कार्यकर्ताको 'सेन्टिमेन्ट' बटुल्न राष्ट्रपतिको तुरुप ! कठिन परीक्षामा प्रचण्ड–माधव नेपाल

लोकसंवाद टिप्पणी

कार्यकर्ताको 'सेन्टिमेन्ट' बटुल्न राष्ट्रपतिको तुरुप ! कठिन परीक्षामा प्रचण्ड–माधव नेपाल

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १०, २०७९

देशको तेस्रो राष्ट्रपतिका लागि फागुन १३ गते मनोनयन दर्ता गरी २५ गते निर्वाचन हुँदैछ । अब राष्ट्रपतिको उम्मेदवारी दर्ताका लागि तीन दिन मात्रै समय बाँकी छ । मनोनयनको दिन नजिकिदैं गर्दा दलहरुको दौडधुप बाक्लिएको छ र अब सीमित विकल्पहरु मात्रै बाँकी छन् । 

१० पुसमा सरकार गठनका समयमा एमालेलाई राष्ट्रपति दिने सहमति भएको भनिए पनि अब त्यो सहमतिले काम नगर्ने सम्भावना बढेर गएको छ । त्यसैले अब एमालेले आफ्नै उम्मेदवार उठाउने भन्दा पनि सहमति हुनसक्ने व्यक्ति खोज्नुपर्ने दबाब बढेको छ । 

संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले आफ्नै उम्मेदवार उठाउने बताइरहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल वा पूर्वमहामन्त्री कृष्णा सिटौला काँग्रेसका सम्भावित उम्मेदवार हुन् । कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चाले समेत राष्ट्रपति निर्वाचनमा आफूहरुलाई साथ दिने कांग्रेस नेताहरुले दाबी गर्दै आएका छन् । 

काँग्रेसको मुख्य उद्देश्य २०७८ जेठमा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि बनेको पाँच दलीय गठबन्धनलाई ब्युँताउने र सोही बलमा राष्ट्रपति निर्वाचन जित्ने रणनीति रहेको देखिन्छ । यता आफ्नो हातबाट राष्ट्रपति पद उम्किने संकेत पाएपछि एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रपतिको उम्मेदवार खोजिरहेका छन् ।

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत राष्ट्रपति बनाउने प्रस्ताव गरेको विषयले बजार तताएको छ । । ओलीले आफूलाई राष्ट्रपति बनाउने संकेत पाएपछि नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल समेत गरिसकेका छन् । उनी ओलीले प्रस्ताव गर्दा माओवादी र काँग्रेसको साथ पाए राष्ट्रपति बन्ने मुडमा रहेको भनी प्रचार समेत गरिएको छ । 

 त्यसका लागि नेकपा एसलाई एमालेमा बिलय गराउनुपर्ने ओलीको सर्तलाई सँगसँगै बाहिर ल्याइएको  छ । अध्यक्ष नेपाल पनि एमालेसँग एकता गरेर आफू राष्ट्रपति बन्ने कि नबन्ने भन्ने  हतार र दबाव भने परेकाे सन्देश दिइरहेका छन्  । केही पदाधिकारी पनि अध्यक्ष नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएको र औपचारिक रुपमा राष्ट्रिय सहमति बन्ने अवस्थामा नेपाल राष्ट्रपति बन्न तयार रहनु पर्ने धारणा  राखिरहेका छन् । 

ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर  राष्ट्रपतिमा प्रस्ताव गरेको प्रचार-प्रसार गराएर परिदृश्य फेर्ने कोशिष भइरहेको छ । त्यसमाथि नेकपा एसलाई एमालेमा विलय गराउने अन्तिम समयमा र हतारोमा प्रचार-प्रसार गराएर कार्यकर्ताको 'सेन्टिमेन्ट' बटुल्न तुरुपले झनै ठूलो समस्या ल्याइ दिएको छ । अब पार्टी नै ओलीलाई जिम्मा लगाएर राष्ट्रपति लिने कि नलिने अध्यक्ष नेपाललाई धर्म संकट समेत  छ । 

तर नेकपा एसकै सम्मानित नेता झलनाथ खनालसहितका नेताहरु भने राष्ट्रपतिका लागि पार्टी बिलय नगराउने पक्षमा छन् । पार्टी एकता गरेर अघि बढ्न सकिने तर अहिले एकताको पनि सम्भावना कम रहेका बेला पार्टी नै बिलय गरेर पद नलिने नेकपा एसका नेताहरु बताउन थालेका  छन् । 

यता काँग्रेस भने सरकारबाट एमालेलाई हटाएर आफू पुग्ने र राष्ट्रपति पनि लिने दाउमा छ । यो भनेको १० पुसमा बिग्रिएको कोर्स करेक्सन हो । काँग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा सघाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग औपचारिक प्रस्ताव गरिसकेको छ । 

जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय गर्ने जानकारी गराएका थिए । सोही अनुसार सोमबार बैठक पनि बस्यो । तर बैठकले राष्ट्रपतिमा कसलाई सघाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई नै दिएको छ । काँग्रेसलाई राष्ट्रपतिमा सघाए बापत प्रचण्डले पाँच वर्ष सरकार चलाउन पाउने सम्भावना छ ।

माओवादीले सबै दलको सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिदै आएको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी, संसद्को पूर्ण कार्यकाल र शान्ति प्रक्रियाका सबै काम टुंगो लगाउने गरी सबै दलको सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने माओवादी केन्द्रको धारणा छ । 

एमालेलाई सभामुख दिएकाले शक्ति सन्तुलनका हिसाबले पनि राष्ट्रपतिमा एमाले बाहेकको शक्तिलाई ल्याउनुपर्ने प्रचण्डको जोड छ । त्यो भनेको काँग्रेस नै हो । कांग्रेस बाटै राष्ट्रपति भएमा संसदलाई पूरा कार्यकाल टिकाउन सकिने र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने प्रचण्डको योजना छ ।

संसदको पहिलो बैठकमै सम्बोधनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन ठीक भएको अभिव्यक्ति दिएपछि प्रचण्ड झस्किएका छन् । त्यसैले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान लिइरहेका छन् । 

एमालेबाट राष्ट्रपतिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमालको नाम चर्चामा थियो । तर ओली पोखरेल र रिमाल मध्ये एकलाई राष्ट्रपति बनाउने लाइनमा लागेपछि एमालेबाट राष्ट्रपति बन्ने सम्भावना कमजोर बनेको थियो । अहिले ओली विभिन्न विकल्पमा छलफलमा छन् ।

ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर  राष्ट्रपतिमा प्रस्ताव गरेको प्रचार-प्रसार गराएर परिदृश्य फेर्ने कोशिष भइरहेको छ । त्यसमाथि नेकपा एसलाई एमालेमा विलय गराउने अन्तिम समयमा र हतारोमा प्रचार-प्रसार गराएर कार्यकर्ताको 'सेन्टिमेन्ट' बटुल्न तुरुपले झनै ठूलो समस्या ल्याइ दिएको छ । अब पार्टी नै ओलीलाई जिम्मा लगाएर राष्ट्रपति लिने कि नलिने अध्यक्ष नेपाललाई धर्म संकट समेत  छ । 

संसद्को काँग्रेस पहिलो र एमाले दोस्रो शक्ति भए पनि राष्ट्रपति निर्वाचनमा तेस्रो दल माओवादी केन्द्र निर्णायक छ । भावी राष्ट्रपति कसलाई बनाउने भन्नेमा प्रचण्डको निर्णय महत्वपूर्ण हुनेछ । यस्तो अवस्थामा उनले आफ्नो त्यो शक्तिलाई कसरी प्रयोग गर्छन् भन्ने कुरा चासोका विषय बनेको छ । 

प्रचण्डले  विगतमा जस्तै निर्णायक शक्तिलाई सही ठाउँमा प्रयोग गरेर देशलाई निकास दिन्छन् वा शक्तिलाई स्वार्थमा प्रयोग गर्छन् हेर्न बाँकी छ । प्रचण्डलाई माधवकुमार नेपाल र रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनेको अवस्थामा कसलाई सघाउने भन्ने संकट देखिएको छ ।