कोसी प्रदेश नामकरणप्रति जसपाको विरोध :लिम्बुवान किरात शेर्पालुङ प्रदेशको पक्षमा

कोसी प्रदेश नामकरणप्रति जसपाको विरोध :लिम्बुवान किरात शेर्पालुङ प्रदेशको पक्षमा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २०, २०७९

काठमाडौँ ।  जनता समाजवादी पार्टी, नेपालको प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले प्रदेश १ को नाम कोसी प्रदेश राखेकोप्रति आपत्ति जनाएका छन् । फागुन १७ गते प्रदेश अध्यक्ष दीपक याक्खा र १९ गते पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी कोसी प्रदेश नामकरणको बिरोध गरेका हुन् । 

‘कोसी प्रदेश हुनुपर्छ भनेर कहि कतै आन्दोलन भएन । कहि कतैबाट नमागेको नाम जवरजस्ती थोपर्नु कत्तिको न्यायोचित हुन्छ ? प्रदेशको नाम ऐतिहासिक थातथलो, भाषा, संस्कार संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी लिम्बुवान किरात शेर्पालुङ प्रदेश हुनुपर्छ भन्ने जसपा, नेपालले राख्दै आएको छ । ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नामकरण नभएसम्म बलिदानीपूर्ण संघर्षका लागि होमिन बाध्य हुने छौँ,  बुधबार अध्यक्ष याक्खाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  

शुक्रबार पार्टी सम्बद्ध पहिचानमा आधारित राष्ट्रिय समितिले विज्ञप्ति जारी गरी ‘षड्यन्त्रपूर्वक कोसी प्रदेश नामकरण पछि त्यो क्षेत्रको राजनीतिक कोर्स परिवर्तन भएको र यस भूमिमा विद्रोहको दिर्घकालिन विजारोपण गरेको उल्लेख गरिएको छ । सबै सरोकारवालाहरुसँग मिलेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने तथा घोषित कार्यक्रमहरुप्रति समर्थन रहने विज्ञप्तिमा उल्लेख छ । 

साथै जसपा, नेपालको सांसदलाई मत दिन बञ्चित गरिएको भन्दै यस बारेमा सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायसँग विज्ञप्तिमार्फत माग गरिएको छ ।