तेह्रथुमको हात्तीखर्कमा आगलागीमा १४ घर जलेर पूर्ण रूपमा नष्ट

तेह्रथुमको हात्तीखर्कमा आगलागीमा  १४ घर जलेर पूर्ण रूपमा नष्ट

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १३, २०७९

तेह्रथुम ।  तेह्रथुमको आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते हुनुभएको छ । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ । 

तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिनुभयो । आगलागीबाट नौ परिवारको ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । 

आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ । दधिराम वाइबाको घरमा बस्दै आउनुभएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आउनुभएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आउनुभएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ । राईबहादुर तामाङ, डिकमान तामाङ, शङ्खर योञ्जन, जसबहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेर नष्ट भएको छ । 

आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया जलेर मरेका छन् । आठराईको सुख्खाग्रस्त क्षेत्रमा रहेको हात्तीखर्कमा हरेक वर्ष आगलागी हुने गरेको छ । 

बस्तीमा पानीको अत्यन्तै समस्या र फुसको छाना रहेका घर भएकाले बस्ती सखाप हुँदा ठूलो क्षति भएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो । तमोर नदी किनारको जङ्गलबाट सुरू भएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा सो क्षति भएको हो । 

अहिले बस्तीमा लागेको आगो नियन्त्रणमा आएको छ  । जङ्गलमा लागेको आगो भने नियन्त्रणमा छैन । फिदिम नगर पालिकाको दमकल, प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदा नजिकका अन्य बस्ती समेत जोखिममा छन् । क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।