कमला मुस्कान | साहित्य | फाल्गुन २४, २०७९
तातो घाममा पिल्सिएकी आमा
अन्नपात बेचेर शहर पैसा पठाउँछिन्
सन्तानको उच्च शिक्षाका लागि
ढुकुटी सधैँ रित्याउँछिन् ।
न नीति, न त कानुनको ज्ञान छ उनमा
हरदम माटोमा रमाउँछिन्
हक, अधिकार शब्दमा सीमित छन्
उनका लागि स्वास मात्र छ बाँकी ।
जाँडको बोतल काखी च्यापेर
सधैँ ढोकाभित्र छिर्ने लोग्ने पुरुसार्थ देखाउँछ
अनि, बुट बजार्दै घरमूली कहलाउँछ ।
त्यो शहरी परिवेश हेर
आधुनिकताको चरम कस्मेटिक दुनियाँमा
चुर्लुम्म डुबेको सन्तान
यथार्थ बिर्सिएर रमाउँछ ।
युवा जोश, जाँगर र श्रम
आज यहाँ लुटिएको छ
वर्षभरि निदाएका सरोकारवालाहरू
एक दिन पाँचतारे होटलमा
खाजा र खाना खाएर डकार्दै गोष्ठी गर्छन्
अनि, हराउँछन् ।
बालिका बलात्कारीको फन्दामा पर्छे
वृद्धामाथि जबर्जस्ती हुन्छ
किशोरी, महिला छाउगोठमा कष्ट काट्छन्
न्याय हराउँछ अनि मौनता छाउँछ ।
बिहे गर्यौँ, माइती घर छाड्यौँ, पराईघर रोजिसक्यौँ
छाडेको घर दाजु-भाइको, रोजेको घर श्रीमानको
अब हामी महिलाको नाममा
एक टुक्रो जग्गा देखाइ देऊ
कहाँ छ ?
एक अंश आधार देखाइ देऊ
के छ ?
कहाँ छ हाम्रो संसार-माइतीमा कि घरमा
यहाँ अर्थमा छ भिन्नता
सोचमा कहिल्यै छैन एकता
महिला असली भूमिहीन हुन्
खै त महिला अधिकारकर्मीको बोलीमा आँट कहाँ छ ?
नारी दिवस
पिल्सिएका महिला र पुरुष दुवैका लागि हो
यहाँ यथार्थ बोल्ने व्यक्तिलाई सम्मान कहाँ छ ?