कारागारभित्र मदिरा सेवनसहित जुवा तास ! इलाम प्रशासनद्वारा समिति गठन गरी छानबिन सुरु

कारागारभित्र मदिरा सेवनसहित जुवा तास ! इलाम  प्रशासनद्वारा  समिति गठन गरी छानबिन सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १७, २०७९

इलाम । इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ । 

  समिति नै गठन गरेर छानबिन सुरु गरिएको  जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।  सञ्चारमाध्यममा कैदीहरूले कारागारभित्र नै मदिरा सेवन गर्दै गरेको भिडियो सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयका अधिकृत हरिकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो । 

सो समितिले काम थालिसकेको संयोजक थापाले बताउनुभयो । भिडियो कहिलेको हो र को–को व्यक्ति यसमा संलग्न थिए भन्ने विषयमा छानबिन हुने साथै आवश्यक कारबाही अगाडि बढाइने बताइएको छ । 

कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न नपाइने भए पनि कारागारभित्र खुलेआम सो कार्य भइरहेको भिडियो बाहिरिएको हो । इलाम कारागारमा भने कानुनले वर्जित गरेका मदिरा सेवन, जुवातास तथा मोबाइल फोन समेतको प्रयोग हुने गरेको र यसमा कर्मचारीको समेत संलग्नता रहेको शङ्का गरिएको छ । 

    जेलर सुमित मगरले उक्त भिडियो कारागारभित्रकै रहेको स्वीकार गर्नुभयो । उहाँले यो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदीबन्दी अहिले पनि यही रहेको तथा केही छुटेका र  सरुवा भएर गइसकेका बताउनुभयो । कारागारको क्षमता एक सय २५ जना क्षमताको भए पनि हाल यहाँ दुई सय ८० छन् ।