प्रेम दिवस

प्रेम दिवस

कमला मुस्कान  |  साहित्य  |  फाल्गुन २, २०७९

'हामी चखेवाको जोडीझैँ देखिन्छौँ क्यारे !'
- उसले मेरा दुवै हातहरू समाउँदै भन्यो ।

'एक्काइसौँ शताब्दीका प्रेमिल जोडी, हैन त ?'
उसको कुरा टुङ्गिनेबित्तिकै
मैले भनेँ
- 'उम् है !'
मेरो कुरा सुनेर ऊ मुस्कुरायो ।

हरियो फाँटमाथिको विशाल चउरमा
हामी जस्तै धेरै जोडीहरू देखिए
आआफ्ना पारामा मग्न ती जोडिहरू हेर्दै
हामी हाम्रै गफमा हराउन थाल्यौँ ।

म झस्किएँ- चउरका केही जोडीहरू
झगडा गर्दै चिच्याएको आवाजले
कानको जाली फुट्लाझैँ भयो
पाँच तारे होटलमा पिजा, बर्गर र स्यानबिच
खान नपाएको झोँकमा परेको झगडा
कसैलाई महँगा उपहारहरू
नदिएको झोँकमा हुँदै गरेको कुटाकुट
कठै ! कलिलो उमेरको कच्चा 'मुयाँ'
देखेर हामी चकित पर्‍यौं ।

खोइ, कता हराए मुना-मदनका प्रेमकथा ?
अनि, लैला-मजनुका त्यागी प्रेमिल गाथाहरू ?
रोमियो-जुलियटको त्याग र तपस्या
भित्रको जीवन्त मायाको समर्पण खोइ ?

आजको यो परिवेशले मेरो मन दुखाइदियो
'आधुनिकताको पातलो च्यादरले छोपिएको
फिक्का अनि फुङ्ग उडेको समाजमा
प्रेमको परिभाषा किन महँगा वस्तुहरूमा
तौलिन थालियो होला ?'
- उसको छातीमा मैले मेरो टाउको अड्याएर सोधेँ ।

लामो सास फेर्दै उसले उत्तर दियो
- 'माया र प्रेममा अपेक्षा र आवश्यकताभन्दा पर रहेर
साथ,सहयोग र मायाँको प्रत्याभूति हुनुपर्छ
प्रेरणा र साथको भावना एकनासले निरन्तर देखिनुपर्छ ।'

'शङ्काको जड उखेल्दै
सहयोगी हात फैलाउन सके
हाम्रो माया त्यसै पनि
स्वच्छ, सफा अनि कन्चन बन्न सक्छ
कि कसो ?'
उसले मलाई अँगालोमा चेप्यो र भन्यो
- 'आज प्रेम दिवस भन्छन्
प्रेम दिवसको असीम शुभकामना ल माया !'

मैले पनि उसको प्रस्ताव स्वीकार गरेँ
अनि, हँसिलो अनुहार लिएर हामी घरतिर लाग्यौँ ।