ज्ञवाली दाजुभाइको ५२ रोपनीमा गोलभेँडा खेती : करिब दुई लाख मासिक आम्दानी

ज्ञवाली दाजुभाइको ५२ रोपनीमा गोलभेँडा खेती : करिब दुई लाख मासिक आम्दानी

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १३, २०७९

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ का ज्ञवाली परिवारले गोलभेँडा (टमाटर) बाटै मनग्य आम्दानी गर्दै आउनुभएको छ । कमल र कपिल ज्ञवाली दाजुभाइले मिलेर आफ्नै घरबारीमा गोलभेँडा खेती गरिरहनुभएको छ ।

दुई दाजुभाइसँगै घरपरिवारका सबै मिलेर व्यवसायिक कृषिमा लाग्नुभएको छ । उहाँहरुले अहिले दाजुभाइ कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर  गोलभेँडा खेती गरिरहनुभएको छ । ज्ञवाली परिवारका छ जना खटेर गोलभेँडा खेतीलाई अहिले ५२ रोपनी जग्गामा विस्तार गर्नुभएको छ । उहाँको बारीबाट अहिले वार्षिक आठदेखि नौ सय क्विन्टल गोलभेँडा बिक्री हुँदै आएको छ । उहाँको फार्मबाट हाल प्रतिकिलो रु ७० देखि ७५ मा गोलभेँडा बिक्री हुन्छ । मूल्य घटबढ भए पनि गोलभेँडाको लागि बजारीकरणको कुनै समस्या नभएको दाजु कमलले बताउनुभयो ।

व्यवसायको सुरुआती चरणमा भएको क्षति पूरा गरेर अहिले पनि मासिक रुपमा एकदेखि दुई लाख खर्च कटाएर बचत हुने गरेको कमलले बताउनुभयो । 'हप्तामा तीनदेखि चार पटक गोलभेँडा गाडीमा बुटवल पठाउँछौँ, एक पटकमा एक लाख बराबरको जाने गर्दछ' ,' उहाँ भन्नुहुन्छ, ' खेतीमा परिवारका सबै सदस्य खट्छौँ, खर्च कटाएर पनि मासिक रु एक/दुई लाख आम्दानी हुन्छ' , उहाँले भन्नुभयो ।'  लगातार मेहनत गर्नेहरु व्यावसायिक रुपमा कृषिमा प्रेरित हुनुपर्ने कमलको भनाइ छ ।

दाजुभाइ कृषि फार्मलाई संरक्षित संरचनामा प्राङ्गारिक तरकारी उत्पादन कार्यक्रमका लागि गत आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा रु चार लाख सहयोग गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो । उहाँले व्यावसायिक कृषिमा लागेर अरुलाई पनि उदाहरण दिन सक्नेलाई प्रोत्साहित गरिरहेको बताउनुभयो । 

कृषि क्षेत्रमा परिवार सबै मिलेर खेती गरी उदाहरण दिँदै मनग्य आम्दानी गरिरहेको कमल र कपिललाई कृषि ज्ञान केन्द्रले उत्कृष्ट कृषकमा छनोट गरी सम्मान गरेको थियो । साथै दाजु कमल २०७९ को संविधान दिवसको अवसरमा नेपाल सरकारबाट विकास रतन पदकबाट विभूषित समेत हुनुभएको थियो ।