राष्ट्रपति निर्वाचनमा डबल मत क्रसको अपेक्षा ! गठबन्धन ३१५१६ विरुद्ध एमालेसँग खुलेको मत भार १५२८१

राष्ट्रपति निर्वाचनमा डबल मत क्रसको अपेक्षा ! गठबन्धन ३१५१६  विरुद्ध एमालेसँग खुलेको मत भार १५२८१

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २३, २०७९

राष्ट्रपति निर्वाचनका लागि सोमबारबाट राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । अब फागुन २५ गतेसम्म राष्ट्रपति उम्मेदवारले चुनावी प्रचार कार्यक्रम गर्न पाउने छैनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिएपछि रामचन्द्र पौडेल र सुवास नेम्वाङ मध्ये एक जना नेपालको तेस्रो राष्ट्रपति बन्नेछन् । अघिल्ला दुई कार्यकालमा राष्ट्रपति संस्थाले आफूलाई संविधानको संरक्षक र राष्ट्रको अभिभावकका रुपमा राख्न नसकेको पृष्ठभूमिमा हुन लागेको यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ । 

राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा निर्वाचित गर्ने सार्वजनिक अभिव्यक्ति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिए पनि अन्ततः माओवादी केन्द्रसहितका ८ दलको समर्थनमा पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ राष्ट्रपतिका लागि चुनावी प्रतिस्पर्धामा छन् । दुवै उम्मेदवारले निर्वाचनको मौन अवधिअघि सबै राजनीतिक दलको कार्यालयमा गएर मत मागेका छन् । अन्तिम दिन सोमबार काँग्रेसका उम्मेदवार पौडेलले राप्रपा कार्यालयमा समर्थन गर्ने ८ दलका नेताहरूसहित पुगेर आफूलाई मत मागे । हालसम्म राष्ट्रपति निर्वाचनमा के गर्ने भन्नेमा राप्रपा र रास्वपाले निर्णय गरिसकेको अवस्था छैन । 

मौन अवधि सुरु हुनेअघि एमाले उम्मेदवार नेम्वाङले भने काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेर आफू उम्मेदवार रहेको बताए । देउवाले भने नेम्वाङलाई योग्य उम्मेदवार भन्दै प्रशंसा गरे । तर उनले आफ्नै पार्टीका उम्मेदवार रहेका स्मरण गराएका थिए । चुनावमा एक अर्को मतदातासँग मत माग्ने कुरा सामान्य हो । पौडेलले राष्ट्रपतिमा उम्मेदवार भएपछि सबै दलसँग मत मागेका छन् । तर उनी एमालेसँग भने मत माग्न पुगेनन् ।

किनकि एमालेले उनलाई मत दिने सम्भावना छैन । यद्यपि कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा पौडेलको पक्षमा भोट मागेका थिए । तर एमाले उम्मेदवार नेम्वाङले भने प्रमुख प्रतिस्पर्धी शक्ति काँग्रेससँग मत मागेको देउवा आफैं असहज भएको देखिएको छ । यो मत मात्रै नभएर राजनीतिमा दूरगामी असर पार्ने निर्णय हो ।

दुवै उम्मेदवारले प्रचार सकेपछि अब २५ गतेसम्म चुनावी प्रचार गर्न पाइनेछैन । मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी गर्न निषेध गरिएको छ ।

दुबै उम्मेदवारले सबै मतदाता (संघीय र प्रदेशका सांसदहरु)लाई पत्र लेखेर मत मागेका छन् । संघीय संसदमा रहेका सबै दलका शीर्ष नेताहरुलाई भेटेर सहयोग मागेका छन् । संघीय संसदमा रहेका १२ मध्ये ८ दल पौडेलको प्रस्तावक/समर्थक नै रहेका छन् । कांग्रेसका उम्मेदवार पौडेललाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । 

नेमकिपाको २२३, हाम्रो नेपाली पार्टीको ९६ र स्वतन्त्र सांसदहरुको मतभार १२८७ छ । एमालेले साना दल र स्वतन्त्र सांसदको मत पाएमा नेम्वाङलाई सहज हुने आशा गरेको छ । राष्ट्रपति निर्वाचनमा कुल ८८४ जना मतदाता छन् । जसको कुल मतभार ५२ हजार ७ सय ८६ हुन्छ । संविधानको धारा ६२ (३) अनुसार राष्ट्रपति निर्वाचनमा विजयी हुन ५१ प्रतिशत अर्थात, कम्तीमा २६ हजार ३ सय ९४ मत ल्याउनुपर्ने हुन्छ ।

आठ दलको समर्थन पाएका कारण कांग्रेस उम्मेदवार पौडेल विजयी हुने सम्भावना बलियो छ । यद्यपि मत क्रस हुन सक्नेमा भने पौडेल सजग देखिन्छन् । त्यसका लागि ८ दलले सात प्रदेशमा सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम नै राख्नु पर्ने अवस्थामा पुगेको थियो ।

नेम्वाङलाई भने एमालेको मात्रै समर्थन छ । राप्रपा र रास्वपाले मत दिए नेम्वाङलाई केही सहज हुनेछ । राष्ट्रपति निर्वाचनमा राष्ट्रियसभा सदस्य (५९ जना), प्रतिनिधि सभाका सदस्य (२७५ जना) र सातवटै प्रदेशका प्रदेशसभा सदस्य (५५० जना ) मतदाता हुन्छन् । प्रतिनिधिसभामा हाल एक सिट रिक्त छ भने एकजना निलम्बनमा छन् । बाँकी २७३ जना मतदानका लागि योग्य छन् । 

एमालेप्रति नरम रहेपनि राजतन्त्रको पक्षधर शक्ति राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान गर्ने वा नगर्ने प्रष्ट भनेको छैन । 

राष्ट्रपति निर्वाचनमा राप्रपाको २ हजार २१० र रास्वपाको १ हजार ५०१ मतभार छ । एमालेको मत भार १५ हजार २८१ छ । नेम्वाङले राप्रपा र रास्वपाको मत पाउँदा १८ हजार ९९२ मतभार पुग्नेछ । 

नेमकिपाको २२३, हाम्रो नेपाली पार्टीको ९६ र स्वतन्त्र सांसदहरुको मतभार १२८७ छ । एमालेले साना दल र स्वतन्त्र सांसदको मत पाएमा नेम्वाङलाई सहज हुने आशा गरेको छ । राष्ट्रपति निर्वाचनमा कुल ८८४ जना मतदाता छन् । जसको कुल मतभार ५२ हजार ७ सय ८६ हुन्छ । संविधानको धारा ६२ (३) अनुसार राष्ट्रपति निर्वाचनमा विजयी हुन ५१ प्रतिशत अर्थात, कम्तीमा २६ हजार ३ सय ९४ मत ल्याउनुपर्ने हुन्छ ।

राष्ट्रपतिका अर्का उम्मेदवार पौडेल भने चुनाव जित्नेमा ढुक्क देखिन्छन् । कांग्रेस एक्लैको मत भार १६ हजार २२१ छ । माओवादी केन्द्रको ७ हजार ७२८ छ । एकीकृत समाजवादीको २ हजार ४७८, जसपाको २ हजार ९७, जनमत पार्टीको १,२४२, लोसपाको ८२७, नागरिक उन्मुक्ति पार्टीको ७६५ र राष्ट्रिय जनमोर्चाको १५८ मत भार छ । हाल गठबन्धनमा रहेका ८ दलसँग ३१ हजार ५१६ मत भार छ । जुन राष्ट्रपति निर्वाचनका लागि पर्याप्त मत भार हो । तर काँग्रेस राप्रपा र रास्वपाको समेत समर्थन जुटाएर राष्ट्रिय सहमतिको अवस्था सिर्जना गर्न खोजिरहेको छ । तर त्यो अवस्था आउँछ/आउँदैन प्रष्ट भइसकेको छैन ।