राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका मतदातालाई  परिचय पत्र अनिवार्य

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका मतदातालाई  परिचय पत्र अनिवार्य

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २०, २०७९

काठमाडौँ । निर्वाचन आयोगले एक प्रेस विज्ञप्ति जारी गरी  २०७९ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र २०७९ चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा आयोगबाट निर्णय भएको  जानकरी दिएको  छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार  राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसदका सदस्य र प्रदेश सभाका सदस्य रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानूनी व्यवस्था छ ।

दुबै निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूलाई निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र वा, नेपाली नागरिकताको प्रमाण पत्र वा, सम्बन्धित संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र वा, निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा मतदान गर्ने व्यवस्था आयोगले गरेको छ ।