पाल्पाको तानसेनमा  ११औं लोकवार्ता सम्मेलन सुरु हुँदै

पाल्पाको तानसेनमा  ११औं लोकवार्ता सम्मेलन सुरु हुँदै

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन ६, २०७९

पाल्पा । आजबाट एघारौं लोकवार्ता सम्मेलन सुरु हुने भएको छ । लोकवार्ता परिषद् नेपालको आयोजनामा फागुन ६ गतेदेखि ११ गतेसम्म पाल्पा, गुल्मी र अर्घाखाँचीमा सम्मेलन हुने भएको हो । उद्घाटन कार्यक्रम भने पाल्पाको तानसेन स्थित त्रिभुवन बहुमुखी क्याम्पसमा शनिबार आयोजना हुँदैछ ।

सम्मेलनमा सहभागी हुन परिषद्का पदाधिकारी तथा सदस्यहरूसहित काठमाडौँ र देशभर तथा भारतको सिक्किमबाट पनि लोकवार्ता विज्ञहरुको उपस्थिति तानसेनमा भइसकेको छ । यसैगरी स्थानीय विज्ञहरुको पनि सहभागिता रहेको छ ।  

उद्घाटन कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरुको पनि प्रदर्शन हुने स्थानीय संयोजक डा. शंकर गैरेले बताउनु भयो । तानसेनमा हुने उद्घाटन सत्रमा २० वटा कार्यपत्र प्रस्तुत हुने परिषद्का उपाध्यक्ष प्रा.डा. भवेश्वर पंगेनीले जानकारी दिनु भयो ।

सम्मेलनमा लोकवार्तासम्बन्धी ६० वटा कार्यपत्र प्रस्तुत गरिने परिषद्का महासचिव प्रा.डा. ध्रुवप्रसाद भट्टराईले जानकारी दिनुभयो । ती कार्यपत्रहरुलाई विभिन्न स्थलमा गएर प्रस्तुत र त्यसमाथि गहन छलफल हुनेछ ।

उद्घाटन सत्रपछि अर्को दिन पाल्पाको रानीमहल, रिडी, गुल्मीको तम्घास, अर्घाखाँचीको सन्धिखर्क लगायतका स्थलमा औपचारिक कार्यक्रम हुने भट्टराईले जानकारी दिनुभयो । 

लोकवार्ता सम्मेलन लोक हेर्ने यात्रा रहेको परिषद्का अध्यक्ष प्रा.डा. प्रेमकुमार खत्रीले बताउनु भयो । स्थानीय स्तरमै पुगेर त्यहाँका लोकवार्ता सुन्ने, सुनाउने, अध्ययन तथा अनुसन्धान गर्ने र अन्यत्रका लोक संस्कृतिलाई पनि त्यहाँ प्रस्तुत गरेर जानकारी गराउने उद्देश्य यो सम्मेलनको रहेको उहाँको भनाई छ । लोक कला, लोकसंस्कृति, लोकगीत, लोक जीवन काठमाडौँमा भन्दा गाउँघरमा फरक किसिमको पाइने भएकोले त्यसको अध्ययनका लागि हरेक वर्ष देशका विभिन्न ठाउँमा लोकवार्ता सम्मेलन आयोजना हुँदै आएको उहाँले सुनाउनु भयो ।

पोखराबाट सुरु भएको यो अभियान यसअघि भैरहवा, धनगढी, दाङ, सल्यान, सुर्खेत, कपिलवस्तु, नवलपरासी, जनकपुर, ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुर, रोल्पा आदि ठाउँमा पुगिसकेको छ । यो पटक पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लामा यो सम्मेलन आयोजना हुँदैछ । 

हरेक सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्रहरुलाई परिषद्ले पुस्तकको रुपमा प्रकाशन गरी वितरण गर्दै आएको छ । परिषद्ले हरेक वर्ष देशका विभिन्न जिल्लामा पुगेर लोकवार्ता सम्मेलन गर्दै आएको छ ।