निङ्लाडीमा रहेको जङ्गलमा फस्टाउँदो कालिजपालन व्यवसाय

निङ्लाडीमा रहेको जङ्गलमा  फस्टाउँदो कालिजपालन व्यवसाय

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २०, २०७९

कैलाली । कैलालीको चुरे गाउँपलिका–५ निङ्लाडी सुन्दर क्षेत्र हो । यहाँको हरियाली जङ्गल बीचमा चारैतिर घेराबारा गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर–चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन् । तराई क्षेत्रबाट चुरे खानीडाँडा पुग्ने धेरैजसोले कालिज फार्म अवलोकन गर्छन् । 

परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा कालिज पालन गरेर बस्नुभएका कैलाली टीकापुरका ३२ वर्षीय विकास न्यौपाने फार्ममै व्यस्त हुनुहुन्छ । उहाँ कालिजमात्र होइन, कुखुरा, लौकट र टर्की पाल्नुहुन्छ । कालिजपालन गर्ने उद्देश्यले फार्ममा पुग्नेलाई सल्लाह दिनुहुन्छ । 

कालिज पालनबाट घाटा नहुने उहाँको अनुभव छ । ' कालिज पालनमा धैर्य चाहिन्छ, घाटा हुँदैन', उहाँले भन्नुभयो, 'मैले मात्र महिनाको  डेढदेखि दुई लाख रुपयाँ आम्दानी गर्छु ।' पछिल्लो समय ग्राहकको माग धान्न नसकिरहेको उहाँको भनाइ छ । 

सुप एकीकृत कृषि तथा पशुपक्षी फार्म सञ्चालन गर्नुभएका उहाँले सुदूरपश्चिम मै कृषि व्यवसायको सम्भावना देखेर काठमाडौँबाट यता आएको सुनाउनुभयो । सुरुमा  ३० लाख उहाँको फार्ममा लगानी भएको छ ।

अहिले लगानी ६० लाख रुपयाँ पुग्यो । फार्ममा आफ्नो परिवार, भाइ र एक अर्का कामदारसहित चार जना व्यस्त हुन्छन् । 'दाना पानी खुवाउने देखि रेखदेखसम्म २४ घण्टा खटिन्छौँ', विकासले भन्नुभयो, 'त्यसको प्रतिफल राम्रै छ ।'

सो फार्ममा कालिजको माग देशभर र भारतबाट पनि आउँछ । ' नेपालमा मात्र होइन भारतको केराला समेतबाट माग आउँछ तर पुर्‍याउन सकेका छैनौँ' , उहाँले भन्नुभयो ।

कालिज चर्न कुखुरालाई भन्दा फराकिलो ठाउँ चाहिन्छ । त्यसैअनुसार यहाँ फराकिलो जङ्गल छ । कालिजलाई १८ देखि २२ डिग्री तापक्रम उपयुक्त मानिन्छ । आहारामा हरियो घाँस र कुखुरालाई दिने दाना दिइन्छ ।

दश वर्षको सम्झौतामा वार्षिक एक लाख २५ हजार रुपयाँ भाडा तिर्ने गरी ३० रोपनी जग्गा भाडामा लिएर सो व्यवसाय सुरु गरिएको हो । साढे तीन सय कालिजका चल्लाबाट सुरु भएकोमा अहिले भाले–पोथी गरी तीन हजार पुगेको छ । बिक्री पछि अहिले छ सयमात्र कालिज फार्ममा छन् । सो फार्मबाट कालिज, कुखुरा, टर्की र लौकाटको ‘होम डेलिभरी’ हुन्छ । 

सुरुमा भिरालो जमिनमा बस्ने टहरादेखि तार जालीसम्म गर्दा सो फार्ममा धेरै लगानी भएको थियो । 'फार्म हेर्नमात्र धेरै आउँछन्', उहाँले भन्नुभयो, 'ग्राहकका लागि त्यहीँ बनाएर खान मिल्ने व्यवस्था गरेका छौँ ।'

फार्ममा काम गर्ने कामदारसमेत नभेटिएको उहाँको गुनासो छ । 'कालिज, खुकुरा बिरामी भए आफैँ गएर औषधि ल्याउँछु । चार वर्ष अनुभव भयो', उहाँले भन्नुभयो, 'डेलिभरिदेखि चल्लाको रेखदेख गर्न आफैँ खटिनुपर्छ ।' उहाँले कुखुराका लागि छुट्टै फार्म निर्माण गर्नुभएको छ । फार्ममा एक हजार गिरिराज कुखुरा छ । सुरक्षा गर्न चारैतिर करेन्ट आपूर्ति, सिसी क्यामेरा र दुईवटा कुकुर राखिएको छ ।

कालिज पालन व्यवसाय नेपालमा नयाँ हो । यहाँ त्यसका अण्डा र चल्ला नेपालको सबै ठाउँमा पाइँदैन । विकासले ह्याचरिङसमेतको व्यवस्था गर्नुभएको छ । अन्य पक्षीभन्दा कालिजको मूल्य महँगो पर्छ । नेपालमा जहाँ पनि तौलेर नभई प्रतिगोटाका हिसाबले बिक्री गर्दै आएकाले उहाँले पनि गोटाको हिसाबले मूल्य तोकेर बिक्री गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार तीन सय ५० देखि तीन हजार पाँच सयसम्ममा कालिज बिक्री हुन्छ । 'दानापानी गरेर एउटा चल्लाकै लागत रु एक हजारसम्म पर्छ । छ महिना दानापानी खुवाएर हुर्काएको कालिजलाई रु तीन हजारसम्ममा बिक्री गछौँ', व्यवसायी विकासले भन्नुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ अनुसार डाँफे, मुनाल, कालिजलगायतका वन जङ्गलमा पाइने पक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध गरिएको छ । विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने भएकाले नेपालमा कालिज पाल्नेको लहर चलेको व्यवसायीको भनाइ छ । नेपाल सरकारले कालिज पालनलाई अनुमति दिएको लामो समय भइसकेको छैन ।

कालिजको मासु स्वादिष्ट र पोषणयुक्त हुने भएकाले माग हेरेर कालिजको सङ्ख्या बढाउने उहाँको लक्ष्य छ । कालिज बिक्रीका लागि बजारको कुनै अभाव नरहेको र सर्वसाधारणको भान्छामा सहजै पुर्‍याउने योजना उहाँको छ । “ठूला होटलदेखि सर्वसाधारणको भान्सामा कालिजको मासुको माग हुन्छ, उत्पादन हुनुप¥यो मासुको बजारको समस्या छैन', उहाँले भन्नुभयो । कालिज छ महिनादेखि मासुका लागि तयार हुन्छ । भाले कालिजको तौल औसतमा डेढ किलोग्रामसम्म पुग्छ । पोथी भने नौ सय ग्रामदेखि एक किलोसम्म तौलको हुन्छ ।

यसले माघदेखि असारसम्म अण्डा दिने र वर्षको एक मौसममा एउटा पोथीले ५० देखि ५५ वटा अण्डा पार्छ । तीस हजार अण्डा ह्याचरिङ गर्दा २० हजारसम्म चल्ला हुर्काउन सकिए पनि चल्लाबाट राम्रो आम्दानी लिन सकिने उहाँको विश्वास छ । सानो बच्चामै एक–दुईवटा खोप दिएपछि कुनै रोग कालिजमा देखिएको छैन । विकासले कालिजमा अन्य पक्षीजस्तो रोग नदेखिने गरेको बताउनुभयो । कालिजका लागि पहाडी क्षेत्रको भू–भाग र हावापानी राम्रो हुन्छ ।

' कुखुराभन्दा कालिजलाई प्रोटिनको मात्रा धेरै भएको दाना चाहिन्छ, घाँस पर्याप्त भए ५० प्रतिशत दाना र ५० प्रतिशत घाँस खुवाउन सकिन्छ, त्यो भयो भने लागत पनि घट्न जान्छ', उहाँले भन्नुभयो । फार्ममा पालिएका कालिज एक–अर्कालाई ठुङ्ने, लड्ने भएकाले खेल्न र उड्न मिलोस् भनेर अग्लो गरी तार र जाली लगाएर घेरिएको छ । विकासले राजमार्गदेखि कालिज फार्मसम्म पुग्ने सडक नहुँदा सबैभन्दा बढी समस्या हुने गरेको सुनाउनुभयो । विकासले मात्र होइन खानीडाँडामा कर्मचारीदेखि नेतासम्मले कालिज पालन गरेका छन् ।

कैलाश जोशी/रासस