सीमा सुरक्षाको चुनौतीहरूलाई सुक्ष्म ढंगले अध्ययन गरी चुस्त, दुरुस्त कार्य गर्न निर्देशन

सीमा सुरक्षाको चुनौतीहरूलाई सुक्ष्म ढंगले अध्ययन गरी चुस्त, दुरुस्त कार्य गर्न निर्देशन

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १८, २०७९

 काठमाडौँ।  सशस्त्र प्रहरी बलका   निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल नेपालका बाहिनी, राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा शिक्षालयहरूमा प्रमुखको रुपमा जिम्मेवारी पाएका सशस्त्र प्रहरी नायव महानिरीक्षक र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरूलाई संगठनको लक्ष्य र उद्देश्य अनुरुप कार्य गर्न निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक तथा  सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा फागुन १७ गते निर्देशन सम्बोधन कार्यक्रममा उहाँले नेतृत्वमा रहँदा आफु मातहतका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत जिम्मेवारी बोधका साथ कार्य गर्न प्रेरित गर्नुपर्ने उल्लेख गर्नुहुँदै संगठनको लक्ष्य, उद्देश्य र योजनामा रहेर उच्च स्तरको जिम्मेवारी बोधका साथ कार्य गर्न निर्देशन दिनुभयो ।

अतिरिक्त महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका इकाईहरुको आधारभूत आवश्यकताको व्यवस्थापनलाई तीब्रता दिनुपर्ने उल्लेख गर्नुहुँदै बडी मास इन्डेक्स (बिएमआई) का आधारमा स्वास्थ्य वर्गीकरण सम्बन्धी कार्यविधि, २०७९ अनुसारको मापदण्डलाई प्राथमिकताकासाथ लागू गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले सीमामा हुने अवैध गतिविधि, चोरी तस्करी निकासी नियन्त्रणमा गम्भिर भएर लाग्न र आर्थिक पारदर्शितामा शुन्य सहनशीलताको नीति अवलम्वन गरी मानवअधिकारको पूर्ण पालना गर्दै कर्तव्य निर्वाहमा कटिवद्ध रहन निर्देशन दिनुभयो । उहाँले अन्य सरोकारवाला निकाय र सुरक्षा निकायहरुसँग समन्वय, सहकार्य र सहयोगमा कार्य गर्नुपर्ने बताउनुहुँदै भेटघाट आचारसंहिताको समेत पूर्ण पालना गरी कुनैपनि प्रकारका जन गुनासोहरु नआउने गरी कार्य गर्न निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरणको लागि समुदायमा आधारित जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आफ्नो क्षेत्राधिकार भित्रको संवेदनशीलता, प्रकृती र विपद् सँग सम्बन्धित प्रति कार्य योजनाहरु बनाउँदै अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले सूचना श्रोतको विकास गर्दै स्वच्छ र निष्पक्षताका साथ मानवअधिकारको सम्मान गर्दै कुनै पनि प्रकारको कमीकमजोरी नआउने गरी कार्य गर्न निर्देशन दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमा क्षेत्रका हरेक गतिविधिहरुलाई उच्च सतर्कता र चनाखो भई समकक्षीहरुसँग
समन्वय र सहकार्यमा सीमा सुरक्षा व्यवस्थापन, चोरी तस्करी नियन्त्रण लगायतका कार्यहरु त्रुटि रहित ढंगबाट निर्वाह गर्नुपर्ने बताउनुहुँदै सीमा सुरक्षाको चुनौतीहरूलाई सुक्ष्म ढंगले अध्ययन गरी चुस्त, दुरुस्त कार्य गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाल सरकार (सम्माननीय प्रधानमन्त्री एवं गृहमन्त्री स्तर)को यही फागुन १४ गतेको निर्णयले वाहिनीपति, रा.स.प्र.बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा तालिम शिक्षालयहरूमा समादेशकको रुपमा खटिई जान लाग्नुभएका सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरू लगायत सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।