पारिस्थितिक अनुकूलन कार्यशाला सुरु, फागुन ४  सम्म चल्ने

पारिस्थितिक अनुकूलन कार्यशाला सुरु, फागुन ४  सम्म चल्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २, २०७९

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण परियोजना (युनेप), विश्व वातावरण कोष (जीईएफ)को सहयोगमा ‘प्रायोरिटिज अफ इकोसिस्टम बेस्ड एडप्टेसन बेस्ड अन लोकल निड्स प्रिफरेन्स अफ विमन एज वेल एज मेन एन्ड कस्ट इफेक्टिभनेस’ विषयमा कार्यशाला सुरु भएको छ ।

सोमबार काठमाडौंमा सुरु भएको कार्यशालामा उपत्यकाका स्थानीय तहका प्रतिनिधि, सरोकारवाला निकाय र संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेका बताइएको छ । प्राधिकरण अन्तर्गत यस परियोजनाका राष्ट्रिय निर्देशक तथा नायव विकास आयुक्त नवराज प्याकुरेलका अनुसार कार्यशाला आगामी ४ फागुनसम्म चल्नेछ ।

कार्यशालामा आयोजनाका क्रियाकलापहरूबारे मन्थन गरिने तथा विभिन्न स्थानहरूमा अपनाउनका लागि शहरी पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन निर्देशिका तयार गरिने तथा सम्बन्धित नीति, रणनीतिक योजनाहरू र विनिमय तथा मापदण्डहरूमा शहरी पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनलाई एकीकृत गरिने निर्देशक प्याकुरेलले बताए ।
कार्यशालापछि आयोजनाका क्रियाकलाप र भविष्यमा पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनको कार्यान्वयनले काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिसमा जलवायु परिवर्तनको प्रभावसँग जुध्ने क्षमता विकास हुने प्याकुरेलको भनाइ छ ।

काठमाडौं उपत्यकाको विकासमा प्राचीन समयका संरचना नै वातावरण अनुकूलनमुखी रहेको, पछि आधुनिक विकाससँगै वातावरणमा प्रतिकूल असर परेकाले वातावरणलाई प्राथमिकतामा राखी विकास गर्नुपर्ने आवश्यकता रहेको पनि प्याकुरेलले औँल्याए ।

कार्यक्रमको उद्घाटन काठमाडौं उपत्यका विकास  प्राधिकरणका विकास आयुक्त जानुका ढकालले गरेकी थिइन् ।

विकास आयुक्त ढकालले काठमाडौं उपत्यकाका ५ वटा साइट धनवन्तरी, च्यासनडोल, सपनातीर्थ, नीलबाराही र नागदहमा अरबान इबिएको आयोजना सञ्चालन हुने र त्यसको कार्यान्वयनका लागि सम्पूर्ण सरोकारवालाको सक्रिय सहभागिताको अपेक्षा गरेको बताइन् ।

सहभागीहरूले हाल उपत्यकाले हनुमन्ते, धोबीखोलाको बाढीबाट समस्या भोगइरहेको र त्यसका कारण वातावरण विनाश भइरहेकाले अब आफ्ना निकायमा हुने गर्ने विकासका कार्यक्रममा वातावरणलाई पनि ध्यान दिने बताए ।