलले टिकट पाएनन् । त्यसयता उनी राजनीतिमा करिब करिब हराएको अवस्थामा छन् । 

रावल सुदूरपश्चिममा राम्रो प्रभाव भएका नेता मानिन्छन् । त्यसैले यतिबेला एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वामदेव गौतमसँगै रावललाई पनि पार्टीमा ल्याउन पहल गरिरहेका छन् । गत निर्वाचनमा एकीकृत समाजवादीले प्रत्यक्ष मा १० सिट जितेको छ । तर समानुपातिकमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्नबाट बञ्चित भइ रहेको छ । 

नेपाल एकीकृत समाजवादीमा आउन गौतमले राखेका सर्तमा छलफल गर्न तयार छन् । गौतमले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै आएका छन् । 

 सरकार गठनमा काँग्रेसले पहिलो पालोमा प्रधानमन्त्री नछाडेपछि निर्वाचन लडेको गठबन्धन पनि भत्कियो । यतिबेला एकीकृत समाजवादी सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको छ । माधवकुमार नेपालको लक्ष्य आगामी ५ वर्षमा एकीकृत समाजवादीलाई देशैभर प्रतिस्पर्धा गर्न लायक पार्टी बनाउनु हो । यतिबेला उनी यही कसरतमा छन् । 

सोही क्रममा उनले नेकपा एकता अभियान चलाइरहेका वामदेव गौतमसँग छलफल गरेका छन् । वामदेव सुरुदेखि नै एकीकृत समाजवादीमा आउन इच्छुक देखिन्छन् । तर उनले सुरुदेखि नै एकीकृत समाजवादीमा आउन केही शर्त भने राख्दै आएका छन् । 

हालैमात्र पनि एकीकृत समाजवादीका अध्यक्ष नेपालले भेटेर गौतमलाई अलग्गै नबस्न र एउटै पार्टीमा बसेर काम गर्न अनुरोध गरेका छन् । नेपाल एकीकृत समाजवादीमा आउन गौतमले राखेका सर्तमा छलफल गर्न तयार छन् । गौतमले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै आएका छन् । 

एमालेले पाँचौं महाधिवेशनपछि जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आए पनि पछिल्लो समयमा एकीकृत समाजवादी माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने पक्षमा छ । अध्यक्ष नेपाल गौतमका यी सैद्धान्तिक सर्तमाथि छलफल गर्न तयार रहेको जानकारी दिएका छन् । 

सैद्धान्तिक प्रश्न बाहेक उनी आफूसँग भएका नेता कार्यकर्ताको व्यवस्थापन कसरी गर्ने भन्नेमा चिन्तित छन् । त्यसैले उनी नेपालसँग आफूले नेतृत्व गरेको समूहका नेता तथा कार्यकर्ताको व्यवस्थापनको माग गरिरहेका छन् । गत ४ मंसिरको चुनाव अगाडि भने गौतमले नेकपा माओवादी केन्द्रमा सामेल भएर सोही पार्टीको चुनाव चिन्हमा चुनाव लड्ने तयारीमा थिए । माओवादीले चुनाव चिन्ह दिने निर्णय पनि गरेको थियो । तर उनले टिकट पाएनन् । उनी हाल राष्ट्रिय सभामा राष्ट्रपतिद्वारा मनोनित सांसद हुन् । घनश्याम भुसाल पश्चात  अब भीम रावल र बामदेव  गौतम एकीकृत समाजवादीमा मिसिने उपयुक्त उपायको खोजीमा रहेको बताइन्छ  । 

यस्तै रावलसँग पनि पछिल्लो समयमा एकीकृत समाजवादीका नेताहरुले छलफल अघि बढाएका छन् । एकीकृत समाजवादीका नेताहरु तथा जनवर्गीय संगठनका नेताहरुले रावलसँग निरन्तर छलफल अघि बढाएका छन् । यी छलफलले सार्थकता पाउँछ या पाउँदैन केही समय कुर्नुपर्नेछ ।