सत्ता स्वार्थ: अवैध गर्भाधानबाट बनेको पार्टी र नाम लिँदा नि 'मुख कुल्ला' गर्नुपर्ने नेतासँग एमालेको लर्को !

सत्ता स्वार्थ: अवैध गर्भाधानबाट बनेको पार्टी र नाम लिँदा नि 'मुख कुल्ला' गर्नुपर्ने नेतासँग एमालेको लर्को !

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १९, २०७९

राष्ट्रपतिका लागि पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको एमालेको प्रतिनिधि मण्डल बिहीबार एकीकृत समाजवादीको कार्यालयमा भोट माग्न पुग्यो । अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग मत मागिसके पछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘कुनै काम समयमा गरिएन भने त के हुन्छ र पानी बगि सक्छ, त्यसपछि खोला हार्नुको विकल्प हुँदैन ।’ 

यसको सिधा अर्थ थियो एमाले ढिला भयो हामीले राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरिसक्यौं । एकीकृत समाजवादी काँग्रेस नेता पौडेलको प्रस्तावक पार्टी समेत भएकाले एकीकृत समाजवादीले पौडेललाई मत दिने निश्चित छ ।

तर एमालेका उम्मेदवार नेम्वाङसहितको टोली औपचारिकताका लागि पनि एकीकृत समाजवादीको कार्यालयमा पुगेको हो । एमालेबाट डेढ वर्ष अघिमात्रै अलग भएको एकीकृत समाजवादी प्रति एमाले नेताहरुको विगतको तीखो टिप्पणीले अझै पनि दुई पार्टीबीच मैत्रीपूर्ण सम्बन्ध बन्न सकिरहेको मात्र होइन पार्टीका रुपमा स्विकार गर्न सकिरहेको थिएन । 

तर  एमाले अध्यक्ष केपी शर्मा ओलीले हालैमात्र  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी एमालेमा एकता गराएर राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गर्नुका साथै  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई  सम्बोधन नै गरेर पत्र लेखे पछि दुई पार्टीका नेताहरु बिच छलफल सहज भएको हो । 

 तर एकीकृत समाजवादी  त्यसो गर्नुभन्दा पहिला नै  पुरानो गठबन्धन ब्युँताउने अभियानमा लागि पर्‍यो । पार्टीभित्रको चरम अपमानको पिडाबोध गर्दै नेपालले आफैंले १५ वर्षसम्म नेतृत्व गरेको पार्टी एमालेबाट २०७८ भदौमा विभाजित भएर नयाँ पार्टी खोल्ने बाध्य पारिएको थियो । नेपालका लागि यो निर्णय सहज थिएन । तर उनले एमालेमा ओलीको दमनचक्र सहेर बस्नुभन्दा नयाँ पार्टी खोल्नु जायज ठाने ।

पौडेललाई काँग्रेस र माओवादीसहित ८ दलको समर्थन छ । नेम्वाङको पक्षमा एमालेबाहेक हालसम्म खुलेर कोही लागेका छैनन् । पछिल्लो कार्यकालमा राष्ट्रपति विद्या भण्डारीको संविधान बाहिरबाट हस्तक्षेप र प्रतिनिधिसभा विघटनजस्ता निर्णयमा लिएको अविवेकी निर्णयले राष्ट्रपति निर्वाचन पेचिलो बन्यो ।

एमाले विभाजनको केही समयपछि एमालेले महाधिवेशन गर्‍यो । कुनै पार्टीले महाधिवेशन गर्दा शुभकामना दिनका लागि प्रतिस्पर्धी पार्टीका नेताहरुलाई शुभकामना दिन बोलाउने समान्य चलनको परिपालन गरेन अर्थात् तर एमालेले एकीकृत समाजवादीलाई मान्यता दिएन र महाधिवेशनमा बोलाएन । काठमाडौंको अल्फाबिटामा महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमालेका सचिव योगेश भट्टराईले सबै पार्टीलाई निम्ता गरिएको तर अवैध गर्भाधानबाट जन्मिएका पार्टीलाई महाधिवेशनमा नबोलाएको टिप्पणी गरे ।

यसको सिधा अर्थ थियो, सभामुख र काँग्रेससहित तत्कालीन सत्ता गठबन्धनको साँठगाँठमा जन्मिएको एकीकृत समाजवादीलाई बोलाउदैनौंं । त्यसबीचमा पनि एमाले अध्यक्ष ओलीले नेपालको  नाम लिँदा पनि 'मुख कुल्ला'  गर्नुपर्ने जस्ता अत्यन्तै तुच्छ, घृणित र आपत्तिजनक शब्दहरु प्रयोग गर्न स्तरमा झरे । जुन कुरा मुलुकको नेतृत्व गरिसकेको  जिम्मेवार पार्टीको एमाले अध्यक्ष जस्तो पदमा बसेको व्यक्तिबाट अपेक्षित थिएन ।

 जसले गर्दा एकीकृत समाजवादीका अध्यक्ष नेपाल लगायतका नेतालाई एमालेले धेरै चिढ्याएको छ । तर बिहीबार एमाले नेताको लर्को समाजवादीको कार्यालयमा पुग्दा नेपालीमा रहेको एउटा उखान ‘......फालेका काठ पनि काम लाग्छ’ भनेजस्तै भयो । एकीकृत समाजवादीले भने काँग्रेसका उम्मेदवारको प्रस्तावक रहेका कारण उतै मत दिने स्पष्ट जवाफ दिएको छ ।यद्यपि एकीकृत समाजवादीलाई स्वीकार समेत नगरेको एमाले अन्ततः सत्ता स्वार्थका नजिक हुन बाध्य भएको छन् । यसलाई एकीकृत समाजवादीले सकारात्मक  त भनेको छ । यसले दुई पार्टीबीच आगामी दिनमा नयाँ सहकार्यको ढोका खोल्ने सम्भावनाको ढोका भने खोलि दिएको छ  । 

 राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार छन्, काँग्रेस नेता रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ । तनहुँका पौडेल २०१८ सालदेखि निरन्तर राजनीतिमा छन् । आफ्नो राजनीतिक यात्रा अवधिभर पटकपटक गरी उनले १५ वर्ष जेल जीवन बिताएका थिए ।

काँग्रेसको कार्यवाहक सभापति समेत बनेका पौडेलले उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रायलको जिम्मेवारी पनि सम्हालेका थिए । उनले प्रधानमन्त्री बन्न १७ पटक प्रतिस्पर्धा गरेर पनि सफल हुन नसकेका व्यक्ति हुन । 

पौडेल २०५१ देखि २०५५ सम्म सभामुख थिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा पौडेलका प्रतिस्पर्धी बनेका छन् सभामुखकै जिम्मेवारी बहन गरेका अर्का नेता– सुवासचन्द्र नेम्वाङ।

उनले २०३५ सालदेखि २०५२ सालसम्म नेपाल ल क्याम्पसमा पढाए । कानुन व्यवसायमा समेत सक्रिय रहेका उनले २०२८ साल देखि नै सुरु गरेको राजनीतिक यात्रामा कहिल्यै ‘ब्रेक’ लिएनन् । २०५२ सालमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भए । संविधान र कानुनका ज्ञाता नेम्वाङ सभामुख हुँदै दुई वटै संविधानसभा अध्यक्ष भए । उनी हाल एमाले उपाध्यक्ष छन् । 

अब पौडेल र नेम्वाङ मध्ये एक जना देशको तेस्रो राष्ट्रपति बन्नेछन् । दुवै नेता यतिबेला मत माग्न व्यस्त छन् । पौडेलले पनि सांसदलाई चिठी नै लेखेर मत मागिसकेका छन् । दुवै नेताले सभामुखको समेत भूमिका निभाएकाले आगामी राष्ट्रपतिका रुपमा उनीहरुले खेल्ने भूमिकालाई चासोका साथ हेरिएको छ ।

पौडेललाई काँग्रेस र माओवादीसहित ८ दलको समर्थन छ । नेम्वाङको पक्षमा एमालेबाहेक हालसम्म खुलेर कोही लागेका छैनन् । पछिल्लो कार्यकालमा राष्ट्रपति विद्या भण्डारीको संविधान बाहिरबाट हस्तक्षेप र प्रतिनिधिसभा विघटनजस्ता निर्णयमा लिएको अविवेकी निर्णयले राष्ट्रपति निर्वाचन पेचिलो बन्यो ।

अब दुवै नेता एकीकृत समाजवादीले भनेजस्तै समयमै आफ्नो भूमिका र जिम्मेवारी पूरा गर्ने दिशामा जान्छन् वा पानी बगेपछि खोला हेर्न पुगे जस्तै संविधान मिचिएको टुलुटुलु हेर्छन्, त्यसले पौडेल र नेम्वाङको भविष्य निर्धारण गर्नेछ ।