डा. पूर्ण शाही: सपना एउटा डाक्टर बन्ने ! अर्कै डाक्टर बनेर सबै  रोगको उपचार !!

डा. पूर्ण शाही: सपना एउटा डाक्टर बन्ने ! अर्कै डाक्टर बनेर सबै  रोगको उपचार !!

आशिष पौडेल  |  अन्तर्मन्थन  |  फाल्गुन २१, २०७९

डा. पूर्ण शाहीको जन्म अछामको हिच्मा गाविसमा आजभन्दा ५४ वर्ष अगाडि भएको हो । अहिले भने ढकारी गाउँपालिका भएको छ । उहाँको पाँच दाजुभाइ तथा दिदी बहिनी । उहाँ भने माहिलो । उहाँ २०३४ सालमा ९ वर्षको उमेरमा काठमाडौँ आउनु भएको हो ।

आजभन्दा ४५ वर्ष अगाडि सुदूरपश्चिमको मान्छे काठमाडौँको बोर्डिङ स्कूलमा घरबाट पैसा ल्याएर पढ्नुलाई आर्थिक अवस्था एकदमै राम्रो नभइ सम्भव  हुने कुरा थिएन । त्यति मात्र होइन उहाँको दाइ पनि काठमाडौँको बोर्डिङमा स्कुलमा  नै पढ्नु हुन्थ्यो । 

काठमाडौँ आउनु अगाडि उहाँको खुट्टामा चप्पल थिएन । चप्पल पैसा नभएका कारण लगाउने चलन नभएका कारण नलगाउनु भएको हो । उहाँ सम्पन्न परिवारको सदस्य चाँही हो । बुवा व्यापार गर्नुहुन्थ्यो । व्यापार राम्रै थियो । कमाइ पनि राम्रो थियो बुवाको । आमा भने गृहिणी । पैसाको खासै कमी थिएन । 

घरमा गाई, भैंसी अनि घोडाको कमि  थिएन। सबै हेर्नु पर्थ्यो । कमाइ राम्रो भए पनि आमाले पनि अन्य महिला सरह नै दुःख गर्नुहुन्थ्यो भने उहाँको पनि अवस्था त्यस्तै थियो । 

उहाँलाई अहिले स्कूलको नाम सम्झना नभए पनि स्कूलमा गएर नै कखरा सिकेको भने याद छ । गैराखालमा उहाँको जिजु बुवा नाता पर्ने दैलेखका नारायण जंग शाहीसँग केही दिन कखरा पढेको सम्झना छ । 

उहाँको बुवाको व्यापार राजापुरको हाटबजारमा पनि लाग्थ्यो । अनि बुवाको व्यापार यता भएका बेला उहाँ राजापुरतिर आउनुहुन्थ्यो । यसकारण पढाइ एकै ठाउँमा स्थायी रहेन ।

राजापुर स्कूलमा टालाटुली बटुली भनेर उहाँले बिर्सनु भएको छैन । त्यस बेलाका साथीहरुको पनि सम्झना छ उहाँलाई । 

त्यस बेला पहाडका धेरै स्कूलमा बस्नका लागि आफैँले घरबाट चकटी बोकेर जानु पर्थ्यो । राजापुर सुदूरपश्चिमको अलि सुगम ठाउँ भएका कारण उहाँलाई शहर जस्तै लागे पनि स्कूलमा भने उहाँहरु चउरमा बसेर पढ्नु भएको हो । महिलाहरुको पनि राम्रै सहभागिता थियो । अलि अग्रजले मोतावाला पाइन्ट लगाएर पढ्न आउने गरेको उहाँलाई सम्झना छ । तर, अछाममा भने थिएन । 

बुवाको सिजनल व्यापार भएका कारण उहाँको पढाइ एकै ठाउँमा हुने भन्ने थिएन । उहाँले राजापुरमा एक कक्षामा एक/दुई महिना पढेको सम्झना छ । त्यसपछि चार कक्षामा एक महिना पढेको सम्झना छ उहाँलाई राजापुर मै । व्यापारका लागि बुवा पुसमा आउँदा आउने र वैशाखमा फर्कँदा फर्किने भन्ने हुन्थ्यो । उहाँले एकदेखि चार कक्षासम्म पढ्दा मुश्किलले एक वर्ष पढ्नु भयो होला । 

कखरा अनि राजापुरमा एक कक्षामा एक महिना त्यस्तै दुई कक्षामा केही समय अनि एकैपटक हिच्मामा चार कक्षा अनि फेरि राजापुरमा आएर चार कक्षामा माघको एक महिना यस्तो छ उहाँको स्कूलको विगत । फागुनमा भने उहाँ पढ्न काठमाडौँ आउनुभयो । त्यस बेला काठमाडौँमा फागुनमा शैक्षिक सत्र सुरु हुन्थ्यो । उहाँको दाइ काठमाडौँ मै पढ्नुहुन्थ्यो । 

उहाँ पढ्नलाई ९ वर्षको उमेरमा अछामको सावाबाट काठमाडौँ आउनु भएको हो । हुन त उहाँको दाइ तीन वर्ष अगाडि नै पढ्नका लागि काठमाडौँ आइसक्नु भएको थियो । तर, त्यस बेला अछामबाट काठमाण्डौ जाने भनेको एक प्रकारको युद्ध जित्नु जस्तै थियो । यातायातको कल्पना पनि थिएन । अछामको सावाबाट राजापुर आउन नै छ दिन लाग्थ्यो । त्यसको ९÷१० वर्षपछि पनि उहाँ त्यो बाटो हिँड्न डराएर उहाँ भाग्नुहुन्थ्यो । अनि त्यस्ता विकट पहाड हिँडेर नौ वर्षको उमेरमा कसरी आइयो होला भन्ने अहिले सम्झँदा पनि उहाँलाई कहाली लाग्छ । हिंँड्नु भन्दा एक महिना पहिला साइत हेराएर हिँड्ने चलन थियो । घना जङ्गल अनि पहाडको बाटो हिँडेपछि मान्छे फिर्ता आउने हो कि होइन भन्ने थाहा हुँदैनथ्यो त्यसैले यात्रा बहुतै कठिन थियो । चालिस/पचास जनाको फौज नै हुन्थ्यो । त्यो सम्झँदा उहाँ अहिले पनि भावुक हुनुहुन्छ । उहाँलाई पनि त्यो बाटोको कठिनाइले पढ्न होइन कतै मसान घाटतिर गइरहेको पो छु कि भन्ने लाग्थ्यो । 

संयोगले २०५३ सालमा बेंगलोरको योग युनिभर्सिटीमा पुग्नु भयो । उहाँलाई योगको पढाइ अनि डिग्री पनि हुन्छ भन्ने त्यहाँ गएर सुन्दा अचम्म पनि लाग्यो । उहाँले योग इन्स्ट्रक्टर कोर्स पनि गर्नुभयो एक महिनाको । त्यहाँ अब बिए पास गरे पनि दुई वर्षे एमएस्सी पनि गर्न पाइने नियम रहेछ । अब उहाँलाई यो ठूलै अवसर भयो । त्यसका लागि डेढ लाख नेपाली चाहिने रहेछ । पहिले पहिले पैसा छेलोखेलो खेलाएको मान्छेलाई अहिले आएर त्यही डेढ लाखमा महाभारत पर्‍यो ।

काठमाडौँ सम्म आउनेका लागि भनेर घरमा सेल, अनरसा जस्ता मिठाइ बनाउने चलन थियो । माया लागेर हजुरआमा एक/डेढ घण्टाको बाटोसम्म पुर्याउन आउनुहुन्थ्यो । स्थिति एकदमै कहालीलाग्दो हुन्थ्यो । काठमाण्डौ आइसकेपछि एक वर्षसम्म सम्पर्क नै हुँदैनथ्यो । कोही मान्छे बितिहाले पनि एक महिनापछि मात्र खबर आउँथ्यो । अवस्था निकै कष्टकर नै थियो । अत्यन्त दुःखले होला उहाँको आमाको आँखाबाट त आँसु पनि खस्दैनथ्यो । आखिर यति कष्ट व्यहोरेर किन पढ्न आइयो भन्ने पनि लाग्छ कहिलेकाहिँ उहाँलाई तर, त्यसबेला बुवाको अगाडि यो प्रश्न गर्ने हिम्मत कसको हुन्थ्यो र !

जङ्गलको ओडारमा बास बस्दै अनि खाना पकाउँदै खाँदै ती समूहका सबै मानिस छ दिन लगाएर बल्ल राजापुर आइपुग्थे । राजापुरबाट भारतको उत्तर प्रदेशको कतर्नीया घाटमा ठूलोठूलो ड्रममाथि काठ राखेर बनाइएको अचम्मको पुलबाट नदी तर्दै नानपारा, बहराइच हुँदै रेल चढेर गोरखपुर अनि सुनौली, भैरहवासम्म पुगिन्थ्यो । भैरहवाबाट बुटवल, पाल्पा, पोखरा मुग्लीन हुँदै काठमाण्डौ आउनुपथ्र्यो । राजापुरबाट काठमाडौँ आइपुग्न तीन दिन लाग्थ्यो । उहाँ विगत सम्झँदै भावुक पनि हुनुभयो । अछामबाट राजापुर छ दिन अनि राजापुरबाट तीन दिन गरी नौ दिनमा बल्ल काठमाडौँ आइ पुगिन्थ्यो । 
काठमाण्डौ आउँदा कहाँ झरियो भन्ने उहाँलाई ठ्याक्कै सम्झना छैन । तर, पनि काठमाण्डौको पुरानो बसपार्क हो कि जस्तो लाग्छ । उहाँले कतौनीया घाटमा पुगेर पहिलो पटक गाडी देख्नुभएको हो । राजापुरमा पनि फाट्टफुट्ट मोटरसाइकल त देखेको हो । अनि एकैपटक काठमाण्डौमा गाडी देख्दा उहाँलाई अचम्मै लाग्यो । उहाँलाई त्यस बेला काठमाण्डौ एकदमै सुन्दर लागेको थियो । यहाँका मान्छे सभ्य र आफूलाई भने गवाँर गवाँर लाग्थ्यो । बोल्दा पनि उताको लवज आउला र यताका मान्टेले हेप्लान भनेर उहाँ डराइ डराइ बोल्नुहुन्थ्यो । 
०००
उता चार कक्षा पढेका मान्छे यता आएर एक कक्षामा भर्ना हुन्थे । उहाँको दाई पनि सात कक्षा पढेको मान्छे यहाँ पानी पोखरीको भानुभक्त मेमोरियलमा आएर चार कक्षामा भर्ना हुनुभयो । तर, उहाँ भने चार कक्षा पढ्दासम्म एक वर्ष पनि स्कूल नपढेको मान्छे यहाँ पानी पोखरीमा भने चार कक्षामा आएर भर्ना हुनुभयो । यति हुँदा पनि उहाँको पढाइ अंग्रेजी बाहेक अरु राम्रो थियो । 

एउटा कक्षामा करिब तीस/पैँतीस जना विद्यार्थी हुन्थे त्यसमा महिलाहरु आठ/दश जना हुन्थे । पढाए ठिकै थियो । छ कक्षापछि भने अलि कमजोर रह्यो पढाइ । खेलकुदमा पनि विशेष रुचि फुटबलमा भए पनि उहाँ त्यति राम्रो खेलाडी भने होइन । रिङ, क्यारेम भने राम्रै खेल्नुहुन्थ्यो । नेतृत्व गर्ने क्षमता राम्रै थियो । दाइ पनि त्यहीँ पढ्ने हुनाले अरुले हेप्ने भन्ने रहेन । तर, दाइको बदमासीको कारण होस्टेल छोड्नु पर्‍यो र उहाँ पनि दाइसँगै बस्न थाल्नुभयो । त्यस बेला दाइ तथा साथीहरुलाई खाना पकाएर ख्वाउनु पर्दा भने उहाँको दाइप्रति नकारात्मक धारणा पनि विकास भएको थियो । 

नेतृत्व पनि गरेर हिँड्ने अनि दाजुको कारण कसैले हेप्न नसक्ने भएपछि उहाँ अलि अनुशासनहीन पनि हुनपुग्नु भयो । यसले गर्दा पढाइमा ध्यान नहुँदा पढाइ बिग्रियो । अब उहाँ सकूलमा अटाउन सक्नु भएन र दश कक्षामा ज्ञानेश्वरको मार्टियस मेमोरियल स्कूल जानुभयो । पानीपोखरीभन्दा मार्टियस केही कमजोर स्कूल भएका कारण त्यहाँ झन अरुलाई गन्न मन्न लाग्ने कुरै भएन । यसले पढाइ झन कमजोर भयो । आधा अछामले चिन्ने र सम्मान गर्ने अनि आशा गरेको एउटा युवकको हालत यस्तो भयो । मनमनै त केही गरेर देखाउँछु भन्ने पनि लाग्थ्यो । तर, बानीका कारण त्यो सम्भव भइराखेको थिएन । 

उहाँ एसएलसी त मार्टियसबाट पास हुनुभयो । अब साइन्स पढ्नुपर्छ भनेर उहाँ नेपालगञ्जतिर लाग्नुभयो । अरु उताबाट काठमाण्डौ आउँछन् तर उहाँ भने काठमडौँबाट उतातिर जानुभयो । तर, नेपालगञ्जमा पनि ५० प्रतिशत अंक नल्याएकोलाई साइन्समा भर्ना नगर्ने भन्ने रहेछ । त्यसकारण नेपालगञ्जमा साइन्स पढ्ने भन्ने कुरा सम्भव भएन । र कमर्शमा भर्ना हुनुभयो अनि जेनतेन गरेर आइकम पास हुनुभयो । अनि फर्केर काठमाण्डौ आएर त्रिचन्द्र कलेजमा बिएमा भर्ना हुनुभयो । यसैबीचमा उहाँ गीतार सिक्न भनेर मुम्बइ पनि जानुभयो । र, झण्डै डेढ लाख रुपैयाँ सकाउनु भयो । यो २०४७ सालको कुरा हो । उहाँ रमाइलो गर्नुहुन्छ यदि त्यो पैसाले त्यस बेला जग्गा किनेको भए अहिले अर्बपति होइने रहेछ । 
पढाइमा रोकावट आइरह्यो । तर, पनि जाँच दिँदै दिँदै उहाँले बिए भने २०५२ सालमा पास गर्नुभयो । तर, यसैबीच उहाँको सोच भने पढ्नलाई भारत नै जाने भन्ने थियो । उहाँ बनारस विश्वविद्यालयमा भर्ना हुन खोज्नु भएको थियो । तर, त्यहाँ तीन वर्षे कोर्स लागू भएकोले पनि सम्भव भएन । यसै बीचमा उहाँले त्रिचन्द्रमा एमए तथा शंकरदेव क्याम्पसमा एमकममा भर्ना हुनुभयो । 

उहाँ भर्ना मात्रै हुनुभयो र, एकै पटक जाँच दिन भनेर प्रवशे पत्र लिन जानुभयो । त्यसमा एनक्यू लेखिएको थियो । त्यसको अर्थ उहाँलाई थाहा थिएन । एसेसमेन्ट नदिएका कारण उहाँ जाँच दिन अयोग्य भएका कारण एनक्यू लेखिएको रहेछ । मनमा भने एमए मात्र होइन पिएचडी गरेर डाक्टर लेख्ने रहर छ । 
०००
अब यहाँ केही गर्न नसकेपछि अमेरिका जाने एउटा बाटो बनाउँछु भनेर उहाँ डाक्टर आफ नेचुरोपेथी पढ्न गोरखपुर जानुभयो । उहाँ यो पढेर ठूलो काम आउँछ अनि ठूलो मान्छे हुन्छु भनेर जानु भएको होइन । उहाँको उद्देश्य त्यस बेला अमेरिका मात्र थियो । पहिले त उहाँलाई त्यत्रो पाँच/सात वर्ष पढेर त मान्छेको रोग ठीक नभएको यो नेचुरोपेथीले के होला र भन्ने लाग्थ्यो । तर, त्यहाँ गएर पढेपछि भने उहाँको मनस्थिति परिवर्तन भयो । मान्छेलाई ठीक गर्ने भनेको नै यही पद्धति रहेछ भन्ने लाग्यो । त्यहाँ पढ्न जाँदा उहाँलाई योगको पनि युनिभर्सिटी हुन्छ भन्ने थाहा भयो । 

उहाँ संयोगले २०५३ सालमा बेंगलोरको योग युनिभर्सिटीमा पुग्नु भयो । उहाँलाई योगको पढाइ अनि डिग्री पनि हुन्छ भन्ने त्यहाँ गएर सुन्दा अचम्म पनि लाग्यो । उहाँले योग इन्स्ट्रक्टर कोर्स पनि गर्नुभयो एक महिनाको । त्यहाँ अब बिए पास गरे पनि दुई वर्षे एमएस्सी पनि गर्न पाइने नियम रहेछ । अब उहाँलाई यो ठूलै अवसर भयो । त्यसका लागि डेढ लाख नेपाली चाहिने रहेछ । पहिले पहिले पैसा छेलोखेलो खेलाएको मान्छेलाई अहिले आएर त्यही डेढ लाखमा महाभारत पर्‍यो । त्यसको झण्डै आठ वर्ष पछाडि अर्थात् २०६१/८२ मा आफ्नै गाउँको एक जना सहयोगीले उपलब्ध गारएको पैसाले उहाँले दुई वर्षे एमएस्सी योग थेरापीको कोर्स गरेर आउनु भयो । 

उहाँले इलाहाबादमा गएर एडभान्स लेभलको एक्युप्रेसरको तालिम पनि लिनुभयो । अनि जापानी वैज्ञानिकले विकास गरेको इनर्जी हिलिङ उर्जा थेरापीको पनि तालिम लिनुभयो । उहाँले अनि विस्तारै तालिम लिँदै र उपचार पनि गर्दै गर्न थाल्नुभयो । र, सन् २०१३ देखि भने उहाँ समर्पित भएर उपचारमा लाग्नु भयो । 

सन् २०१३ मा उहाँलाई उपचारका लागि हिमाचलमा बोलावट आयो । झण्डै एक वर्ष भारतको विभिन्न ठाउँमा उपचार गर्दै पनि हिँड्नु भयो । उहाँ पहिले त आफूलाई डाक्टरको रुपमा परिचित गराउनु हुँदैनथ्यो । तर, पछि भने आखिर डिग्री पनि छँदैछ काम पनि गर्दैछु डाक्टर नभन्दा फेरि नपत्याउने डर हुन्छ भनेर उहाँले आफूलाई डाक्टरको रुपमा प्रस्तुत गर्नुभयो । र, पुना गएर एक जना प्यारालाइसिसको बिरामी ठीक बनाएपछि भने उहाँको चर्चा राम्रै भयो । र, यसरी पढ्दै अनि उपचार गर्दै २०७६ सालदेखि भने उहाँ आफ्नै देशमा काम गर्नुपर्छ भनेर फर्कनु भएको हो । 

सुरुमा त उहाँलाई काठमाडौँमा भन्दा पनि सुदूरपश्चिमतिर काम गर्न मन लागेको थियो । तर, त्यता काम गर्न पैसाको अभाव र अन्य कुरा नमिलेपछि भने उहाँले काठमाडौँ केन्द्रित भएर उपचार गरिरहनु भएको छ । 

उहाँकहाँ अहिले क्यान्सर, सुगर, प्रेसर लगायत अन्य असाध्य रोगहरुको विना औषधि उपचार भइरहेको छ । उहाँको दाबी पनि छ उहाँकहाँ सबै रोगको पूर्ण उपचार हुन्छ । तर, उपचार विधिमा विश्वास नगर्ने, बीचैमा छोड्ने र आवश्यक विधि नमान्दा भने रोग उपचार हुन नसक्ने अवस्था रहेको उहाँको बुझाइ  छ  ।