लघुकथा समाजद्वारा दुई कथाकार सम्मानित

लघुकथा समाजद्वारा दुई कथाकार सम्मानित

लोकसंवाद संवाददाता  |  साहित्य  |  फाल्गुन ८, २०७९

काठमाडौं । लघुकथा समाज नेपालले ‘सावित्री–केशर कथा सम्मान -२०७९’ कथाकार बाबा न्यौपाने (वामन प्रसाद न्यौपाने)लाई प्रदान गरेको छ । त्यस्तै समाजले ‘बाटुली–खिलध्वज लघुकथा सम्मान-२०७९’ लघु कथाकार कल्याण पन्तलाई प्रदान गरेको छ । 

दुवै सम्मानका साथ नगद राशि २१ हजार रुपैयाँको थैली पनि प्रदान गरियो । थैली पुरस्कार संस्थापकहरू हरि थापा र भैरवी थापाले प्रदान गरे ।

आइतबार बिहान काठमाडौंमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रा।डा। लक्ष्मणप्रसाद गौतमले सम्मानित व्यक्तित्वलाई सम्मानपत्र अर्पण गर्दै दुवै सर्जकहरूलाई सम्मानित गर्न पाउँदा खुसी लागेको बताए । उनले आजको सम्मान अर्पणले आफू स्वयम् सम्मानित भएको उल्लेख गरे ।

अर्का अतिथि तथा समाजका सल्लाहकार साहित्यकार अशेष मल्लले लघुकथा समाजले समर्पण गर्ने सम्मानहरूका लागि चयन हुने व्यक्ति उत्कृष्ट हुने गरेको बताए ।

दुवै सम्मानका संस्थापकहरूका तर्फबाट साहित्यकार हरि थापाले आगामी दिनमा पनि समाजले हाम्रो होइन राम्रो कथाकारहरूको चयन गर्दै सम्मानित गर्ने विश्वास व्यक्त गरे । 

सोअवसरमा कथाकार बाबा न्यौपाने र लघुकथाकार कल्याण पन्तले आफूहरूलाई खुसी लागेको बताए । कार्यक्रममा समाजका सदस्य नवराज रिजालले दुवै सम्मानित स्रष्टाहरूको परिचय दिएका थिए भने समाजका अध्यक्ष गोपाल अश्क र सदस्य श्रीबाबु काकीले पनि बोलेका थिए ।