सरकारबाट फिर्ता गर्ने र गराउने तारतम्य: सत्ता आशक्तिले रक्षात्मक रास्वपा, नाउपा २४ घन्टे अल्टिमेटममा !

लोकसंवाद टिप्पणी

सरकारबाट फिर्ता गर्ने र गराउने तारतम्य: सत्ता आशक्तिले रक्षात्मक रास्वपा, नाउपा २४ घन्टे अल्टिमेटममा !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २०, २०७९

बिहीबार दिनभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छाड्ने हल्लाले बजार ततायो । त्यसको कारण थियो, सभापति रवि लामिछानेको फेसबुक स्टाटस !

 वर्तमान राजनीतिक दलका नेताहरु माथिको गाली र आवेगबाट जन्मिएको रास्वपा सभापति लामिछानेको फेसबुक स्टाटसले उनी कुन स्तरको दबाब र आवेगमा छन् भन्ने देखाउँथ्यो । उनले फेसबुकमा लेखेका थिए– ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

यस्तो स्टाटस लेखेर केन्द्रीय समिति सांसदको संयुक्त बैठक बोलाएका रविले बैठकमा आफू बोल्ने भन्दा नेताहरुका कुरा सुने । रोचक नै मान्नुपर्छ मेरो मौनता आजसम्मका लागि मात्रै हो भनेका उनी बैठक सकेर पनि प्रतिक्रिया नदिई हिँडे । अर्थात उनको मौन अवधि थपिएको छ । परिस्थितिमा कुनै फेरबदल नआएको भए रवि सम्भवतः बैठकबाट सरकार छाडेको घोषणा गर्ने मनसायमा थिए । रास्वपाको बैठक चल्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले क्रमशः फोन गरेर सरकार नछाड्न र दुई दिन समय दिन आग्रह गरे । 

बैठकमा नेताहरुका पनि फरक फरक धारणा आए । बैठकमा बोल्ने केहीले तत्कालै सरकार छाड्नुपर्ने बताए भने केहीले सरकार छाड्न नहुने सुझाव पनि दिए । केही नेताले भने ठूला शक्तिहरुको चलखेल र तिकडम तोड्न नेतृत्व असफल भएको भन्दै सचेत रुपमा अघि बढ्नुपर्ने बताएका थिए । बैठकमा सभापति लामिछानेले आफूलाई आएका तीनवटै फोनबारे विस्तारमा बयान गरेका थिए । 

दिउँसो फेसबुकमा अभिमन्यु नबन्ने धम्कीसहितको स्टाटस लेखेका उनी बैठकमा भने निकै संयमित देखिएका थिए । पछिल्लो समयमा उनी गृहमन्त्रीप्रति अति  आसक्ति देखाएको  कारण रक्षात्मक अवस्थामा देखिन्छन् । सामाजिक सञ्जालमा समेत पुराना नेताबाट केही नभएकाले आशा गरेर रविको पदलोलुप भएको आलोचना भइरहेको छ । बैठकमा धेरै नेताले पनि सरकार छाड्दा राम्रो सन्देश नजाने सुझाव दिएका थिए । केही नेताहरु भने प्रचण्ड गृहमन्त्री दिने विगतको सहमतिबाट पछि हटेकाले सबक सिकाउनुपर्ने भन्दै सरकारबाट फिर्ता हुनुपर्ने अडानमा थिए । 

एमाले राष्ट्रपति निर्वाचनलाई लिएर माओवादीसँग सशंकित छ । सत्ता गठबन्धनमा देखिएको एकपछि अर्को संकटले यो गठबन्धन सरकारको आयु धेरै लामो नहुने अड्कल बाजी सुरु भएको छ ।  

पार्टी उपसभापति तथा श्रम, रोजगार, सामाजिक सुरक्षा मन्त्री डिपी अर्यालले पार्टीलाई सही बाटोमा हिँडाउन सबै पदाधिकारी, सदस्यको बराबर भूमिका भएकाले आफ्नो अलग्गै कुरा नभएको बताएका थिए । 

महामन्त्री तथा प्रवक्ता मुकुल ढकाल भने गृहमन्त्री नपाएको अवस्थामा सरकारबाट फिर्ता हुनुपर्ने पक्षमा थिए । उनले केही दिनयता भएका भेटघाट तथा छलफलबारे जानकारी दिँदै नियोजित रुपमा कर्नरमा पार्न खोजिएको बताएका थिए । 

बैठकमा पार्टी विभाजित हुने चर्चा चलेको विषय पनि उठेको थियो । केन्द्रीय सदस्य तथा सांसद सोबिता गौतमले रास्वपा विभाजित हुन लागेको हल्ला बाहिर चलेको बोरे कुरा राखिन् । उनले पार्टी विभाजन हुने कानुनी आधार नै नरहेकाले पार्टीभित्रका मतभेदहरूलाई रचनात्मक र वैधानिक बाटोबाट समाधान खोज्नुपर्ने बताइन् । 

रास्वपासँग यतिबेला संसदमा १९ सिट छ । गत पुस १० गते प्रधानमन्त्री नियुक्त हुँदा ७ राजनीतिक दलको समर्थन थियो । बिहीबार नै नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई २४ घन्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ । ट्याक्टर जलाएको आरोपमा ६ महिना जेल र ८ लाख रुपैयाँ जरिमानाको सजाय पाएका उनी सजाय भुक्तान नगरी सांसद भएको पाइएको थियो । उनी सोही मुद्दामा पक्राउ परेका छन् । उनी पक्राउ परेसँगै निलम्बनमा परेका छन् । आफ्ना सांसद पक्राउ परेपछि नागरिक उन्मुक्ति आक्रोशित भएको हो । 

एमाले राष्ट्रपति निर्वाचनलाई लिएर माओवादीसँग सशंकित छ । सत्ता गठबन्धनमा देखिएको एकपछि अर्को संकटले यो गठबन्धन सरकारको आयु धेरै लामो नहुने अड्कल बाजी सुरु भएको छ ।