महिलाहरूको एकै स्वर : ' सबै क्षेत्रमा सहभागिता सुनिश्चित गर्न एकजुट हुनुपर्छ'

महिलाहरूको एकै स्वर : ' सबै क्षेत्रमा सहभागिता सुनिश्चित गर्न एकजुट हुनुपर्छ'

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २३, २०७९

काठमाडौँ  । नेकपा ( एकीकृत समाजवादी ) का उपाध्यक्ष तथा अनेमस‌ंघ अध्यक्ष जयन्ती राईले राज्यका निकायहरुमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनु पर्ने बताउनु भएकोछ ।

११३औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनेमसंघ(समाजवादी) काठमाण्डौ जिल्ला समितिले पार्टी केन्द्रीय कार्यालयमा मङ्गलवार आयोजना गरेको प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष राईले राज्यका सवै निकायमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न महिला आन्दोलन आवश्यक रहेको बताउनु भएको हो । 

राईले भन्नुभयो ‘ महिलाहरु घरपरिवार, समाज, कार्यक्षेत्र, राजनीति कहि पनि सुरक्षित छैनन त्यसैले महिला अधिकार र सुरक्षाका लागि अझै महिला आन्दोलन आवश्यक छ ।’ राष्ट्रपति , सभामुख, प्रधानन्यायाधीश जस्ता राज्यका २–४ उच्च पदहरुमा महिलाहरु पुगेपनि आम महिलाहरुको अवस्था अझै दयनीय छ त्यसैले महिलाहरुको सवै क्षेत्रमा सहभागिता सुनिश्चित गर्न पनि महिलाहरु एकजुट भएर अगाडि बढ्नुपर्छ , उहाँको कथन थियो ।

पार्टी स्थायी कमिटि सदस्य एवं अनेमस‌ंघ उपाध्यक्ष सावित्रा भुसालले महिला अधिकारका कुराहरु कानूनमा लेखिए पनि व्यवहारमा लागु नभएको बताउदै उहाँले भन्नुभयो ‘लैङ्गिक विभेदका विरुद्ध महिलाहरु बोल्नु पर्छ , एकजुट हुनुपर्छ र आन्दोलन गर्नुपर्छ ।’ 

अनेमसंघका महासचिव एवं बागमती प्रदेशसभा सदस्य रमा आलेमगरले नेतृत्वले महिलालाई ‘उप’ पदमा थन्क्याउने गरेको गुनासो गर्नुभयो । सवै मुख्य पदहरुमा महिलाको सहभागिता सुनिश्चित गरिनु पर्ने उहाँको दावी थियो । 

अनेमसंघ काठमाण्डौं जिल्ला समिति अध्यक्ष शुशिला खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी पोलिटब्यूरो सदस्य दिलु पन्त, बाग्मती प्रदेशसभा सदस्य ओकुमारी श्रेष्ठ, अनेमसंघ बाग्मती प्रदेश अध्यक्ष मुनु सिग्देल, पार्टी केन्द्रीय कमिटी सदस्य एवं कामनपा अध्यक्ष रामेश्वर श्रेष्ठ, पार्टी काठमाण्डौं जिल्ला कमिटी अध्यक्ष एलपी श्रेष्ठ, अनेरास्वबियु महासचिव आरती लामा, अनेमसंघ काठमाण्डौं उपाध्यक्ष सरिता खनाल, सचिव शशिकला पराजुली लगायतका वक्ताहरुले महिला अधिकारका लागि महिलाहरु एकजुट हुनु पर्ने बताउनु भयो ।