हरेक शुक्रबार काठमाडौँ–रुम्जाटार–विराटनगर उडान हुने

हरेक शुक्रबार काठमाडौँ–रुम्जाटार–विराटनगर उडान हुने

लोकसंवाद संवाददाता  |  पर्यटन  |  जेठ १७, २०७६

 ओखलढुङ्गा ।  काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ ।
आज २०७६ साल जेठ १७ गते  शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडाैँबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं  १ को राजधानी विराटनगरसम्मको हवाई सेवा  शुचारु हुने भएको हो ।

करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिनुुभएको छ । 
रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने सांसद गुरुङको भनाइ थियो । 

यसअघि गत असोजमा तयारी गरिए पनि यात्रुु अभावका कारण रुम्जाटारमा उडान शुरु हुनसकेको थिएन । नेपाल वायुसेवा निगमको विमानले हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने तयारी गरिरहेको निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले जानकारी दिनुुभएको छ  ।  अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भर्ने योजना रहेको प्रबन्धक पुरीको भनाइ थियो । उहाँका अनुसार हरेक शुक्रबार काठमाडौँ–रुम्जाटार–विराटनगर र विराटनगर–रुम्जाटार–काठमाडाँै उडान भर्ने निगमको तयारी छ । 

रुम्जाटारमा नियमित उडान हुने भएपछि जिल्लावासी खुशी भएको  कुरा राससको समाचारमा उल्लेख छ ।