सूर्य बिसी | दृष्टिकोण | माघ २२, २०७९
काठमाडौँको व्यस्त दैनिकी । बढ्दो जाम अनि अत्यासलाग्दो यात्रा । राज्य विहीनताको तितो अनुभूति । वर्षौंदेखि चल्दै आएको मोनो रेल, मेट्रो रेलका गफ !
राजनीतिमा मन्त्री बन्ने अवसर पनि विरलै प्राप्त हुन्छ । त्यस्तै अवसर मेटमणि चौधरीलाई पनि प्राप्त भयो । त्यसमाथि पनि सहरी विकास मन्त्री । समृद्ध सहर अनि सुखी सहर बासी बनाउने मूल जिम्मेवारी !
त्यसमाथि युवा नेता । किसानका छोरा । जनताले आसा अनि भरोसा गरेका नेता । दिनहुँ प्राप्त हुने सुझाव अनि सल्लाहका चाङ । अनि केही न केही नयाँ काम गरेरै देखाउने उनको अठोट ।
तत्कालीन सहरी विकास मन्त्री मेटमणि चौधरीले निरन्तर विज्ञहरुको सल्लाह लिइ रहे । यसैबीच उनले विश्व बजारमा प्रयोगमा आइरहेका नयाँ प्रविधितर्फ पनि आफ्नो ध्यान मोडे । अध्ययन गरे । निचोड निकाले–‘पोड वे !’
मास ट्रान्सपोर्टका लागि यो नेपालको सार्वजनिक यातायातमा नयाँ प्रविधि हुन सक्ने निश्कर्ष !
यसै सन्दर्भमा खोजि गर्दै जाँदा काठमाडौँ 'पोड वे' कम्पनी फेला पर्यो । मन्त्रीको निमन्त्रणा पाएपछि उक्त कम्पनीको टिम पनि उत्साहित हुँदै मन्त्रीसँग छलफलमा आयो ।
‘मन्त्रीज्यूले गम्भीर चासो राख्नुभयो । जनतालाई सास्ती भएको छ । सरकार रमिते बनिरहन सक्दैन । भोलि म मन्त्री र हुँला वा नर हुँला तर म सुरुवात गर्न चाहन्छु । मैरै कार्यकालमा सुरुवात गर्न चाहन्छु ।’
‘मन्त्रीज्यूको कुराले हामीलाई थप उर्जा मिल्यो । उहाँसँग निरन्तर वार्तामा बस्यौँ । 'प्रिजेन्टेसन' देखायौँ । उहाँ पनि कन्भिन्स हुनुभयो ।’ काठमाडौँ 'पोड वे' का उपाध्यक्ष निल भट्टराई सुनाउँछन् ।
तत्कालीन सहरी मन्त्री मेटमणि चौधरीले छलफल मात्र चलाएनन्, सचिवस्तरीय निर्णय नै गराए ।
गत असोज ११ गते सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयलाई माइक्रो रेल अर्थात् तार प्रविधिमा आधारित कम्प्युटर नियन्त्रित यातायात निर्माण अध्ययनका लागि कार्यक्रम शंसोधन तथा रकमान्तर सम्बन्धमा भनेर पत्र नै पठायो ।
मन्त्री बनेको करिब २ महिना नबित्दै चुनावको घोषणा भयो । त्यसको १ महिना पछि त आचार संहिता नै लागू भयो । निर्वाचन सम्पन्न भयो । सरकार तत्काल परिवर्तन भयो ।
सरकार परिवर्तन एउटा नियमित प्रकृया नै थियो । मन्त्रालयबाट हाँस्दै बिदा भएका मेटमणि चौधरीको 'पोड वे' सपना भने यथावत रह्यो । उनले आफ्नो अत्यन्तै छोटो कार्यकालमा उक्त प्रविधिको सुरुवात गराउन मन्त्रालयबाट पहल त गरे तर अर्थमन्त्रालयको ढिलासुस्तीले फाइल अघि बढेन ।
‘अहिलेका सहरी मन्त्रीलाई पनि निरन्तर घच्घच्याउने छु । सांसदका नाताले अझै पनि 'पोड वे' प्रविधि सुरु गराउन लागि परेकै छु । यो प्रविधिले नेपालको यातायात प्रणालीलाई कायापलट गर्ने छ ।’ पूर्व मन्त्री मेटमणि चौधरी सुनाउँछन् । अर्थात् उनको पोड वे सपनाले अझै पनि उनलाई सताइरहेको छ ।
काठमाडौँ 'पोड वे' कम्पनी के भन्छ ?
‘यो स्ट्रीङ अर्थात् तारमा कुद्ने रेल हो । ४० वर्षदेखि बेलारुसमा अनुसन्धान गरि सर्टिफाइड प्रविधि हो । यो कम्प्याक्ट मास टेक्नोलोजी हो । कम्पनीले एलिभेटेड इलेक्ट्रिक रेल प्रविधिमा काम गर्दे आएको छ ।
यसको क्षमता १५० किलोमिटर प्रतिघण्टा रहेको छ । एउटा पोडमा ४ वटा मोटर रहेको हुन्छ । ३ वटा विग्रिए पनि एउटाले स्टेसनसम्मै पुर्याउँछ । बीचमै लाइन गए १०० किलोमिटरसम्मको ब्याक अपको व्यवस्था हुन्छ ।’ उपाध्यक्ष भट्टराई भन्छन् ।
बढ्दो सहरीकरण, बढ्दो सवारी चाप, पेट्रोलिय पदार्थको निरन्तर मूल्यवृद्धि, चुलिँदो आर्थिक संकटका बेला यो वातावरण मैत्री मात्रै छैन निकै नै किफायती प्रविधि भएको उनी सुनाउँछन् ।
‘भारत, क्यानडा, बेलारुस, नेदरल्याण्डसहितको विज्ञ टोलीले यसको काम गरिरहेको छ । उक्त प्राविधिक टोलीलाई हामीले ९ महिना काठमाडौंमा राखेर नेपालमा विभिन्न ठाउँको सम्भाव्यता अध्ययन गरायौँ ।
'पोड वे' कार्गोको रुपमा समेत प्रयोग गर्न सकिन्छ । दुईवटा पोलको बीचमा ५० टनसम्म थेग्छ । पोल बीचको दुरी ३ किलोमिटरसम्म राख्न सकिन्छ । यसलाई पूर्व पश्चिम राजमार्गमा चलाउन पनि सकिन्छ ।’ भट्टराई थप्छन् ।
पूर्व सहरी विकास मन्त्री मेटमणि चौधरीले निकै रुचाएको यो प्रविधि कुनै पुँजीपतिलाई जिम्मा लगाउने नभएर जनतालाई यो कम्पनीको मालिक बनाउने उद्देश्य रहेको काठमाडौँ 'पोड वे' का उपाध्यक्ष निल भट्टराईले बताए ।
‘१० वर्षमा १ हजार किलोमिटर विस्तार गर्ने लक्ष्य छ । सरकारले राइट अफ वे दिएमा हामी नेपाल भर काम गर्न तयार छौँ । हरेक वर्ष डिभी चिठ्ठा परेर २२०० मान्छे अमेरिका जान्छन् । तर सडक दुर्घटनामा हरेक वर्ष ४२०० मान्छे मर्छन् । यहाँ सडक दुर्घटनाबाट हुने मृत्यु चिठ्ठा भन्दा पनि सुलभ भयो ।’ प्रविधिप्रति विश्वस्त हुँदै भट्टराईले सुनाए ।
प्रविधिकै भरमा तिव्र गतिमा सफलता हात पार्दै अघि बढिरहेको विश्वसामु नेपालमा नयाँ देखिएको 'पोड वे' प्रविधिले एउटा मेटमणि चौधरीको मात्र सपना पूरा गर्ने छैन नेपालको सिङ्गो यातायात प्रणालीका लागि नै मणि रत्न साबित हुने निश्चित देखिन्छ ।