युवराज नयाँघरे: साथमा १७ रुपैयाँ लिएर काठमाडौँ प्रवेशदेखि मदन पुरस्कार विजेतासम्म

युवराज नयाँघरे: साथमा १७ रुपैयाँ लिएर काठमाडौँ प्रवेशदेखि मदन पुरस्कार विजेतासम्म

आशिष पौडेल  |  अन्तर्मन्थन  |  माघ १५, २०७९

युवराज नयाँघरेको बुवा, आमाको मूल पेशा कृषि । घर इलाम । आर्थिक अवस्थाको कुरा गर्दा पनि मध्यम नै भन्नुपर्छ । उहाँको जन्म २०२६ सालमा इलामको नामसालिङमा भएको हो । उहाँका चार भाइ अनि तीन बहिनी । तर, उहाँको स्वभाव भने केटाकेटीदेखि नै फरक थियो । केटाकेटी छँदा पनि उहाँको साथी खेलकुदभन्दा पनि पुस्तक नै रह्यो ।

धान काट्न खेतमा जाँदा वा गाईबस्तु हेर्न गोठालो जाँदा वा दाउरा खोज्न जङ्गलमा जाँदा पनि उहाँको साथमा सधैँ पुस्तक साथ हुन्थ्यो । पुस्तक कहिले टुटेन उहाँको साथमा । जुन आज पर्यन्त कायम छ । 

यो प्रभाव भने उहाँ आफ्नो आमाबाट आएको ठान्नुहुन्छ । कारण आमा निरक्षर भए पनि छोराछोरीको पढाइप्रति भने एकदमै संवेदनशील हुनुहुन्थ्यो । आफू नपढे पनि गुणरत्न माला, रामायण, महाभारत जस्ता धार्मिक ग्रन्थ उहाँ कनिकुथी भए पनि पाठ गर्नुहुन्थ्यो । पूजापाठ गर्दा उहाँ गुणरत्नमाला भट्टयाउनु हुन्थ्यो जसको प्रभाव आफूभित्र रहेको लेखकीय चेतनाले बाटो पाएको ठान्नुहुन्छ नयाँघरे  । 

उहाँको बाल्यकाल पनि आम नेपालीको बाल्यकाल झैँ साथीभाइसँग खेल्दै हाँस्दै नै बितेको हो । तर, उहाँ केटाकेटीमा अलि धेरै बिरामी भइरहने कारणले इलामभन्दा धेरै झापामा बित्यो । उपचारका क्रममा । 

सानोमा पनि उहाँ दार्जिलिङतिरबाट आउने बैसालु जस्ता पत्रिका पढ्नुहुन्थ्यो । सुवास, घिसिङ र प्रकाश कोविदलाई पनि छुटाउनु भएन । यो पढ्ने प्रभाव भने आमाबाट आएको भन्ने लाग्छ उहाँलाई । 

उहाँको घरमा हरेक हप्ता चार दाजुभाइलाई केही खर्च दिने चलन थियो । अरु दाजुहरुले यो खर्च आफ्नै किसिमले गर्नुहुन्थ्यो । त्यस बेला स्कूलसँगै रहेको पुस्तक पसलका किताब भाडामा पाइन्थ्यो । उहाँ भने भाडामा पुस्तक ल्याएर पढ्नुहुन्थ्यो । पुस्तक पढ्न समय नहोला भनेर स्कूलको गृहकार्य साँझमै सकाएर राति लालटिन तथा टुकीमा उहाँले यसरी थुप्रै पुस्तक पढ्नु भएको छ । उहाँलाई पहिले पहिले एक हप्तामा पैसा तिरेपछि एउटा मात्र किताब पढ्न पाइन्छ भन्ने लाग्थ्यो र एउटा काम किताब ल्याउनुहुन्थ्यो । पछि भने आफूले पढ्न सकेजति जति ल्याए पनि पाइन्छ भन्ने थाहा पाएपछि भने उहाँको पुस्तक पढ्ने वेग पनि बढ्यो । त्यतिबेलै उहाँले लियो टोल्सटाय, रवीन्द्रनाथ टैगोर र प्रेम चन्दका किताबहरु पढिसक्नु भएको थियो ।

अहिले बरु पुस्तकहरु पढ्ने काम अहिले विभिन्न बाध्यताले कम भएको बरु पहिले गोठालोमा अनि स्कूल पढ्दा पढेका पुस्तकले अहिले पनि आफूलाई थेगेको उहाँ नढाँटी बताउनुहुन्छ । अहिले भने पढ्ने कुरामा धेरै किसिमका हैरानीले चाँजो नमिल्ने गरेको उहाँको अनुभव छ । अन्तर्राष्ट्रिय तथा विभिन्न राम्रा साहित्यका पुस्तक उहाँले स्कूलताका नै पढ्नु भएको हो ।

अहिलेको उहाँको साहित्यको ऊर्जा हिजोकै समयको भएको भन्ने लाग्छ उहाँलाई । हिजोको पठनपाठनले नै अहिले पनि थेगेको उहाँको बुझाइ छ । अहिले भने साहित्यमा उत्कृष्ट भनिएका पुस्तकहरु मात्र पढ्ने बरु अध्यात्मका किताबहरूमा उहाँको रुचि बढेको छ । विभिन्न व्यस्तताले पनि पुस्तक पढ्ने काम भने कम भएको छ उहाँको ।

उहाँ सधैँ पुस्तकमै रमाएको देख्दा, सधैँ साथमा पुस्तक भएको देख्दा उहाँलाई आमाले यो पुस्तकको गोठालो हुन्छ होला भनेर भन्ने गर्नुहुन्थ्यो । उहाँ यसमा सत्यता रहेको र आफू अहिले पनि त्यस्तै अक्षरको गोठालो नै रहको र जीवन पनि यसरी बितिरहेको बताउनुहुन्छ । उहाँको जीवन अहिले पनि पढ्नु पढाउनु, लेख्नु अनि चिन्तन गर्नु सबै अक्षरकै गोठालोको रुपमा बितिरहेको छ । र, उहाँको आमाले भनेको कुरा पूरा भएको छ । 

०००
उहाँको प्रारम्भिक शिक्षा घरमै भयो । घरको धुले पाटीदेखि बाँसको पट्याँसमा उहाँले अक्षर लेख्नुभयो । पिताजीले  नै त्यसैगरी अक्षर लेख्न सिकाउनु भएको हो । उहाँले पहिले लेखेको भनेको धुले पाटीमै हो । पट्याँसमा सिन्काले घोचेर राख्ने अनि लेख्ने चलन थियो । 

जीवन, दर्शन समाजको मूल पाटो अध्ययन गर्ने विधा भनेको उहाँलाई निबन्ध नै लाग्छ । निबन्ध उत्कृष्टतम पाटो भए पनि अहिले कम लेखिने गरेकोमा उहाँको गुनासो छ । यो समर्पित विधा भएकोले मान्छेले आफूलाई, खटाउन र लगाउन पर्ने हुनाले पनि मानिसहरुको यसमा रुचि नभएको हुनसक्ने उहाँको विचार छ । निबन्धमा पनि अचेल धेरैले श्लोक नभएर सिलोक लेखेकोमा पनि उहाँको आपत्ति छ । 

स्कूल जाँदा पनि पाटी बोकेर जाने चलन थियो । उहाँले पनि ब्याट्रीको कालो कार्बनले पोतेर त्यसलाई सुकाएर अनि त्यसमा खरीले लेख्ने गरी पाटी बोक्नु भएको हो । 

उहाँ सानोमा अलि धेरै बिरामी हुने हुनाले अलि पछि मात्रै स्कूल जानु भएको हो । उहाँलाई सम्झना भएसम्म त्यो काँकडभिट्टाको स्कूल हो । नाम भने याद भएन । उहाँ घरमै अध्ययन गरेर एकै पटक तीन कक्षामा भर्ना हुनु भएको हो । सुरुमा अलि गाह्रो भए पनि उहाँ क्षमता भएकै विद्यार्थी भएकोले पछि भने पढाइ राम्रो हुँदै गयो । 

प्रारम्भिक शिक्षाताकाको धीरेन्द्र गुरुलाई उहाँ अहिले पनि सम्झनुहुन्छ । धीरेन्द्र गुरुले हात समाएर लेखाएको कहिले पनि बिर्सनुहुन्न । उहाँ गुरुको बोल्ने शैली, सम्झाउने शैलीको प्रभावका कारण पनि आफू लेखनमा अगाडि बढेको जस्तो लाग्छ उहाँलाई । 

त्यस बेला सेतो सादा कपी एक वर्ष पुग्ने गरी बाक्लो बनाएर त्यसलाई सिलाएर मोटो कपी बनाउने चलन थियो । त्यसमा खोल हाल्न गुरुहरू अनि घरमा सिकाउने चलन थियो । अनि एउटा बोट हुन्थ्यो जसमा अहिलेको जस्तो गम फल्थ्यो । त्यसलाई सिसीमा जम्मा गरेर त्यसको मद्दतले राम्रो खोल हाल्ने चलन थियो । अनि बाँसको स्केल बनाएर लाइन तान्ने अनि एक, दुई, तीन, चार पनि लेख्ने चलन थियो । 

उहाँ किताबको पहिलेदेखि नै माया गर्ने मान्छे । किताबको बिट दोब्रिएको कुच्चिएको उहाँलाई पटक्कै मन पर्दैनथ्यो । त्यसैले झोलामा हाल्दा पनि किताबको बिट दोब्रिएला भनेर उहाँ छातीमा किताब राखेर लानुहुन्थ्यो अनि स्कूल छिर्ने बेलामा सरहरूले झोलामा किन किताब नराखेको भनेर गाली गर्नुहुन्छ भनेर खोकिलाबाट झिकेर झोलामा हाल्नु हुन्थ्यो  । उहाँको किताबको यो माया गराइ अहिले पर्यन्त उस्तै छ । अहिले पनि थुक लगाएर किताबका पाना पल्टाएको अनि किताबको पाना भाँचेर राख्ने उहाँलाई पटक्कै मन पर्दैन । 

हामीकहाँ पढ्ने संस्कृतिको अलि विकास नभएको र किताबमा कहाँसम्म पढेको भन्ने संकेतका लागि अहिले पनि केही नराख्ने चलन पनि उहाँलाई मन पर्दैन । अहिले भने केही प्रकाशनहरूले विस्तारै संकेतका लागि डोरी राख्न थालेका छन् । 

केही साथीहरु किताबमा मयूरको प्वाँख, पिपलको पातहरू राख्ने गर्थे । उहाँलाई त्यो पनि मन पर्दैन थियो । उहाँ भने परेवाको प्वाँखलाई राम्रो बनाएर, बुट्टा बनाएर त्यसलाई कहाँसम्म पढेको पुगेको छ त्यहाँ राख्ने गर्नुहुन्थ्यो । 

उहाँले जाने पनि नजाने पनि सानैमा विपी कोइराला, इन्द्रबहादुर राई, हिन्दी साहित्य तथा हिन्दीमा अनुवाद भएका रसियन साहित्य पनि पढ्नुभयो । चिनियाँ साहित्य पनि पढ्नुभयो । त्यस बेला काठमाडौँबाट जाने सोभियत भूमि भन्ने अनि चीन सचित्र पनि उहाँले खुबै पढ्नु भयो । उहाँले सबैभन्दा धेरै पढेको भनेको सोभियत भूमि । सोभियत भूमि पढ्दा त्यहाँको साहित्य राजनीति तथा समाजका बारे जानकारी भयो र ज्ञानको दायरा फराकिलो बनाउन मद्दत गर्‍यो । 

त्यसबेला उहाँले गोरखापत्र, चित्रण, नव भारत टाइम्स आदि पत्रिकाहरू प्रि खुबै पढ्नुभयो । गुल्सन नन्दा अनि वेदप्रकाश शर्माका हिन्दी उपन्यास गाउँका दाइहरुले खुबै लैजान्थे र पढ्थे पनि तर उहाँलाई भने त्यसमा रुचि रहेन । बरु उहाँले प्रकाश कोविद अनि युधिर थापाका किताबहरु पढ्नुभयो । उहाँलाई हिन्दीभन्दा पनि नेपाली साहित्यले नै बढी तान्यो । 

०००

पछि उहाँहरु बसाइँसराइका कारण बिर्तामोडमा आउनु भयो । अनि त्यहाँको महेन्द्र रत्न माध्यमिक विद्यालयमा पढ्न थाल्नुभयो । त्यहाँ उहाँ पाँच कक्षामा भर्ना हुनुभयो । स्कूलमा बस्नलाई डेस्क बेन्चको व्यवस्था थियो । उहाँ सानो विद्यार्थी भएका कारण उहाँले बसेर भन्दा पनि उठेर धेरै पढ्नुभयो । बरु सरहरूले उहाँलाई सजाय दिनुपर्‍यो भने बस् भनेर भन्नुहुन्थ्यो । 

उहाँ राम्रै विद्यार्थी हुनुहुन्थ्यो । अनि केही जान्न खोज्ने स्वभाव भएकोले केही सोधेर हैरान बनाउँदा बस् भनेर सरहरूले भन्थे । त्यस बेला विद्यार्थीलाई तँ भनेर भन्ने चलन थियो । त्यसले विद्यार्थीको मानसिकतामा नराम्रो असर पर्थ्यो भन्ने अहिले पनि लाग्छ उहाँलाई । कमसेकम तिमी मात्र भन्दा पनि उसको आत्मसम्मानमा ठूलो आदर हुन्थ्यो भन्ने लाग्छ उहाँलाई ।

स्कूलमा प्रार्थना गर्दा कोही विद्यार्थीको कमी, कमजोरी सबैका अगाडि भन्ने अनि सबैका अगाडि सजाय दिने चलन थियो । त्यसले विद्यार्थीको मानसिकतामा ठूलो असर गर्थ्यो भन्ने लाग्छ उहाँलाई । त्यो गलत रहेको अहिले महसुस हुन्छ उहाँलाई । त्यसले गर्दा धेरै प्रतिभाशाली विद्यार्थी पलायन भएको पनि अनुभव छ उहाँको । 

अनि हरेक हप्ता चित्रकला, नाच अनि बोट बिरुवा रोप्ने प्रतिस्पर्धा पनि हुन्थ्यो स्कूलमा । प्रतियोगितामा उहाँ लालीगुराँस सदन छोडेर लेखनाथ सदनतिर लाग्नुभयो । यसले पनि उहाँ आफूलाई पहिलेदेखि नै आमाले भने झैँ अक्षरको गोठाले हुने एउटा रुझानका रुपमा बुझ्नुहुन्छ । 

हरेका महिना वा तीन महिनामा स्कूलमा हुने साहित्यिक कार्यक्रममा उहाँ कविता लेखेर त दिनुहुन्थ्यो । तर, सुनाउने आँट भने थिएन । नयाँघरेलाई माइकदेखि डर लाग्थ्यो । उहाँका कविता तीन/ चार पटक पुरस्कृत भए । अनि एक पटक भने हेड सर दाताराम खनालले उहाँलाई राखेर यसरी कविता लेखेर भाग्ने होइन माइकमा गएर बोल्ने पनि अभ्यास गर्नुपर्छ भनेर सम्झाउनु भयो । त्यसपछि भने उहाँको डर केही कम भयो र माइकमा गएर कविता भन्ने पनि गर्न थाल्नुभयो । 

०००

स्कूलमा यति धेरै विद्यार्थी हुन्थे कि उहाँ स्कूल गएर पढ्न थालेदेखि नौ कक्षासम्म आउँदा कहिले पनि कपी जाँच भएन । एक/दुई जनाको हेरेपछि कपी जाँच्ने काम सकिन्थ्यो । एउटै कक्षामा तीन/चार वटा सेक्सन थिए । एउटा सेक्सनमा सत्तरी/असी विद्यार्थी हुन्थे । त्यसमा महिलाहरु पनि पच्चीस/तीसको हाराहारीमा हुन्थे । सबै गरेर एउटा कक्षामा डेढ/दुई सय विद्यार्थी हुन्थे । सरले हाजिरी गर्दा कति विद्यार्थी छन्, छैनन् भन्ने पनि थाहा हुन्नथ्यो । किनकि एउटै विद्यार्थीले धेरैको हाजिर उपस्थित भएको बोलिदिन्थे ।

उहाँले २०४२ सालमा एसएलसी दिनुभएको हो । कति विद्यार्थी पास भए भन्ने थाहा नभए पनि धेरै पास भएको भन्ने लाग्छ उहाँलाई । त्यस बेला ५ नम्बर ग्रेस मार्क दिने चलन थियो । यसले पनि धेरै विद्यार्थी पास हुन्थे । यसरी ग्रेस मार्क पाएर पास भएका विद्यार्थीले पनि निकै राम्रो गरेको हुनाले सरहरूको मन अलि फुक्दा पनि धेरै विद्यार्थीको भविष्य उज्वल हुने कुराले अहिले पनि छुन्छ । 

त्यस बेला वर्षको आधा उधि त पुस्तक नै हुँदैनथ्यो विद्यार्थीसँग । लेख्नलाई पनि मसी नै हुँदैनथ्यो । एक सिसी मसीले झण्डै एक वर्ष पुर्‍याउनु पर्थ्यो । चक्की घोलेर मसी बनाएर लेखेको उहाँलाई अझै सम्झना छ । 

परीक्षा दिनलाई पढ्ने/घोक्ने कुरा छँदैछ । उहाँ भने परीक्षा सकिए लगत्तै घोक्न थाल्नुहुन्थ्यो । कारण घरमा गएपछि उहाँले पिताजीलाई अर्को परीक्षा दिनुपथ्र्यो । कुन प्रश्नको के उत्तर हो भनेर पिताजीले फेरि सोध्ने हुँदा उहाँलाई स्कूलको परीक्षामाभन्दा पनि पिताजीको परीक्षाले बढी तनाव दिन्थ्यो । त्यसमा पास हुनै पर्थ्यो । यसकारण परीक्षा सकेर बाहिर निस्किएपछि उहाँ साथीहरुलाई आफूले लेखेको उत्तर सही हो वा होइन भनेर सोध्न थाल्नुहुन्थ्यो ।

यसरी उहाँले हरेक परीक्षा दुई पटक एउटा कक्षा कोठामा अनि अर्को पिताजीका अगाडि गएर दिनु पर्थ्यो । उहाँलाई भोलि दिने परीक्षाभन्दा पनि आज दिएको परीक्षाको उत्तर पिताजीको अगाडि सही दिन सकिन्छ कि सकिँदैन भन्ने ठूलो पिरलो हुन्थ्यो । आज लेखनमा अनि समाज जुन उचाइ उहाँले प्राप्त गर्नुभएको छ त्यो त्यस बेलाको पिताजीको प्रभाव पनि हो कि भन्ने लाग्छ उहाँलाई । उहाँ परीक्षामा लेख्दा भट्ट्याएर लेख्ने गर्नुहुन्थ्यो । यसो गर्दासँगैको साथीले राम्रा अक्षरमा सबै लेख्ने आफ्नो भने के कता नमिलेको हुने गर्थ्यो । 

अनुच्छेद छुट्टाएर लेख्ने, कमा दिने आदि भन्ने उहाँको चलन थिएन । पढ्नुसँगै राम्रोसँग लेख्नु पनि पर्छ भनेर उहाँले छ कक्षामा पढ्दै गर्दा सात कक्षाको प्रथम भएको विद्यार्थी परीक्षामा सँगै परेपछि बल्ल थाहा भयो । 

ती विद्यार्थीको राम्रा अक्षर, अनुच्छेदको प्रयोग, मसी लतपत नगरी सफा राखेको अनि कोही अक्षर बिग्रिहाले पनि त्यही अक्षर मात्र काटेर राम्रो सफा बनाएकोबाट उहाँलाई परीक्षामा यसरी लेख्नुपर्ने रहेछ भन्ने थाहा भयो । उहाँको भने केही बिग्रियो भने सबै नै केरमेट गर्ने, मसी लतपतिने आदि हुने गर्थ्यो । परीक्षामा सफल हुने र धेरै नम्बर ल्याउने सूत्र उहाँले त्यस दिन पत्ता लगाउनु भएको हो । 

०००

उहाँलाई आफू कानुनको विद्यार्थी हुनुपर्ने भन्ने लाग्छ । तर, त्यो भने आफूले कमाउँदै पढ्नुपर्ने हुनाले सम्भव भएन र उहाँ  चाबहिल क्याम्पसमा घटराज भट्टराई सरको विद्यार्थी हुन पुग्नुभयो । उहाँको कानुन पढ्ने चाहना अहिले छोरीले पढेर पूरा गरि दिएकोमा उहाँ एकदमै खुसी हुनुहुन्छ । 

एसएलसी दिएपछि उहाँले चाबहिलको पशुपति बहुमुखी क्याम्पसबाट आइए तथा बिए गर्नुभयो । विभिन्न प्रतिकूलताले गर्दा एमए प्राइभेट दिनुभयो ।

०००

उहाँले सुरुका केही समय अध्यापनको काम पनि गर्नुभयो । अहिले भने उहाँ पर्यटन मन्त्रालयसँग सम्बन्धित रहेर विभिन्न तालिम दिने कामहरु गरिरहनु भएको छ । कतै निजी भ्रमण, कतै तालिम तथा कतै लेखपढका क्रममा नेपालको ७७ जिल्ला घुमिसक्नु भएको छ । अमेरिका, अस्ट्रेलिया, सिङ्गापुर, जापान, बर्मा, कतार, भारत लगायतका देश गरेर उहाँले झण्डै २२/२३ देश घुमिसक्नु भएको छ । 

०००
पहिले भने उहाँ छोटा छोटा कविताहरु लेख्नुहुन्थ्यो । कलेज पढ्न थालेपछि भने उहाँलाई आफू यस्तो छोटो विधाका लागि नभएर निबन्ध र नियात्रा जस्तो लामो विधामा लाग्नुभयो । 

उहाँका १९ वटा पुस्तक प्रकाशन भएका छन् । २०६५ सालमा प्रकाशित एक हातको ताली भन्ने पुस्तकबाट उहाँले मदन पुरस्कार पाउनु भएको हो । 

उहाँको लेखनको मुल विधा भनेको निबन्ध र नियात्रा हो । लेखनमा उहाँ नेपाली ठेट, झर्रो, शैली, उखान र टुक्काको अधिक प्रयोग गर्नुहुन्छ । ग्रामीण जीवनको सूक्ष्म अध्ययन उहाँको रूचिको विषय हो । 

उहाँका केही कृतिहरूमा नियात्रा संग्रहमा अनाम पहाडमा फनफनी –२०६१, घामको चुम्बन –२०६७, ह्वाइट हाउसको घामपानी –२०७०, डलरको डायरी –२०७१, हाराबारा –२०७२, औंला औंलामा अस्ट्रेलिया –२०७५, तनक्खा –२०२७६, याकजी –२०७९ हुन् भने निबन्ध संग्रहमा संवेदनाका स्वरहरु –२०५४ मुहूर्तको वरिपरि –२०५५, मखुन्डाको मन –२०५५४, काठमाडौँलाई कोर्रा –२०५८, नीलडाम –२०६१, एक हातको ताली –२०६५, हरियो राहदानी –२०६८, स्वाहा –२०६९, आमिल –२०७१ आदि छन् । उहाँका करिब १५ वटा निबन्धहरू अंग्रेजीमा अनुवाद भएका छन् ।

उहाँको घामको चुम्बन, हाराबारा अनि निलडाम विशेष चर्चामा छन् । तर, पनि सृजनाका हिसाबले निलडाम जति चर्चित हुनुपर्ने हो त्यति नभए झैँ लाग्छ उहाँलाई ।   

पुरस्कारहरूमा भने मदन पुरस्कार, शंकर लामिछाने युवा निबन्ध पुरस्कार, कलाश्री पुरस्कार, अनेसास (अमेरिका) पुरस्कार, मोती युवा पुरस्कार, भुपालमानसिंह कार्की युवा पुरस्कार, प्रतिभा पुरस्कार, उत्तम शान्ति पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार आदि रहेका छन् । 

त्यस्तै उहाँका कृतिहरु त्रिभुवन विश्वविद्यालयका बिए, बिएडका पाठ्यक्रममा समावेश भएका छन् । भने सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयका स्नातक तहमा पनि समावेश छन् । यसै गरी निजी विद्यालयका विभिन्न कक्षामा पनि उहाँका निबन्ध र नियात्राहरू समावेश गरिएका छन् । 

त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसमा २० जना विद्यार्थीबाट नयाँघरेका निबन्ध, लेखन, कृति आदि बारे शोधपत्र तयार गरिएको छ ।

जीवन, दर्शन समाजको मूल पाटो अध्ययन गर्ने विधा भनेको उहाँलाई निबन्ध नै लाग्छ । निबन्ध उत्कृष्टतम पाटो भए पनि अहिले कम लेखिने गरेकोमा उहाँको गुनासो छ । यो समर्पित विधा भएकोले मान्छेले आफूलाई, खटाउन र लगाउन पर्ने हुनाले पनि मानिसहरुको यसमा रुचि नभएको हुनसक्ने उहाँको विचार छ । निबन्धमा पनि अचेल धेरैले श्लोक नभएर सिलोक लेखेकोमा पनि उहाँको आपत्ति छ । 

गाउँबाट १७ रुपैयाँ बोकेर काठमाडौँ छिरेको एउटा विद्यार्थी आफ्नो निरन्तरको मेहनत, लगन र धैर्यताले सफलताको एउटा उचाइमा पुगेकोमा उहाँलाई गर्व छ तर, अहंकार होइन ।