महानिरीक्षक अर्यालद्वारा पोख्रेल, शाह र  थापालाई दर्ज्यानी चिन्ह प्रदान

महानिरीक्षक अर्यालद्वारा पोख्रेल, शाह र  थापालाई दर्ज्यानी चिन्ह प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ९, २०७९

काठमाडौँ ।  नेपाल सरकार  प्रधानमन्त्री एवं गृह मन्त्री स्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ४ जना मध्ये ३ जना बरिष्ठ अधिकृतलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा फागुन ८ गते आयोजित एक समारोहका बीच दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

दर्ज्यानी चिन्हबाट सुशोभित हुनुहुने बरिष्ठ अधिकृतहरूमा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू अन्जनी कुमार पोख्रेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापा हुनुहुन्छ ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संगठनमा आवद्ध भएपछि पदोन्नति महत्वपूर्ण रहने उल्लेख गर्नुहुँदै बढुवासँगै बढेको पदीय जिम्मेवारीलाई अझ बढि उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिनुभयो ।

 सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आर्थिक अनियमितता लगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरेपनि क्षम्य नहुने उल्लेख गर्नुहुँदै समाजका सवै तहले कामको मुल्यांकन गर्ने भएको हुँदा संगठन, पेशा र मुलुकप्रति पूर्ण निष्ठावान भई समर्पित रहन निर्देशन दिनुभयो ।

 उहाँले बढुवा भएका अधिकृतहरुलाई ज्ञान, सीप, क्षमता र अनुभवको आधारमा थप जिम्मेवारी दिइएको बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपालमा पहिलो व्याचका
रुपमा नयाँ भर्ना भएका अधिकृतहरु पदोन्नति भएकोले यो एउटा ऐतिहासिक पदोन्नति भएको उल्लेख गर्नुभयो ।

 सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जहाँ जुन जिम्मेवारीमा रहेपनि त्यहाँ संगठनसँग सम्बन्धित हरेक पक्षहरुमा पथ प्रदर्शक र रोलमोडल बन्नु पर्ने उल्लेख गर्नुहुँदै संगठनले बिभिन्न पक्षहरुमा सुधारको योजनाहरु अघि सारेको र यस्ता योजनाहरु प्रभावकारी रुपमा गराउन सकल दर्जाका राष्ट्र सेवकहरूलाई निर्देशन दिनुभयो ।

 उहाँले संगठनलाई सेवा, सुरक्षा, सहयोग र उद्धार जस्ता कार्यहरुको माध्यमबाट सशक्त सुरक्षा संगठनको रुपमा उभ्याउन सबैले आ–आफ्नो तह र तप्काबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु हुँदै आफ्नो पेशागत जिम्मेवारी र संगठन प्रति पूर्ण निष्ठावान भई अनुशासित र इमान्दारितापूर्वक कार्यक्षेत्रमा अब्बल रुपमा प्रस्तुत हुनुपर्ने
बताउनुभयो ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्र प्रकश गौतम र बंशीराज दाहाल, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत र बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।