अमेरिकास्थित टेक्सासका पार्कमा सुदूरपश्चिमीलेको होलीसँगै 'चलगोबिन्दे'

अमेरिकास्थित टेक्सासका पार्कमा सुदूरपश्चिमीलेको होलीसँगै 'चलगोबिन्दे'

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २१, २०७९

'चलगोबिन्दे पाईला मिला, डेउडा खेलौं
घुमरी बजाई छमकि छमाछम' 

टेक्सासको प्रसिद्ध ओक ग्रोभ पार्कमा शनिबार घाम अस्ताउने तरखरमा थियो तर टेक्सास युलेस निवासी कैलास भट्टलाई अस्ताउन लागेको घामले कुनै फरक पारेको थिएन । उनी सुदूरपश्चिमको चर्चित डेउडा गीत चलगोबिन्देमा छमछमी नाचि रहेका थिए ।

बैतडी जिल्लाका भट्टले सुदूरपश्चिम नेपाली समाज टेक्सासद्वारा आयोजना गरिएकोे होली पर्व कार्यक्रममा आफु पनि धित मरिञ्जेल नाचे र अरुलाई पनि नचाए । हामी भौतिक रुपमा सात समुद्र पारी भएपनि मन सुदूरपश्चिम मै रहेको भट्टले प्रतिकृया दिए ।

यस्तै अछामका भरत शाहको पनि भट्टको जस्तै धारणा रहेको छ । यसपालीको होली पर्वले आफुलाई सुदूरपश्चिम मै भएको अनुभूति दिलाएको बताए । होली पर्वको अवसरमा सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट आएर टेक्सासका बिभिन्न स्थानमा बसोवास गर्ने सुदूरपश्चिमेलीहरुसँग चिनजान भेटघाट हुनुका साथै होली तथा डेउडा गीतमा नाचेर रमाइलो गर्ने अवसर मिलेको शाहले भने ।

सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट आएर टेक्सासका बिभिन्न स्थानमा बसोवास गरिरहेका सुदूरपश्चिमेलीहरुलाई एकै स्थानमा जम्मा भएर होली खेल्ने अवसर सुदूरपश्चिम नेपाली समाज टेक्सासले जुराएको थियो ।

ग्रेपभाईन स्थित ओक ग्रोभ पार्कमा होली पर्ब मनाउन टेक्सासको ड्यालस, अस्टिन तथा ह्युस्टन शहरबाट समेत सुदूरपश्चिमेलीहरु आएको सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष नवराज योगीले बताउनु भयो । होली पर्बको अवसरमा रँग लगाएर शुभकामना आदान प्रदान गर्नुका साथै निःशुल्क भोजनको व्यवस्था गरिएको थियो ।

टेक्सासका बिभिन्न स्थानमा रहेका सुदूरपश्चिमेलीहरुलाई समाजमा आबद्ध गराएर सुदूरपश्चिमको झल्को दिने गरि गौरा पर्व, देउसी भैलो, बिसु पर्ब, होली पर्ब लगायतका चाड पर्ब मनाउँदै आएको सुदूरपश्चिम नेपाली समाज टेक्सासले जनाएको छ ।

अमेरिकामा अधिकाँश मानिसहरु काममा ब्यस्त रहने भएकाले नेपाली समुदायले चाडपर्वको अघि र पछि बिदाको समय मिलाएर नेपाली चाडपर्वहरु मनाउने गर्दछन् ।