राष्ट्रपति निर्वाचनमा उम्मेदवार तय भन्दा ध्यान चाहिँ गठबन्धन बनाउने/भत्काउने रस्साकस्सीमा !

लोकसंवाद टिप्पणी

राष्ट्रपति निर्वाचनमा उम्मेदवार तय भन्दा ध्यान चाहिँ गठबन्धन बनाउने/भत्काउने रस्साकस्सीमा !

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १२, २०७९

माघ २५ गते देशको तेस्रो राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । नेपालको संविधानले सेरेमोनियल भूमिका निर्धारण गरेको संवैधानिक राष्ट्रपतिको निर्वाचनको चर्चा भने कार्यकारी राष्ट्रपतिको निर्वाचनभन्दा पनि बढी भइरहेको छ । राष्ट्रपति निर्वाचनलाई लिएर प्रमुख पार्टी र नेताहरु दौडधुप गरिरहेका छन् भने छिमेकी देशको समेत सक्रियता बढिरहेको छ ।

राष्ट्रपति निर्वाचनलाई लिएर भारतका विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै चिनियाँ राजदूत सक्रिय छन् । जसले नेपालको राष्ट्रपति चयनमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा दबाब दिइरहेका छन् । 

बिहीबारमात्रै राष्ट्रपति निर्वाचनका बारेमा दुईपक्षीय र बहुपक्षीय छलफलहरु भए । जसमा पुरानो नेकपा ब्युँताउने पुरानो काँग्रेससहितको गठबन्धन ब्युँताउने सम्मका छलफल भएका छन् । नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका रुपमा विभाजित भएको नेकपालाई एकठाउँमा ल्याएर माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने विकल्पमा पनि छलफल भइरहेको छ ।

यो विकल्प अहिलेको सत्ता गठबन्धनलाई पनि टिकाउने विकल्प हुनसक्छ । यसैगरी काँग्रेससहितको गठबन्धन ब्युँताउने र काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएर माधवकुमार नेपाललाई यो संसदको कार्यकालको अन्तिमका एकदेखि डेढ वर्ष चुनावी सरकारको नेतृत्व गर्न दिने विकल्पमा समेत छलफल भइरहेको छ ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले राष्ट्रपतिमा माधवकुमार नेपाललाई अघि सार्ने साझा धारणा बनाएका छन् । यो प्रस्तावमा शुक्रबार एमाले काँग्रेस दुवै दलसँग छलफलको तयारी छ । 

बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७२ औं जन्मदिन मनाउन बालकोटमा बिहानैदेखि कार्यक्रम र भेटघाटमा व्यस्त रमाइरहँदा अन्य दलहरु राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाउन भन्दा पनि ध्यान  गठबन्धन बनाउने/भत्काउने रस्साकस्सीमा व्यस्त थिए । 

यही बेला प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने दिनभर व्यस्त रहे । बिहीबार बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग, दिउँसो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग भेट गरे । यी भेटपछि उनले फेरि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेतासँग वार्ता गरे ।

माओवादीले राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गर्छ या माधवकुमार नेपाललाई अघि बढाउँछ यो बारेमा अन्तिम निर्णय हुन बाँकी छ । तर काँग्रेस राष्ट्रपति नछाड्ने मुडमा रहेका कारण माधवकुमार नेपालको व्यवस्थापन शक्ति बाँडफाँटमा हुने सम्भावना पनि छ ।

बिहीबार साँझ तीन दलको छलफल भयो र माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सार्ने सहमति गरे । यस विषयमा भोलि काँग्रेससहितको बैठक बस्नेछ । यो बैठकले पुरानो पाँच दलीय गठबन्धन ब्यूँताउन सक्ने सम्भावना रहेको नेताहरुको भनाई छ । यो गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टीले दाबी गरेको छ ।

माओवादीले राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गर्छ या माधवकुमार नेपाललाई अघि बढाउँछ यो बारेमा अन्तिम निर्णय हुन बाँकी छ । तर काँग्रेस राष्ट्रपति नछाड्ने मुडमा रहेका कारण माधवकुमार नेपालको व्यवस्थापन शक्ति बाँडफाँटमा हुने सम्भावना पनि छ । 

अब शुक्रबार दलहरुबीच पाँच दलीय गठबन्धन ब्यूँतिएको अवस्थामा कसरी अघि बढ्ने र अहिलेको गठबन्धनलाई निरन्तरता दिने अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ । शनिबार राष्ट्रपति निर्वाचनका लागि मनोनयन रहेका कारण शुक्रबार या शनिबार बिहानसम्म राष्ट्रपति उम्मेदवारहरुको टुंगो लागि सक्नुपर्नेछ । माओवादी जसपालाई संसदीय समितिको सभापति दिएर उपराष्ट्रपति आफूसँग राख्ने योजनामा छ । तर जसपा अध्यक्ष उपेन्द्र यादव उपराष्ट्रपति लिएर आफू निकट सांसद रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर उनको स्थानमा उपचुनाव मार्फत संसद छिर्ने योजनामा छन् ।

त्यसैले जसपाको व्यवस्थापन प्रचण्डका लागि चुनौतीपूर्ण छ । किनकि यदि पुरानो गठबन्धन ब्युँताउने अवस्थामा जसपालाई नमिलाउँदा एमालेसँग मिल्ने सम्भावना हुन्छ । एमालेसँग जसपा मिल्न गएको अवस्थामा सरकारको बहुमत पु¥याउन कठिन हुनसक्नेछ । त्यसैले प्रचण्ड यो अप्ठ्यारोबाट पनि बच्न चाहन्छन् । 

त्यसो त शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्दैछन् । तर यो छलफल औपचारिकताका लागि मात्रै हुनसक्ने नेताहरु बताउँछन् । त्यसो त प्रचण्ड र माओवादी केन्द्रका अन्य नेताहरुले कांग्रेस नेतृत्वको गठबन्धन ब्यूँताउन लागेको कुरा स्वीकार गरेका छैनन् । भोलि बिहानको बैठकमा काँग्रेससहितका दलहरुबीच कुरा मिलेमा एमाले अध्यक्ष ओलीसँगको भेट अर्थहीन हुनेछ । माओवादी नेताहरु कांग्रेस, जसपा, एकीकृत समाजवादीसँग मिलेर जान सहमत रहेको बताउँछन् । यस्तो अवस्थामा ओली–प्रचण्ड भेट चुनावी मैदानमा फेरि भेट्ने गरी छुट्नका लागि सीमित हुनसक्छ । 

संसदको अघिल्लो कार्यकालदेखि नै पदका लागि विभाजित भएका र विभिन्न गठबन्धन बनाउन थालेका दलहरु यसपटक फेरि पदकै लागि गठबन्धन बनाउने र भत्काउने कसरतमा लागेका छन् । यसअघिका राष्ट्रपतिले खेलेको कार्यकारीजस्तो भूमिकाका कारण पनि यसपटक राष्ट्रपतिका लागि ठूलो रस्साकस्सी भएको छ । प्रधानमन्त्री चयनले एउटा गठबन्धन बनायो भने राष्ट्रपतिको निर्वाचनले नयाँ गठबन्धन बनाउने सम्भावना बढेको छ । त्यसमाथि विदेशी शक्तिको चलखेलले राष्ट्रपति निर्वाचन साँच्चै रोचक मोडमा पुगेको छ ।