सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर कमैया बस्तीमा विद्यालय भवन निर्माण

सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर कमैया बस्तीमा विद्यालय भवन निर्माण

लोकसंवाद संवाददाता  |  शिक्षा  |  जेठ १७, २०७६

कैलाली । कैलालीका १३ युवाले सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर कैलालीको लम्कीचुहास्थित मुक्त कमैया बस्तीमा विद्यालय भवन निर्माण गरेका छन् । 

क्रिएटिभ नेपालमा आबद्ध युवाहरुले लम्कीचुहा नगरपालिका–१ स्थित मुक्त कमैया बस्तीमा नमूना अध्ययनगृहको पक्की भवन निर्माण गरेका हुन् ।

युवाहरुले एक वर्षमा भवन निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिसकेका छन । युवाले बडघर मैटुराम चौधरीको संयोजकत्वमा गठित पाँच सदस्यीय सञ्चालक समितिलाई भवन हस्तान्तरण गरेका हुन । सो भवनमा कार्यालय, पुस्तकालय र १०० जना अट्ने हल समेत निर्माण गरिएकोछ । सरस्वती मन्दिर भने हाल अमेरिकामा बस्दै आएका मदनराज कठायतले रु एक लाखको लागतमा आमाको सम्झनामा निर्माण गरिदिनुभएको उक्त समितिले जनाएको छ । 

क्रिएटिभ नेपालका अध्यक्ष जनक सुनारका अनुसार विद्यालय भवन निर्माणमा मात्रै रु ११ लाखभन्दा बढी रकम खर्च भएको छ । स्थानीयवासीले रु छ लाख बराबरको जनश्रमदान समेत जसटाइएको छ ।  उहाँले विद्यालय भवन निर्माणका लागि रु ११ लाख १२ हजार सहयोग सङ्कलन भएको बताउनुभयो । ‘त्यो सबै रकम सामाजिक सञ्जाल फेसबुकमार्फत सङ्कलन गरिएको हो।’ अध्यक्ष सुनारले भन्नुभयो, ‘हामीले स्थानीय सुदामा चौधरीले मुक्त कमैया बस्तीका बालबालिकालाई रुखमुनि राखेर पढाइरहेको देख्यौँ । सुदामाले प्रतिविद्यार्थी एक रुपैयाँ शुल्क लिएर बालबालिकालाई अतिरिक्त शिक्षा प्रदान गर्दै आउनुभएको थियो ।’