आज बन्ने तेस्रो राष्ट्रपतिबाट मुलुक र जनताका अपेक्षा

आज बन्ने तेस्रो  राष्ट्रपतिबाट मुलुक र जनताका अपेक्षा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २५, २०७९

नेपालले आज मुलुकको तेस्रो राष्ट्रपति पाउँदैछ । राष्ट्रपतिका लागि नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन् । पौडेललाई सत्तारुढ ८ दलीय गठबन्धनको साथ छ भने नेम्वाङ एमालेको तर्फबाट उम्मेदवार बनेका छन् । 

बिहीबार साँझसम्म दुई मध्ये एक जना देशको तेस्रो राष्ट्रपति बन्नेछन् । मतदान सम्पन्न हुनासाथ मतगणना सुरु हुने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको छ । राष्ट्रपतिका लागि प्रतिस्पर्धामा रहेका दुवै नेता पूर्वसभामुख हुन् । दुई पूर्व सभामुख बीचको यो भिडन्तलाई निकै चासोपूर्वक हेरिएको छ । 

निर्वाचनमा प्रतिनिधिसभाका २ सय ७५, राष्ट्रिय सभाका ५९ र प्रदेशसभाका ५५० गरी कुल मतदाता संख्या ८८४ हुन्छन् । राष्ट्रपति चुनावमा संघीय संसदका सदस्यको मत भार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८  हुन्छ । संघीय संसदका सदस्यहरुको मतभार २६ हजार ३८६ र प्रदेश सभा सदस्यहरुको २६ हजार ४४० गरी जम्मा मतभार ५२ हजार ७८६ छ । राष्ट्रपति निर्वाचित हुन उम्मेदवारले ५० प्रतिशत मतभार ल्याउनै पर्छ ।

प्रतिनिधि सभामा ८९ र राष्ट्रिय सभामा १० सिट रहेको कांग्रेसको ७ हजार ८२१ मत भार संघीय संसदमा छ । कांग्रेसका १७५ प्रदेश सभा सदस्यको मतभार ८ हजार ४ सय गरी जम्मा मतभार १६ हजार २२१ छ ।

यसैगरी प्रतिनिधिसभामा ७८ र राष्ट्रिय सभामा १५ जना रहेको एमालेको ७ हजार ४२६ मत भार संघीय संसदमा र १६१ प्रदेश सभा सदस्यको मत भार ७ हजार ७२८ गरी एमालेको कुल मत भार १५ हजार १५४ छ । 

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको प्रतिनिधि सभामा ३२, राष्ट्रिय सभामा ७ र प्रदेश सभामा ८३ सांसद छन् । उनीहरुको कुल मत भार ७ हजार ६ सय ९७ हुन्छ । एकीकृत समाजवादीको २ हजार ५७४, राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५८०, जसपाको २ हजार १४५, राप्रपाको २ हजार ४५० र जनमत पार्टीको १ हजार २४४ मतभार छ । त्यस्तै, स्वतन्त्र सांसदको १ हजार २, लोसपाको ९७१, नागरिक उन्मुक्ति पार्टीको ८१३, राष्ट्रिय जनमोर्चाको २०६ र नेमकिपाको २२३ मतभार छ । 

त्यसपछि राष्ट्रपति बनेकी विद्या भण्डारीको कार्यकाल त्यो भन्दा विवादित बन्यो । तत्कालीन केपी ओली सरकारका हरेक निर्णयमा आँखा चिम्लिएर सहीछाप लगाउने र आफू अनुकूलको सरकार नभए संसदले दुई दुई पटक पारित गरेका विधेयक समेत रोक्ने काम उनले गरिन् । दुई दुई पटक असंवैधानिक रुपमा केपी ओलीले संसद विघटन गर्दा समेत विद्या भण्डारीले साथ दिइन् । उनले शितल निवासबाट राष्ट्रपति र देशको अभिभावक भन्दा एमालेको नेताका रुपमा बढी भूमिका खेलिन् भन्ने आरोप लाग्यो  ।

राप्रपाले निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेकाले यो निर्वाचनमा २ हजार ४५० मत भार कम खस्ने निश्चित छ । राष्ट्रपति निर्वाचित हुन नेम्वाङ र पौडेलले २६ हजार बढी मत भार ल्याउनुपर्ने हुन्छ । सत्ता गठबन्धनको साथ रहेका नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बन्ने सम्भावना बलियो छ । 

नेपालमा २०६५ साल जेठ १५ गते राजतन्त्र अन्त्य गरी मुलुक औपचारिक रुपमा गणतन्त्रात्मक देश बनेपछि दुई जना राष्ट्रपतिले आफ्नो कार्यकाल पूरा गरेका छन् । पहिलो राष्ट्रपति नेपाली काँग्रेसका डा.रामवरण यादव र दोस्रो राष्ट्रपति एमालेबाट विद्यादेवी भण्डारी बनेका छन् । 

नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्रप्रमुख तथा संविधानको संरक्षकका रुपमा व्यवस्था गरेको छ । संविधानको भाग ६ मा राष्ट्रपतिसम्बन्धी व्यवस्था छ:
धारा ६१ (१) – नेपालमा एक राष्ट्रपति रहनेछ ।
धारा ६१ (२) – राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ । निजले यस संविधान र संघीय कानून बमोजिम आफ्नो कार्यसम्पादन गर्नेछ ।
धारा ६१ (३) – राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नेछ ।
धारा ६१(४) – संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।
धारा ६६ (१) – राष्ट्रपतिले यो संविधान वा संघीय कानून बमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ ।

धारा ६६ (२) – उपधारा (१) बमोजिम अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा यो संविधान वा संघीय कानून बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्य बाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुनेछ । त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्री मार्फत पेश हुनेछ ।

धारा ६६ (३) – उपधारा (२) बमोजिम राष्ट्रपतिको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकार पत्रको प्रमाणीकरण संघीय कानून बमोजिम हुनेछ । 

नेपालको संविधानले राष्ट्रपतिलाई संवैधानिक भूमिका मात्रै दिएको छ र कार्यकारी अधिकार प्रधानमन्त्री र मन्त्रिपरिषदमा निहित छ । तर विगतमा दुई राष्ट्रपतिले सम्पादन गरेका विवादित कार्यका कारण राष्ट्रपतिप्रति पूर्ण विश्वास गर्ने आधार देखिदैन । २०६५ साल सबैभन्दा ठूलो दल बनेर प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डको सरकारले तत्कालीन सेनापति रुक्मांगद कटुवाललाई हटाउन गरेको निर्णय तत्कालीन राष्ट्रपति रामवरण यादवले उल्टाइदिए । त्यसबेला काँग्रेस उनलाई हटाउन नहुने पक्षमा थियो । यादवले काँग्रेसको चाहाना अनुसारकै निर्णय गरे । यो कदमले द्वैध सत्ताको अवस्था सिर्जना भएको भन्दै तत्कालीन प्रधानमन्त्री प्रचण्डले राजीनामा दिए र नागरिक सर्वोच्चताका लागि भन्दै आन्दोलन गरे । ६ दिनसम्म हड्ताल गरेर तत्कालीन माओवादीले देश नै ठप्प पार्‍यो ।

त्यसपछि राष्ट्रपति बनेकी विद्या भण्डारीको कार्यकाल त्यो भन्दा विवादित बन्यो । तत्कालीन केपी ओली सरकारका हरेक निर्णयमा आँखा चिम्लिएर सहीछाप लगाउने र आफू अनुकूलको सरकार नभए संसदले दुई दुई पटक पारित गरेका विधेयक समेत रोक्ने काम उनले गरिन् । दुई दुई पटक असंवैधानिक रुपमा केपी ओलीले संसद विघटन गर्दा समेत विद्या भण्डारीले साथ दिइन् । उनले शितल निवासबाट राष्ट्रपति र देशको अभिभावक भन्दा एमालेको नेताका रुपमा बढी भूमिका खेलिन् भन्ने आरोप लाग्यो  । पटक पटक ओली सरकारलाई विवादित काममा साथ दिएकी उनले अन्य दल र सरकारप्रति भने कडा दृष्टिकोण देखाइन् । संविधानको संरक्षण गर्नुपर्ने राष्ट्रपति आफैंले पटक पटक संविधान मिच्ने काम गरिन् । 

अहिले राष्ट्रपतिको प्रतिस्पर्धामा रहेका दुवै नेता लामो राजनीतिक भूमिका खेलेका व्यक्ति हुन् । कानुन निर्माण गर्ने वा कानुनका ज्ञाता समेत रहेका कारण पौडेल र नेम्वाङबाट संविधानको सफल कार्यान्वयन र निश्पक्ष कार्य सम्पादनको अपेक्षा मुलुकले गरेको छ । तर जसरी दलीय सिन्डिकेटका आधारमा राष्ट्रपति बन्ने र राष्ट्रपति बनेपछि पनि देशको अभिभावक भन्दा पार्टी कार्यकर्ताका रुपमा भूमिका खेल्ने गरेको तीतो विगत छ, यसले भने ढुक्क हुने अवस्था छैन ।