काँग्रेसले सत्ता गुमाए जस्तै राष्ट्रपति नगुमाउन एमालेका सामु साना दललाई फकाउनुपर्ने बाध्यता

काँग्रेसले सत्ता गुमाए जस्तै राष्ट्रपति नगुमाउन एमालेका सामु साना दललाई फकाउनुपर्ने बाध्यता

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ५, २०७९

नेपालको तेस्रो राष्ट्रपतिको हुने भन्ने रस्साकस्सी चलिरहेको छ । पुस १० गते अहिलेको सत्ता गठबन्धन बन्दा राष्ट्रपति एमालेले लिने सहमति भएको भनिए पनि यो सहमति मुख्यतः दुई कारणले पालना नहुने सम्भावना बलियो छ ।  पहिलो २६ पुसमा काँग्रेससहितका दलले पनि विश्वासको मत दिएपछि सरकारले करिब करिब राष्ट्रिय सहमतिको स्वरुप ग्रहण गर्नु र दोस्रो, सबै मुख्य पद एमालेको पोल्टामा पुग्ने सम्भावनाबाट एमाले इतरका दलहरु सशंकित हुनु ।  

१० पुसमा नेपाली काँग्रेस माओवादी केन्द्रलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न तयार नभएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर प्रधानमन्त्री हात पारे । जहाँ एमालेसहित रास्वपा, राप्रपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तथा केही स्वतन्त्र सांसदको समेत समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चित भएको थियो ।

त्यहीबेला राष्ट्रपति एमालेले लिने मौखिक सहमति भएको थियो । तर २६ पुसमा काँग्रेसले पनि सरकारलाई विश्वासको मत दिएपछि सरकार करिब करिब सर्वदलीय जस्तो बन्न पुग्यो । त्यसपछि माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने आवाज चर्को बनायो ।

यसको अर्को कारण भनेको चै आगामी साढे २ वर्षपछि सबै पद एमालेको भागमा पुग्दा देश अर्को समस्यामा फस्ने चिन्ता गर्न दलहरु बाध्य भए ।  अघिल्लो पटक एमालेको राष्ट्रपति र प्रधानमन्त्री हुँदा समेत दुई पटक संसद विघटनसहितका घटना घटेकाले यसपटक पनि संसदको दीर्घ जीवन र संविधानको परिपालना आ शंकाले  घर गरेको थियो ।

 अर्कोतिर राष्ट्रपति पनि एमालेको भागमा हुँदा अब साढे २ वर्षपछि केपी ओली प्रधानमन्त्री हुँदा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाको अध्यक्ष समेत एमालेका नै हुनेछन् । यसले राज्यका प्रमुख निकायहरुमा एमालेको पकड हुन पुग्नेछ । एमाले संसदको दोस्रो ठूलो शक्ति हो । जसको बहुमतभन्दा निकै कम सिट छ । तर प्रमुख सबै पदमा उसको कब्जा हुँदा जनमतको समेत कदर नहुने र जननिर्वाचित संस्थाहरु समेत धरापमा पर्ने भए अन्य दलहरुलाई छ ।

काँग्रेसको अडानका कारण संघसहित सबै प्रदेशमा सरकार गुमाएको थियो । अहिले पनि ओलीले काँग्रेसकै शैली अपनाउन खोज्दा राष्ट्रपति गुमाउने सम्भावना रहेको स्रोत बताउँछ । देउवाको सत्ता मोहका कारण सबैथोक गुमे जस्तै ओलीको गोजीको मान्छेको मोहका कारण गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने र राष्ट्रपति पद पनि देउवाको सरकार शैलीमा नै गुम्ने खतरा रहेको स्रोत बताउँछ ।

त्यसैले अन्य दल अब जसरी पनि एमाले इतरको राष्ट्रपति बनाउने कसरतमा लागेका छन् । पछिल्लो समयमा राष्ट्रपतिका विषयमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर छलफल गरिरहेका छन् । तर प्रचण्ड सबै छलफलमा सबैले स्वीकार गर्ने पात्रमा सर्व सहमति भनिरहेका छन् । बिहीबार पनि प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच छलफल भएको छ । जसमा प्रचण्डले राष्ट्रिय सहमति भनेपछि ओलीले १० पुसको सहमति स्मरण गराएका थिए । 

माओवादी १० पुसको सहमतिमा नउभिएपछि अब एमालेका सामू साना दललाई फकाउनुपर्ने बाध्यतामा छ । केही दिनअघि संसद भवनबाट बाहिरिँदा उनले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई आफ्नै गाडीमा लिएर गएका थिए । उनी एमालेको राष्ट्रपति नहुने अवस्थामा ठाकुर वा जसपाका वरिष्ठ नेता अशोक राई समेतलाई राष्ट्रपतिका लागि उठाउन तयार भएको स्रोत बताउँछ ।

यद्यपि अझै पनि ओलीले आफ्नै पार्टीबाट राष्ट्रपति बनाउन जोड गर्नेछन् । उनले एमालेबाट आफू निकट पात्रलाई राष्ट्रपति बनाउन चाहेका थिए । एमालेबाट राष्ट्रपतिका सम्भावित उम्मेदवारका रुपमा हेरिएका सुवास नेम्वाङलाई समेत ओलीले अघि सार्न नखोजेको र आफूनिकट पात्रलाई नै खोजेका कारण माओवादी झस्किएको स्रोत बताउँछ ।

सभामुखमा ओलीले आफ्ना अति विश्वासपात्र देवराज घिमिरे ल्याएका छन् । राष्ट्रपतिमा पनि आफ्नो ‘एस म्यान’ ल्याएर उभ्याउने तयारी गरेपछि माओवादी ओलीको योजना र रणनीतिबाट त्रसित भएको बताइन्छ । 

ओलीले सबै पदमा आफ्ना विश्वासपात्र ल्याउन थालेपछि माओवादी खुसी थिएन । बुधबारमात्रै नेपाल प्रज्ञा प्रतिष्ठान सहित ३ वटा  प्रतिष्ठानमा  कुलपति सहित पदाधिकारी नियुक्त भएका छन् । जसमा एमाले निकटले स्थान पाएनन् । यसबाट अहिलेको गठबन्धन भत्किने दिशातिर अघि बढेको संकेतका रुपमा लिइएको छ ।

केही दिनअघि एमाले अध्यक्ष ओलीले नै गठबन्धन नरहन सक्ने संकेत गरेका थिए । ओलीले आफ्ना गोजीका मान्छे मात्रै ल्याउन खोजेपछि एमालेले मुखैमा आएको राष्ट्रपति पद गुमाउने चर्चा सुरु भएको छ । गत पुसमा काँग्रेसले २ वर्षका लागि माओवादीलाई सरकारको नेतृत्व छाडेको भए मुखैमा आएको सत्ता गुम्ने थिएन ।

तर काँग्रेसको अडानका कारण संघसहित सबै प्रदेशमा सरकार गुमाएको थियो । अहिले पनि ओलीले काँग्रेसकै शैली अपनाउन खोज्दा राष्ट्रपति गुमाउने सम्भावना रहेको स्रोत बताउँछ । देउवाको सत्ता मोहका कारण सबैथोक गुमे जस्तै ओलीको गोजीको मान्छेको मोहका कारण गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने र राष्ट्रपति पद पनि देउवाको सरकार शैलीमा नै गुम्ने खतरा रहेको स्रोत बताउँछ ।