रक्षा बजेट बढाएका सीको घट्दो लोकप्रियता:दोस्रो शक्तिशाली पद प्रधानमन्त्रीमा को ?

रक्षा बजेट बढाएका सीको घट्दो लोकप्रियता:दोस्रो शक्तिशाली पद प्रधानमन्त्रीमा को ?

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २२, २०७९

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को नेशनल पिपुल्स कंग्रेसको वार्षिक बैठक बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा सुरु भएको छ । संसद सत्रको पहिलो दिन चीनले आफ्नो देशको रक्षा बजेटमा ७ प्रतिशत वृद्धि गरेको घोषणा गरेको छ । बैठकको सुरुवात गर्दै प्रधानमन्त्री लि खछ्याङले चीनलाई बलियो बनाउने प्रयास अझै तीव्रमा अघि बढिरहेको बताए । चीनले गरेको यो सैन्य बजेट वृद्धिले सेनालाई बलियो बनाउने उसको प्रतिबद्धतालाई लक्षित गर्छ । 

राष्ट्रपति सी जिनपिङ चिनियाँ कम्युनिस्ट पार्टीमा आफूलाई जति शक्तिशाली बनाउँदै छन्, त्यति नै उनले देशलाई पनि सैन्य रणनीतिमा ढाल्दैछन् । चीनलाई समाजवादको दिशामा अघि बढाउने संकल्प गरेका उनले सत्तामा आएदेखि नै भ्रष्टाचारविरुद्ध कठोर नीति लिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीमा माओत्से तुङ जत्तिकै शक्तिशाली हैसियत बनाएका सीको शक्तिलाई यो बैठकले अनुमोदन गर्नेछ । त्यसैले यसलाई सीको शक्ति केन्द्रीकरणको उत्कर्षका रुपमा लिइएको छ । 

यही बैठकबाट सीको ऐतिहासिक तेस्रो कार्यकाल सुरु हुनेछ । चीनमा हरेक राष्ट्रपतिले दुई/दुई कार्यकाल नेतृत्व गर्दै आएका भएपनि सीले पार्टीमा बलियो पकडसहित तेस्रो कार्यकाल अनुमोदन गराइसकेका छन् । सत्तामा आएपछि नेतृत्वको दौडमा रहेका नेतालाई भ्रष्टाचारको आरोपमा कारबाही गरे भने पार्टीभित्र आफूलाई केन्द्रमा राखेर पुनर्संरचना गरेका छन् । जसका कारण सीलाई टक्कर दिने कोही नेता चिनियाँ कम्युनिस्ट पार्टीमा अहिले छैन । त्यसैले उनको उत्तराधिकारी को हुन्छ भन्ने निश्चित छैन । तर राष्ट्रपति सी जिनपिङले आफूपछिको दोस्रो शक्तिशाली पद प्रधानमन्त्रीमा आफू निकट ली चियांगलाई ल्याउँदैछन् । चीनका प्रधानमन्त्री विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका व्यवस्थापकका रुपमा रहनेछन् । ली चियांगले वर्तमान प्रधानमन्त्री ली खछ्याङलाई विस्थापित गर्नेछन् । 

गत अक्टोबरमा सम्पन्न कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनले शक्तिशाली निकाय सात सदस्यीय पोलिटब्युरो स्थायी समितिमा सी निकटहरुलाई ल्याएको छ । यो बैठकले पनि सी निकटहरुलाई मन्त्रालय र विभागहरुको जिम्मा दिनेछ । प्रधानमन्त्री बन्न लागेका ली चियांगले चीनको आर्थिक राजधानी भनिने सांघाइको पार्टी प्रमुखका रुपमा काम गरिसकेका छन् । उनले सांघाईका दुई महिना लामो कठोर लकडाउनको कार्यान्वयन गराएका थिए । जतिबेला खाना र औषधिको समेत अभाव झेल्नुपरेको थियो । घरमा पुर्‍याइएका खानहरू पनि सडेको भन्दै जनताले सामाजिक सञ्जालमा राखेका थिए ।

चिनियाँ साँस्कृतिक क्रान्ति लगत्तै पेकिङ विश्वविद्यालयबाट स्नातक गरेका खछ्याङ अब्बल अर्थशास्त्री थिए । उनी पार्टीमा सीको प्रतिस्पर्धी समूह यूथ लिगबाट उदाएका थिए । ली खछ्याङलाई पार्टीका पूर्वमहासचिव तथा पूर्वराष्ट्रपति हु जिन्ताओ निकट मानिन्छ । हु जिन्ताओलाई सी को आदेशमा गत अक्टोबरमा पार्टी महाधिवेशनबाट बाहिर निकालिएको थियो । यो घटनालाई निकै चासोपूर्वक हेरिएको थियो । 

लकडाउनबाट आक्रान्त जनताले प्रदर्शन समेत गरेका थिए । ली चियांग लकडाउन कार्यान्वयन गराउन सफल भए पनि त्यसको व्यवस्थापनमा सफल नभएको भन्दै उनलाई प्रधानमन्त्री बनाएकोमा धेरैले आश्चर्य मानेका छन् । तर उनले प्रधानमन्त्री जस्तो शक्तिशाली पद पाउनुको कारण भनेको राष्ट्रपति सीसँगको झुकाव र निकटता हो । ली चियाङले सांघाई नजिकैको पूर्वी चीनको धनी प्रान्त झेजियाङमा राष्ट्रपति सी सँगै काम गरेका थिए । सी सो प्रान्तमा पार्टीको प्रमुख हुँदा ली उनको चिफ अफ स्टाफ रहे थिए । नेतृत्वलाई प्रभाव पार्न उनीहरु त्यसबेला राति अबेरसम्म काम गर्थे ।

कार्यकारी भूमिकाबाट बाहिरिदै गरेका प्रधानमन्त्री ली खछ्याङले भने राष्ट्रपति सी सँग विगतमा सँगै काम गरेका थिएनन् । उनी सामूहिक नेतृत्वकालमा सँगसँगै उदाएका हुन् । ली खछ्याङ राष्ट्रपति सीको प्रतिस्पर्धी मानिन्थे । चिनियाँ साँस्कृतिक क्रान्ति लगत्तै पेकिङ विश्वविद्यालयबाट स्नातक गरेका खछ्याङ अब्बल अर्थशास्त्री थिए । उनी पार्टीमा सीको प्रतिस्पर्धी समूह यूथ लिगबाट उदाएका थिए । ली खछ्याङलाई पार्टीका पूर्वमहासचिव तथा पूर्वराष्ट्रपति हु जिन्ताओ निकट मानिन्छ । हु जिन्ताओलाई सी को आदेशमा गत अक्टोबरमा पार्टी महाधिवेशनबाट बाहिर निकालिएको थियो । यो घटनालाई निकै चासोपूर्वक हेरिएको थियो । 

उनलाई स्वास्थ्य समस्या वा अरू कुनै कारणले बाहिर निकालिएको थियो भन्ने प्रष्ट छैन । तर उनले बाहिरिँदै गर्दा राष्ट्रपति सीसँग कुरा गरेको र प्रधानमन्त्री ली खछ्याङलाई धाप मारेका थिए । उनले पार्टीमा आफू निकटलाई बढुवा नगरेकोमा असन्तुष्टि जनाएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि पछिल्लो समयमा शून्य कोभिड नीति, अर्थतन्त्रको संकट, प्रविधि कम्पनीहरूमा नियन्त्रण, उच्च युवा बेरोजगारी र सेवा उद्योगमा भएको क्षतिजस्ता कुराले सीको लोकप्रियता भने घट्न थालेको देखिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको बैठकबाट महत्त्वपूर्ण पदमा हुने नियुक्तिले विश्वको दोस्रो ठूलो अर्थतन्त्रको भावी मार्ग कस्तो हुन्छ भन्ने चासोपूर्वक हेरिएको छ ।