डा. शेखरकुमार श्रेष्ठ: साहित्यको हुटहुटीले झण्डै दर्जन कृति प्रकाशन

डा. शेखरकुमार श्रेष्ठ: साहित्यको हुटहुटीले झण्डै दर्जन कृति प्रकाशन

आशिष पौडेल  |  अन्तर्मन्थन  |  चैत्र २, २०७९

उहाँको बुवा खानेपानी संस्थानमा कर्मचारी हुनुहुन्थ्यो । र, घरमा खेतीपाती तथा कृषि कर्ममा रमाउनुहुन्थ्यो । आमा भने गृहिणी । घरका कामधन्दा तथा खेतबारीमा सघाउने गर्नुहुन्थ्यो । आर्थिक अवस्थाको कुरा गर्दा परिवार मध्यम वर्गीय परिवार हो । उहाँको जन्म २०३१ सालमा काठमाडौँको फर्पिङ दक्षिणकालीमा त्यस बेलाको सेती देवी गाविस सोखेलमा भएको हो । 

उहाँको बाल्यकाल कपडाका बल खेलेर अनि भोगटेका बल खेलेर बिते । र, गाउँमै दाइहरुले खोल्नुभएको सेतीदेवी युवा क्लवले आयोजना गर्ने नाटक हेर्दै अनि साना साना भूमिकामा खेल्दै बिते उहाँको बाल्यकाल । 

उहाँको आमाले आठ कक्षासम्म पढेका कारण उहाँलाई कखरा सिकाउने काम भने घरमै भयो । कखगघ र एबीसीडी भने उहाँले घरमै सिक्नुभयो । र गाउँकै गणेश प्राविमा एक कक्षा पढ्नुभयो । त्यसपछि भने उहाँ दुई कक्षा पढ्न पोखराको भाषा पाठशाला जानुभयो । र, तीन कक्षाको आधा आधीमा फेरि यता आएर त्यस बेलाको सोखेल भञ्ज्याङ प्रावि अर्थात् अहिलेको कामधेनु माविमा चार कक्षा पढ्नुभयो । र, पाँच कक्षादेखि भने अरुणोदय मावि सतिखेलमा पढ्नुभयो । 

उहाँ सोखेल स्कूल पढ्दा स्कूल पुग्न करिब ४५ मिनेट लाग्थ्यो हिँडेर । स्कूलमा डेस्क, बेञ्चको व्यवस्था थिएन । जसले गाउँमा स्कूल खोल्नु भएको थियो अनि स्कूल खोल्न अभिप्रेरित हुनुभएको थियो उहाँहरुले स्कूलमा सुकुलको व्यवस्था गर्नु भएको थियो । माटो र इँटाको गारो लगाइएको अनि माथि टिनको छानो भएको स्कूल थियो । भित्र एउटै ठूलो कोठामा दुई/तीन वटा कक्षा सञ्चालन हुन्थ्यो । 

भित्र दुई/तीन वटा कक्षा सञ्चालन भए पनि एउटा तोकिएको कक्षामा करिब तीस/पैँतीस जनाको सहभागिता रहन्थ्यो । त्यसमा महिलाहरुको उपस्थिति झण्डै आधा आधा नै हुन्थ्यो । त्यसलाई त्यो समयमा राम्रै उपस्थिति मानिन्थ्यो महिलाको । तर, पनि सँगैका अन्य गाउँभन्दा भने कमै थियो । बस्ती अलि पातलो भएका कारण पनि यसो भएको हुनसक्छ । 

उहाँ अरुणोदयमा आइसकेपछि पाँच कक्षामा एक सय पाँच जना थिए । पाँच कक्षामा भने डेस्क थिएन । बस्नलाई बेञ्च मात्र थियो । अनि काखमा किताब/कापी राखेर त्यसमा लेख्ने चलन थियो । डेस्कको व्यवस्था भने छ कक्षा भएपछि भयो । छ/सात कक्षामा पनि लगभग असी/पचासी जना विद्यार्थी थिए । स्कूल टाढा भएका कारण बसमा जानुपर्छ भनेर झुण्डिएर भए पनि गएको सम्झना छ उहाँलाई । घरबाट भने चाँडै गए पनि बस कुरेर झुण्डिएर गएको सम्झना छ । 

पाँच कक्षातिर भने उहाँ लास्त बेञ्चको विद्यार्थी । सात कक्षामा भने भने तेस्रो/चौथो बेञ्च यस्तै रह्यो । पढाइका हिसाबले उहाँ त्यति उम्दा पनि होइन लद्दु नै विद्यार्थी पनि होइन । त्यस हिसाबले औसत अथवा मध्यम विद्यार्थी हुनुहुन्थ्यो । 

श्रेष्ठ माध्यमिक तह अध्ययन गरेको अरुणोदयमा त्यस बेला अतिरिक्त क्रियाकलाप भने खासै भएनन् । मुश्किलले तीन वटा भएको उहाँ सम्झनुहुन्छ । र, उहाँको यसमा गुनासो पनि छ । उहाँले एक पटक हाजिरी जवाफ अनि एक पटक गीत लेखनमा भने भाग लिनुभएको पनि थियो । 

त्यस बेला फर्पिङकै त्रिभुवन आर्दश माविमा भने यस्ता अतिरिक्त क्रियाकलाप हुने गरेको र सिद्धिचरण श्रेष्ठ आएर कविता वाचन गर्ने भन्ने उहाँले पनि सुनेको हो । काठमाडौँबाट कविहरू गएर कविता वाचन गर्ने गरेको पनि उहाँले सुनेको हो । तर, उहाँको स्कूलमा भने त्यो वातावरण रहेन त्यस बेला । 

उहाँले २०४८ सालमा एसएलसी दिनुभएको हो । त्यतिखेर उहाँको ब्याचमा पैँसट्ठी जनाले एसएलसी दिएका थिए । त्यसमध्ये पाँच/सात जना पास भएको जस्तो लाग्छ उहाँलाई । उहाँ भने दोस्रो पटकमा पास हुनु भएको हो । 

त्यस बेला अरुणोदयमा काठमाडौँमा नै पहिलो पटक एघार/बाह्र कक्षा सुरु भएको थियो । तर, उहाँलाई भने काठमाडौँमा पढ्ने रहर लागेर पिपल्स क्याम्पस पकनाजोलमा व्यवस्थापनमा भर्ना हुनुभयो । तर, फेरि त्यहाँ पनि एक वर्ष पढेपछि उहाँ अरुणोदय  मै गएर आइए सकाउनु भयो । बि ए भने उहाँले सामुदायिक सेवा केन्द्रबाट गर्नुभएको हो । त्यसपछि महेन्द्ररत्न क्याम्पस ताहाचलबाट एम एड र त्रिचन्द्र कलेजबाट एमए गर्नुभयो । नेपाल संस्कृत विश्वविद्यालयबाट सिद्धिचरण श्रेष्ठ खण्डकाव्यमा पौरस्त्य दर्शनमा विद्यावारिधी गर्नुभयो । 

०००

स्कूलमा अतिरिक्त क्रियाकलापको कार्यक्रम नहुने भए पनि एक पटक छ/सात कक्षामा भोलि साहित्यिक कार्यक्रम हुँदैछ कविता लेखेर ल्याउनु भनेपछि उहाँलाई यो अवसरमा मैले पनि कविता लेख्नुपर्छ भन्ने लाग्यो । तिथिमिति ठ्याक्कै याद नभए पनि ‘पाउ धरी धरी मर्छु म केही काम गरी’ भनेर तीन/चार श्लोकको एउटा जस्तो जानेको त्यस्तो कविता लेख्नु भएको थियो । कविता छन्बद्ध वा लोकलय के भयो उहाँलाई पनि थाहा थिएन । भर्खर लेख्न थालको अनि स्कूलमा पनि साहित्यका अरु क्रियाकलाप नहुने कारणले के कसो भयो भन्ने चाहिँ उहाँलाई थाहा भएन । यो नै उहाँको साहित्य यात्राको थालनी थियो । तर, धेरै समय लेख्ने छाप्ने वा वाचन गर्ने काम भने भएन ।  

अनि बज्रबाराही साहित्यिक समूहको कविता वाचन कार्यक्रममा प्रध्यापक शिव गोपाल रिसाल प्रमुख अतिथि बनेर आउनुभयो । यसका लागि उहाँहरु प्रमुख अतिथिको निम्तो तथा भूमिका लेखनका लागि भनेर रिसाललाई भेटेर फर्कँदा राति गाडी नपाएर हिँड्दै जाँदा राति दश बजे घर पुगेको रमाइलो स्मरण अझै ताजै छ । यसले पनि साहित्य प्रतिको उहाँको अनुराग राम्रै देखिन्छ । 

यसरी सुरु भएको साहित्यक यात्रालाई अलि अघि बढ्न समय लाग्यो । ब्याचलर तिर पढ्दै गर्दा मधुपर्क तथा युवा मञ्चमा फुटकर रचनाहरू छापिन थाल्यो । त्यस बेला उहाँहरुले सिद्धि विनायक युवा क्लव गठन गर्नुभएको थियो । त्यस बेला उहाँ क्लबको सचिव हुनुहुन्थ्यो । साहित्यमा रुचि पनि भएको र अरुलाई पनि प्रेरणा पनि होस् र साहित्य पढ्नका लागि हुन्छ भनेर उहाँहरुले दुई/तीन वर्ष मधुपर्क नियमित लिनुभयो । त्यसमा भएका साहित्यका विभिन्न विधाले झन रुचि जगाउँदै गयो । र, त्यसमा पनि लघुकथाले अलि प्रभाव पार्‍यो । 

ब्याचलर सकेर एमएड पढ्न महेन्द्र रत्न क्याम्पस जानु केही अघि २०६० सालतिर उहाँले ‘सगरपुर’ लघुकथा संग्रह निकाल्नुभयो । त्यसमा ३० वटा जति लघुकथा र अरु दुई वटा लामो कथा समावेश थियो संग्रहमा । त्यसभन्दा केही अघि झण्डै २०५६/५७ सालतिर एमनेष्टीको लघुकथा प्रतियोगिताको बारेमा पत्रिकामा सूचना आएको थियो । उहाँले हुलाकको माध्यमबाट त्यसमा दुई वटा लघुकथा पठाउनु भयो । 

उहाँ क्याम्पस पढ्दा त्यसबेला चुडामणि बन्धुको भाषा विज्ञानको सम्प्रदाय भन्ने किताब भर्खर निस्केको थियो । किताबको माग राम्रै थियो । विद्यार्थीले किताब सजिलै किन्न र पाउन गाह्रै थियो भने पढेर सजिलै बुझेर उत्तर दिन पनि गाह्रो थियो । त्यसकारण उहाँका क्याम्पस पढ्दाका सहपाठी द्वय शेखर अर्याल र दयाराम दवाडीसँग मिलेर सरले दिएको नोटलाई मिलाएर किताब निकाल्नुभयो । त्यसबाट प्रभावित भएर अरु साथीहरु पाठ्यपुस्तक लेखनतिर लागौँ भन्ने पनि भयो । त्यसपछि उहाँ पाठ्यपुस्तक लेखनतिर पनि लाग्नुभयो । अब बल्ल अलि समय र फुर्सद मिलाएर उहाँ २०६९ सालतिर आएर साहित्य सिर्जनामा लाग्नुभयो । 

त्यसबेला शेखर अर्यालसँग मिलेर ‘पूर्णिमाको राति’ भन्ने बाल कवितामा उहाँको सह लेखन रह्यो । अनि त्यसै वर्ष ‘सिद्धिचरणका खण्डकाव्यमा क्रान्तिचेत’ भन्ने समालोचनाको किताब निस्कियो । त्यसपछि २०७५ सालमा बालकथा संग्रह ‘धन्यवादका पात्र’ प्रकाशन भयो । २०७६ सालमा ‘कमिलाको जन्ती’ बालकथा संग्रह प्रकाशित भयो । त्यसै वर्ष ‘हिमाल मुन्तिर’ बाल कविता संग्रह प्रकाशन भयो । त्यस्तै २०७७ सालमा ललितपुर र दक्षिणकालीका केही तीर्थस्थलका बारेमा जानकारी दिने उद्देश्यले ‘गोदावरी मेला र दक्षिणकाली नगरका तीर्थस्थल’ भन्ने पुस्तक प्रकाशन भयो । त्यस्तै २०७८ सालमा आएर ‘मृत्यु उत्सव होस्’ कविता संग्रह प्रकाशन भयो । २०७९ सालमा भने उहाँले ‘बोकाको खुसी’ भन्ने लघुकथा संग्रह निकाल्नुभयो । 

त्यस्तै एक सय सात जना लघु कथाकारका एक सय सात लघुकथा समेटिएको पाठशालाको लघुकथाको लता केसी, राजु क्षत्री ‘अपुरो’ तथा उहाँको सम्पादनमा प्रकाशित भएको छ । हाम्रो लघुकथा पाठशाला स्मारिकाको पनि उहाँ लगायत यही टिमले सम्पादन गरेको छ । 

यसरी २०७० सालतिर आएर मात्रै साहित्य लेखनमा सक्रिय भए पनि उहाँका झण्डै दश वटा कृतिहरु प्रकाशित भइसकेका छन् । यसबाट साहित्यमा उहाँको भोक तथा लगन शिलताका बारेमा बुझ्न सकिन्छ । 

काम गर्दै गयो भने एकदिन अवश्य पुरस्कार पाइन्छ र काम नै पुरस्कार हो भन्ने मान्यता राख्ने उहाँले त्यस्तो उल्लेख्य पुरस्कार भने पाउनु भएको छ । सम्मान भने निकै नै रहेका छन् । 

‘सगरपुर’ लघुकथा संग्रह निकाल्दा सुरु सुरुमा भएको हुनाले उहाँलाई कसरी निकाल्ने के गर्ने भन्ने त्यति जानकारी थिएन । बज्रबाराही साहित्यिक समूहका साथीहरुसँग सम्पर्क भएपछि केही कृति निकाल्नुपर्छ भन्ने कुरा भयो । त्यसपछि उहाँ सगरपुर प्रकाशनमा लाग्नुभयो । तर, कसरी निकाल्ने भन्ने के गर्ने अलमल छँदै थियो । भूमिका लेखनमा कसलाई लगाउने के गर्ने कोहीसँग चिनजान छैन भन्ने कुरा चल्दै थियो ।

अनि बज्रबाराही साहित्यिक समूहको कविता वाचन कार्यक्रममा प्रध्यापक शिव गोपाल रिसाल प्रमुख अतिथि बनेर आउनुभयो । यसका लागि उहाँहरु प्रमुख अतिथिको निम्तो तथा भूमिका लेखनका लागि भनेर रिसाललाई भेटेर फर्कँदा राति गाडी नपाएर हिँड्दै जाँदा राति दश बजे घर पुगेको रमाइलो स्मरण अझै ताजै छ । यसले पनि साहित्य प्रतिको उहाँको अनुराग राम्रै देखिन्छ ।