भ्रष्टाचार विरुद्ध सांसदहरूको विश्वव्यापी संगठन: सांसदहरूबिच 'राष्ट्रिय कार्यादेश सम्बन्धी’ छलफल

भ्रष्टाचार विरुद्ध सांसदहरूको विश्वव्यापी संगठन: सांसदहरूबिच 'राष्ट्रिय कार्यादेश सम्बन्धी’ छलफल

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १९, २०७९

काठमाडौँ । भ्रष्टाचार बिरुद्ध सांसदहरुको विश्वव्यापी संगठन  नेपाल च्याप्टरले आज संघीय संसदसँगको सहकार्यमा ‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू सँग भ्रष्टाचार विरूद्ध अन्तर्राष्ट्रिय अभियान र राष्ट्रिय कार्यादेश सम्बन्धी’ विशेष  छलफल सम्पन्न गरेको छ ।  

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न   कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालगायत विभिन्न दलका प्रमुख सचेतक, संसदीय दलका नेताहरुको सहभागिता रहेको थियो । संसद भवनको ल्होत्से हलमा अयोजना गरिएको कार्यक्रममा ६५ जना सांसदहरुको सहभागिता सम्पन्न  कार्यक्रमको अध्यक्षता  भ्रष्टाचार बिरुद्ध सांसदहरुको विश्वव्यापी संगठन  नेपाल च्याप्टर  अध्यक्ष जगन्नाथ खतिवडाले गर्नुभएको थियो । 

सो अवसरमा भ्रष्टाचार बिरुद्ध सांसदहरुको विश्वव्यापी संगठनको अभियानका बारेमा संक्षिप्त प्रस्तुति पछि विस्तृत छलफल भएको थियो । उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा हुँदै आएका भ्रष्टाचार, अनियमितता र कमीकमजोरीको उदाहरण दिदै भ्रष्टाचार भ्रष्टाचार बिरुद्ध सबै मिलेर लडाई लड्नुपर्ने र सो अभियानमा प्रतिनिधिसभाको तर्फबाट जे जस्तो सहयोग चाहिन्छ आफू तयार रहेको प्रतिबद्धता जनाउनु भएको थियो । 

साथै प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले भ्रष्टाचार विरुद्ध लड्न आफ्नो इमान्दारिता र प्रतिवद्धताबाट शुरु गर्नुपर्ने बताउनु भयो । साथै उहाँले सार्वजनिक पद धारण गरेका व्यक्तिले कानुनी व्यवस्था अनुसार समयमा सम्पत्ति विवरण बुझाउनु पर्ने र सम्पत्ति घटबढ भएको बारेमा अनिवार्य प्रभावकारी रुपमा जाँच गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरुको प्रभावकारीता बढाउन सबैले सोच्नुपर्ने समय आएको बताउनु भयो । साथै भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्न ढिलो गर्न नहुने बताउनु भयो । 

त्यसैगरी, कार्यक्रमका अध्यक्ष जगन्नाथ खतिवडाले विश्वव्यापी रुपमा भ्रष्टाचारविरुद्ध सांसदहरु संगठित हुन थालेकाले हामीले पनि भ्रष्टाचार बिरुद्ध सांसदहरुको विश्वव्यापी संगठनको मञ्चका माध्यमबाट सो अभियानमा सक्रियता बढाउनु पर्ने बताउनु भयो । साथै असल सांसद भए असल सरकार बन्छ, असल सरकारले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सक्छ । त्यसैले भ्रष्टाचार नियन्त्रण गर्न सांसदहरुले अहम् भूमिका खेल्न सक्छन् भन्दै सांसदहरुको खबरदारी बढाउनु पर्ने बताउनु भयो । साथै उहाँले गोप्याक नेपाल च्याप्टरको सचिवालय संसद भवनमै व्यवस्थापन गरेर प्रतिनिधि सभा र राष्ट्रिय सभाले यस अभियानलाई आत्मसात गरी भ्रष्टाचारविरुद्ध संसदीय खबरदारी बढाउनु पर्ने सुझाव दिनुभएको थियो । उहाँले गोप्याकमा आवद्ध हुन सबै सांसदहरुलाई आव्हान पनि गर्नुभयो । 

कार्यक्रममा सांसदहरु क्रमशः रोशन कार्की, मंगलप्रसाद गुप्ता, एकनाथ ढकाल, ज्ञानेन्द्र शाही, अम्बरबहादुर थापा, लक्ष्मी तिवारील, राजेन्द्रलक्ष्मी गैरे, सुमना श्रेष्ठलगायतले आआफ्नो धारणा राख्नु भएको थियो । सांसद मेटमणी चौधरीले स्वागत मन्तब्य राख्नु भएको सो कार्यक्रममा राष्ट्रिय सभाकी सांसद तथा गोप्याक नेपालकी सदस्य कमला पन्तले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।