विश्वकपमा इग्ल्याण्डको सुखद् सुरुवात, दक्षिण अफ्रिका १०४ रनले पराजित

विश्वकपमा इग्ल्याण्डको सुखद् सुरुवात, दक्षिण अफ्रिका १०४ रनले पराजित
लेग साइडमा बल प्रहार गरेपछि रन लिँदै इग्ल्याण्डका बेन स्ट्रोक्स । तस्बिर : क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ १७, २०७६

काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा आयोजक इग्ल्याण्डले सुखद् सुरुवात गरेको छ ।

बिहीबार राती सम्पन्न खेलमा इग्ल्याण्डले दक्षिण अफ्रिकालाई १०४ रनले हरायो ।

३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २०७ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका प्रारम्भिक ब्याट्सम्यान तथा विकेटकिपर क्विन्टन डि ककले सर्वाधिक ६८ रन जोडे । ७४ बलको सामना गरेका डि ककले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै, मध्यक्रममा रासी भेन डर डुसेनले पनि अर्धशतकीय पारी खेले । ६१ बल सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरे ।

५ खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकालाई रोक्न जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए । यस्तै, बेन स्ट्रोक र लाइम प्लुनकेटले समान दुई विकेट लिँदा मोइन अली र आदिल रसिदले पनि एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको इग्ल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३११ रन जोडेको थियो, जसमा चार ब्याट्सम्यानले अर्धशतकीय पारी खेले ।

अलराउन्डर बेन स्ट्रोकले सर्वाधिक ८९ रन जोडे । यस्तै, कप्तान इयान मोर्गनले ५७, जेसन रोयले ५४ र जोय रुटले ५१ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लुंगी नेगडीले ३ तथा इमरान ताहिर र कागिसो रवाडाले समान २ विकेट लिए । यस्तै, एन्डिले फेहलुकवावोको नाममा १ विकेट रह्यो ।

खेलको प्लेअर अफ दि म्याच बेन स्ट्रोक घोषित भए ।