दिगो सडक र सुरक्षित यातायातको लागि सुदुरपश्चिमको धनगढी घोषणापत्रको तयारी

दिगो सडक र सुरक्षित यातायातको लागि सुदुरपश्चिमको धनगढी घोषणापत्रको तयारी

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १३, २०७९

कैलाली ।  भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ' नेशनल रोड सेफ्टी काउन्सिल नेपाल' को आयोजना, नासा नेपालको संयोजन र नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा सडक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय जनचेतनामुलक कार्यक्रम यहि फागुन १२ गते धनगढीमा सम्पन्न भएको छ । 

सुदुरपश्चिम प्रदेशका पेशागत, व्यवसायिक तथा सामाजिक क्षेत्रका ८० जनाको सहभागीता रहेको सो कार्यक्रममा प्रदेशकै पूर्वाधार नीति, कार्यक्रम तथा सुरक्षित यातायातको लागी विभिन्न कार्यपत्रहरु मा छलफल भएको  जनाइएको छ । 

नासा नेपालका अनुसार कार्यक्रममा सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, ,प्रदेश सभा सदस्य तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालका सहसंयोजक शिव सिंह ओलीले यातायातको क्षेत्रमा नयाँ ढंगले अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेशनका सदस्य  गोबिन्द भट्टराईले आजका यातायात क्षेत्रका मुख्य एजेन्डा र सडक सुरक्षा दशक २०२१- ३० को बारेमा , पूर्व प्रहरी अधिकारी तथा सडक सुरक्षा विज्ञ बिपिन गौतमले सुरक्षित सडकको प्राविधिक पक्ष बारे र अटोमोबाइल इन्जिनियर सुयोग खनालले मोटर साइक्लिस्ट सुरक्षा र सुरक्षित हेल्मेटको बारेमा प्रस्तुती दिनुभएको थियो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसीराम भट्टराईले सडक सुरक्षाको लागी मन्त्रालयको धारणा राख्नुभएको थियो भने विभिन्न पेशागत तथा व्यवसायीका प्रतिनिधिले आ-आफनो धारणा राख्नुभएको थियो ।

साथै कार्यक्रममा सुदूरपश्चिमम मोटरसाइक्लिङ्ग सेफ्टीको सन्देश तथा 'Two Wheel Touring In Nepal'  को प्रमोशन गर्ने उद्देश्यले प्रदेशको ९ वटै जिल्लामा मोटरसाइकलमा निस्किएका गोदावरीका राइडर भरतविक्रम शाहलाई सेफ्टी राइडिङ्गको सन्देश स्वरुप सामाग्री तथा प्रदेशको नौ जिल्लाको संकेत स्वरुप'Two Wheel Touring In Nepal'  विषयक म्यानुअल ९ थान हस्तान्तरण गरियो । भौतिक पूर्वाधार विकास मन्त्रीद्वारा  अन्तर्राष्ट्रिय मोटरसाइक्लिङ्ग फेडेरेशन (एफ आइ एम) र नासा नेपालको झण्डा प्रदान गर्नुभयो भने कार्यक्रमको अन्त्यमा दिगो सडक र सुरक्षित यातायातको लागी सुदुरपश्चिम प्रदेश एलाएन्स को ११ सदस्यीय कार्य समुह गठन समेत गठन  गरिएको छ । 

सुदुरपश्चिम प्रदेशका पेशागत व्यवसायिक तथा कल्याणकारी संघ संस्थाहरु र विज्ञहरुको सो वृहत सम्मेलनले धनगढी घोषणापत्र  तयार गर्ने निर्णय गरिएको जनाएको छ  ।