सामुदायिक विद्यालय प्रति अपनत्वको खोजी

सामुदायिक विद्यालय प्रति अपनत्वको खोजी

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन ८, २०७९

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । 

सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो । 

गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले आगामी शैक्षिक सत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय गरेको अध्यक्ष शुक्र चुमानले बताउनुभयो । गाउँपालिकामा ३२  जनप्रतिनिधि छन् । 

आँबुखैरेनी गाउँपालिकाका छवटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार सय पाँच सय विद्यार्थी अध्ययनरत छन् । 'सामुदायिक विद्यालयको स्तर सुधार्नुपर्छ भनेर भाषणमा त भन्छौँ, व्यवहारमा उतार्दैनौँ, अब जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएका छौँ' , उहाँले भन्नुभयो, ' यसले गर्दा सरकारी विद्यालयप्रति अपनत्व बढ्छ ।' 

गाउँपालिकाले सामुदायिक विद्यालयमा अनुदानमा बस वितरणको तयारीसमेत थालेको छ । पहिलो चरणमा तीनदेखि पाँच वटा विद्यालयलाई बस हस्तान्तरण गरिने अध्यक्ष चुमानले बताउनुभयो । 

यसैबीच आँबुखैरेनी गाउँपालिका–५ को वडा भवनमा विद्यालय स्थानान्तरण गरिने भएको छ । उक्त वडाको इन्द्रदेवी आधारभूत विद्यालयको भवन जीर्ण रहेकाले वडा कार्यालयमा विद्यालय स्थानान्तरण गर्न लागिएको हो ।