मानव अधिकार सम्मेलनमा सहभागि हुन पूर्वप्रधानमन्त्री खनाल ढाका प्रस्थान

मानव अधिकार सम्मेलनमा सहभागि हुन पूर्वप्रधानमन्त्री खनाल ढाका प्रस्थान

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ११, २०७९

काठमाडौ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल सार्क हुने राइट्स फाउन्डेसनको आयोजनामा हुन गइरहेको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बंगलादेशमा मानव अधिकारको अवस्था नामक सम्मेलनमा सहभागि हुन ढाका प्रस्थान गर्नु भएको छ । 

ढाकामा हुने मानव अधिकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन आज मध्यान्ह १२‍.४० वजे विमान बंगलादेश एयरलाइन्सबाट उहाँ बङ्गलादेशको राजधानी ढाका प्रस्थान गर्नु भएको हो  । पूर्वप्रधानमन्त्री खनालको साथमा उहाँकी धर्मपत्नी रविलक्ष्मी चित्रकार, नेकपा (एकीकृत समाजवादी)  पार्टीका केन्द्रीय सदस्य ताज महम्मद मियाँ, नेकपा (एकीकृत समाजवादी)  पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा। शंकर खतिवडा रहनु भएको छ  । 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री खनालले भोलि ढाका स्थित सर्वोच्च अदालत परिषदमा आयोजित  मानव अधिकार सम्मेलन २०२३ लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुनेछ । भोलि शुक्रबार  पूर्व प्रधानमन्त्री खनाल र बंगलादेशकी सम्माननीय प्रधानमन्त्री शेख हसिनाको बिचमा शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । साथै, अन्य उच्चस्तरीय भेटवार्ताहरू पनि तय भएको खनालको सचिवालयले जनाएको छ  ।