पर्यटन मन्त्रालय र हरिवन नगरपालिकाको सहकार्य : चुरे फेदमा फनपार्क निर्माण गरिदैँ

पर्यटन मन्त्रालय र हरिवन नगरपालिकाको सहकार्य : चुरे फेदमा फनपार्क निर्माण गरिदैँ

लोकसंवाद संवाददाता  |  पर्यटन  |  माघ २५, २०७९

सर्लाही । सर्लाहीको चुरे भावर क्षेत्रस्थित हरिवन नगरपालिका–१, कैलाशपुरीमा फनपार्क निर्माण गरिँदैछ । पूर्व–पश्चिम राजमार्गको हरिवन बजारबाट तीन किलोमिटर उत्तरमा उक्त उद्यान निर्माण भइरहेको छ । 

हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकीका अनुसार उद्यानमा ठूलो कदको बुद्धको मूर्ति स्थापना गर्ने तयारी छ । वनभोज स्थल, सेल्फी सेट, जङ्गल पुल तथा चमेना गृहसमेत निर्माण गरिँदै छ । रु चार करोड ९७ लाखको लागतमा उद्यान निर्माण भइरहेको प्रमुख बुढाथोकीले जानकारी दिनुभयो । 

'पर्यटन मन्त्रालयले ६५ र हरिवन नगरपालिकाले ३५ प्रतिशत रकम बेहोर्नेछ', उहाँले भन्नुभयो, 'थप रकम नगरपालिकाले विनियोजन गर्नेछ ।' उद्यान निर्माणको ठेक्का गोपिनी गङ्गा कन्स्ट्रक्सन, काठमाडौँले लिएको छ । हाल सो कार्यमा ३०  कामदार कार्यरत छन् । उद्यान दुई वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।