राष्ट्रपतिको खोजी: जितको सुनिश्चित भए एमाले 'एस मेन' र काँग्रेसको शीर्षस्थ तर हार्ने भए सामान्य उम्मेदवार !

राष्ट्रपतिको खोजी: जितको सुनिश्चित भए एमाले 'एस मेन' र काँग्रेसको शीर्षस्थ तर हार्ने भए सामान्य उम्मेदवार !

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ४, २०७९

आगामी फागुन २५ गते राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । राष्ट्रपतिका लागि एमाले र काँग्रेस मुख्य प्रतिस्पर्धामा रहेका छन् । हालसम्म काँग्रेसले एक र एमाले नेताले दुई पटक राष्ट्रपति हुने अवसर पाईसकेका छन् । अबको राष्ट्रपतिका लागि पनि यी दुई दल नै मुख्य दाबेदार हुन् । यसपटक पनि माओवादी केन्द्रले उपराष्ट्रपति पाउने सम्भावना छ । पहिलो राष्ट्रपति रामवरण यादव भएका थिए भने त्यसबेला परमानन्द झा उपराष्ट्रपति भएका थिए । 

त्यसपछि राष्ट्रपति बनेकी विद्या भण्डारीले दुई कार्यकाल राष्ट्रपति हुने अवसर पाइन् । उनका दुवै कार्यकालमा माओवादीका नेता तथा माओवादी लडाकुका कमाण्डर नन्दबहादुर पुनले उपराष्ट्रपति हुने अवसर पाए । यसपटक राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन १३ गते राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता र २५ गते मतदान हुनेछ । देशको राष्ट्रप्रमुख चयन गर्ने विषयमा अहिलेसम्म पनि दलहरुबीच कसलाई उम्मेदवार बनाउने भन्ने सहमति भएको देखिदैन । 

बुधबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अरु दलले मुख नखोलेको अवस्थामा आफूहरुले बोल्ने कुरा नभएको भन्दै राष्ट्रपतिका लागि आफ्नो पार्टीले उम्मेदवारी नदिने घोषणा गरे ।

तर उनले एमालेको राष्ट्रपति भएमा देश बर्बाद हुने बताउँदै आएका छन् । अन्य साना दलले राष्ट्रपतिमा दाबी नगरेका कारण काँग्रेस र एमालेले अघि सार्ने उम्मेदवारमध्ये एकजना राष्ट्रपति हुने देखिन्छ । तर राष्ट्रपतिको उम्मेदवार चयन गर्न यी दुवै दलभित्र गहन छलफल भएको छैन ।

१० पुसमा अहिलेको सत्ता गठबन्धन बन्दा एमालेले राष्ट्रपति पाउने सहमति भएको बताइन्छ । तर २६ पुसमा प्रधानमन्त्रीलाई काँग्रेसले विश्वासको मत दिएसँगै माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ । माओवादी निकट स्रोत अब केही दिनमा नै माओवादी केन्द्रले काँग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने औपचारिक निर्णय गर्नसक्ने बताउँछन् । 

मंगलबार एक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन भत्किन सक्ने संकेत गर्नु, माओवादीले राष्ट्रिय सहमतिको रटान लगाउनु र सत्ता गठबन्धनमा तीव्र असन्तुष्टिले नयाँ गठबन्धन बन्नसक्ने सम्भावना देखिन्छ । यतिबेला अहिलेको गठबन्धन बलियो पनि नभएको र भत्किन पनि नभत्किएका कारण कुनै पनि दलले राष्ट्रपतिको उम्मेदवार बारेमा  खुलेर छलफल गर्न सकेका छैनन् ।

एमालेमा अहिलेको सत्ता समीकरण बनाउन प्रमुख भूमिका खेलेका अध्यक्ष केपी ओलीले नै राष्ट्रपतिको उम्मेदवार तोक्ने सम्भावना छ । अघिल्लो पटक ओलीले नै विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाएका थिए भने गत महिना सभामुखमा आफूनिकट देवराज घिमिरेलाई उम्मेदवार बनाएका थिए । 

राष्ट्रपतिका लागि एमाले र काँग्रेसको दाबी रहे पनि माओवादी निर्णायक हैसियतमा छ । त्यसैले माओवादीले जसलाई सहयोग गर्‍यो उसकै उम्मेदवार विजयी हुने सम्भावना छ । नेकपा माओवादीले एमाले र काँग्रेसमध्ये कुन पार्टीका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गर्छ, त्यसपछि मात्रै राष्ट्रपति निर्वाचनको माहोल तातिने देखिन्छ । माओवादीले सत्ता समीकरणमा रहेको एमालेलाई सहयोग नगरी काँग्रेसलाई सहयोग गरेमा एमालेले सरकार छाड्ने सम्भावनालाई नकार्न सकिन्न । 

एमालेमा अहिलेको सत्ता समीकरण बनाउन प्रमुख भूमिका खेलेका अध्यक्ष केपी ओलीले नै राष्ट्रपतिको उम्मेदवार तोक्ने सम्भावना छ । अघिल्लो पटक ओलीले नै विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाएका थिए भने गत महिना सभामुखमा आफूनिकट देवराज घिमिरेलाई उम्मेदवार बनाएका थिए । 

नेकपा एमालेबाट सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य को नाम राष्ट्रपतिका लागि चर्चामा ल्याइएको छ । 

राष्ट्रपतिका लागि नेपाली काँग्रेसले रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलामध्ये एक जनालाई अघि सार्नसक्ने सम्भावना छ । यद्यपि काँग्रेसबाट अन्य नेता पनि आकांक्षी रहेका छन् । तर दुवै दल आफूले जित्ने निश्चित भएपछि मात्रै उम्मेदवार तय गर्ने मुडमा देखिन्छन् । 

एमालेले जितको सुनिश्चितता भएमात्र एमाले ओलीले आफ्ना 'एस मेन' लाई तोक्ने र नेपाली काँग्रेसले जित्ने भए शीर्षस्थ  हार्ने भए समान्य व्यक्तिलाई उठाउने तयारीमा छन ।