‘मायालाई दिने थिएँ फूलजस्तो जोबन, भइसक्यो मेरो घरबार’

‘मायालाई दिने थिएँ फूलजस्तो जोबन, भइसक्यो मेरो घरबार’

यमबहादुर दुरा  |  लोकरञ्जन  |  जेठ १७, २०७६

फूल । सर्वग्रह्य सुन्दर प्राकृतिक उपहार । सुन्दरता र कोमलताको प्रतीक । छोटो तर सुन्दर जीवनको द्योतक ।

फूल युगौँदेखि मानव जीवनको अभिन्न अङ्ग बन्दै आएको छ, जसलाई कुनै वाद, सिद्धान्त र आदर्शको बारले छेकेको छैन । बरु, सबैले कुनै न कुनै रूपमा स्वागत गरेका छन् । सबैले फूलको अङ्कमाललाई रुचाएका छन् ।

प्रेम र सद्भावको दुनियाँमा फूलले युगौंदेखि साम्राज्य जमाएको छ । यही प्रसङ्गमा अमेरिकी कवि पार्क बेञ्जामिन (सन् १८०९–१८६४) ले भनेका छन्, ‘फूल प्रेमको सही भाषा हो ।’ धेरैको मतमा गुलाफले प्रेमको भाषा बोल्छ ।  

सङ्गीतको दुनियाँमा पनि फूलको विम्बले उच्च गरिमा पाएको छ, संसारैभरि । यही वास्तविकतालाई बुझेर नै होला, लेखक मार्टी रुबिनले भनेका छन्, ‘फूल पृथ्वीको सङ्गीत हो ।’

आनी छोइन डोल्माले फूलको आँखामा फूलै संसार बोलको गीत गाएर चर्चा बटुलिन् । उनले फूल र मानवीय सुकर्मलाई सङ्गीतको धागोले जोडिदिइन् । फूलको भाषा कति जोडदार हुन्छ भन्नेबारे उनले गीतबाट गतिलो दृष्टान्त नै पेस गरिन् ।

संसारका सबै भाषामा मुक्तकण्ठले पूmलको गीत गाइएका छन् । भाषिक अनभिज्ञताले ती सबै भाषाका हामीले रसास्वादन गर्न पाएका छैनौँ ।

अङ्ग्रेजी गीतको कुरा गर्दा ‘बेड अफ रोजेज’, ‘वाइल्ड फ्लावस’, ‘ह्वेयर ह्याभ अल फ्लावस गन’, ‘बि स्युर टु वेयर फ्लावस इन योवर हेयर’, ‘इफ आइ कुड नट डिभाइड द स्मेल अफ फ्लावस’, ‘फ्लावस नेभर बेण्ड उइद द रेनफल’, ‘एभ्री रोज ह्याज इट्स् थ्रोन’ आदि फूलबारे गाइएका चर्चित गीतहरूको सूचीमा पर्छन् ।

नेपाली लोकगीत र फूलको अन्तरसम्बन्धबारे धेरै पाटाहरू उद्घाटन हुन बाँकी छ । यहाँ, न त कुनै  फूल विशेषमा केन्द्रित भएर गीत सिर्जना गरिएका छन्, न त फूलबारे गाइएका गीतबारे अध्ययन भएका नै छन् । दुवै क्षेत्र धेरै हदसम्म खाली छ । यसका लागि जाँगरिला र उत्साही अनुसन्धातालाई स्वागत गर्न लोकगीतको विशाल फाँट आतुर छ । 

नेपाली गीतमा फूलको प्रसंगहरू यत्रतत्र भेटिन्छन् । नेपाली लोकगीतमा फूलको प्रसङ्ग छताछुल्ल छन् । गीतलाई अन्त्यानुप्रासयुक्त बनाउनेदेखि लिएर भावनाको ज्वारभाटालाई विम्बात्मक रूप दिने सम्मका प्रयोजनका लागि पनि फूलको प्रयोग भएका छन् ।

यद्यपि, नेपाली कुनै फूल विशेषमा केन्द्रित भएर गीत रच्ने र गीत गाउने परिपाटीको सर्वथा अभाव देखिन्छ । कुनै खास पूmललाई केन्द्रमा राखेर गीत गाउने परिपाटी हुँदै नभएकोचाहिँ होइन । 

गण्डकी भेकका नामुद ठाडो भाका गायकद्वय दाउबहादुर दुरा र पञ्च सुब्बा गुरुङले फूलका प्रकार र माछाका प्रजातिबारे अविराम गीत गाउन सक्थे भनेर संस्कृतिविद् जगमान गुरुङले बताउँदै आएका छन् ।
पहिले फूलको किसिम र महिमाबारे सवाफ–जवाफ गर्ने परिपाटी गाउँसमाजमा थियो भन्ने भनाइ कतिपय बूढापाकाबाट सुनिन्छ । तर, वर्तमानमा यस्तो प्रचलन कतै पनि देखिँदैन । 

अहिले माया मोह र श्रृङ्गारिक अभिव्यक्तिहरूमा नै बढी मात्रामा फूलको प्रयोगले ठाउँ ओगटेका छन् । कतिपय सर्जक निकै ढङ्ग पुर्‍याएर सुन्दर किसिमले पूmलको विम्ब प्रयोग गरेका छन् । जस्तैः ‘गाउँशहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ पूmलजस्तो जोबन भइसक्यो मेरो घरबार’ ।

फूलको प्रयोग गरिएका कतिपय गीतले भावनात्मक मिठास दिने काम त गरेकै छन्, गाउँबस्तीको तस्बिर आँखा अगाडि ल्याएको अनुभूति मिल्छ । राजु परियारको स्वरमा रहेको एउटा गीतमा यस्तै अनुभूतिको गहिराइ भेटिन्छ । गीतले भन्छः फूलमा मौरी डुल्ने बेलामा, कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा’ ।

‘फूललबारी तिम्रै हो माया, फूल टिप कोपिला नटिप’ । यो गीत सुन्दा जति सरल छ, उति नै मार्मिक पनि छ । लोक गायिका ज्ञानु राणाको स्वरमा  गुञ्जने यो गीतको भावनात्मक पक्षको चिरफार गर्ने हो मरियाना ट्रेन्चभन्दा गहिरो अनुभूति भेट्टाउन सकिन्छ । एउटी समर्पित प्रेमिकाको समर्पण भाव र सुको महल आग्रहले यो गीत ओतप्रोत छ ।

जीवनरेखाको घुमाउरो मोड । बेहिसाव जटिलता । अनगिन्ती पीरव्यथाहरू । यस्ता अवसानग्रस्त घडीबाट मानिस हरदम मुक्ति चाहन्छ, जसका लागि लोकसर्जकहरू धन्वन्तरीको रूपमा धारण गरेर आएका छन् । ‘फूललको वासना, मनमा पिर भए नि मायालु मुसुक्क हाँस न’ । यो हरफ धन्वतरीका औषधि भन्दा कहाँ कम छ र ?

विगतमा मनका कुरा सोभैm पोखिँदैनथे । लोक लाज र लोकमर्यादाको उच्च कदर गर्ने चलन थियो । यस्तो अवस्थामा मनका कतिपय कुरा घुमाउरो तरिकाले व्यक्त गरिन्थ्यो । बुझ्नेका लागि मुटुमै सुइरो रोपेजस्तो हुन्थ्यो भने नबुझ्नेका लागि शब्दको फगत हरफ मात्र । ‘लालुपाते फुलेर भुइँमा, गुर्धौली फूलको के महिमा’ जस्ता गीतलाई यही श्रेणीमा राख्न सकिन्छ । यसमा गहिरो ला क्षणिक अर्थ सवार छ । 

गीतलाई कोरी बाटी गरेर सिगारपटार गर्नमा पनि फूलको प्रयोग हुन्छ । ‘फूल मायामा न भूल’, ‘फूल सारे माया नमारे’, ‘देऊ रुमाल फूल भरेर’, ‘पानफूलले मायालु’ जस्ता थेगो र रहनेहरूले नेपाली लोकगीतलाई चटक्क पारेका छन् । यस्ता थेगो र रहनीले लोकगीतलाई पुतलीजस्तै सुन्दर र फूलजस्तै मग मगाउँदो बनाएका छन् ।

नेपाली लोकगीत र फूलको अन्तरसम्बन्धबारे धेरै पाटाहरू उद्घाटन हुन बाँकी छ । यहाँ, न त कुनै  फूल विशेषमा केन्द्रित भएर गीत सिर्जना गरिएका छन्, न त फूलबारे गाइएका गीतबारे अध्ययन भएका नै छन् । दुवै क्षेत्र धेरै हदसम्म खाली छ । यसका लागि जाँगरिला र उत्साही अनुसन्धातालाई स्वागत गर्न लोकगीतको विशाल फाँट आतुर छ ।