सीताको प्रदेश सरकार जिम्मा लिएपनि नगारिकतहबाट दश लाखको कोष खडा गरिने

सीताको प्रदेश सरकार जिम्मा लिएपनि नगारिकतहबाट दश लाखको कोष खडा गरिने

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ १८, २०७६

काठमाडौँ । दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको ‘शिक्षा तथा पालनपोषण’को लागि प्रदेश सरकारले जिम्मा लिएको छ भने काठमाडौँमा दशलाखको कोष खडा गर्न सहयोग सङ्कलन अभियान थालिएको छ । 

पाँचथर घर भई काठमाडौँमा बस्दै आएका महिला अगुवाहरूको सक्रियतामा रु १० लाखको कोष रहने गरी सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको अभियानकी संयोजक कान्ता रिजालले जानकारी दिनुभएको छ । यस अभियानका लागि महिला अधिकारका क्षेत्रमा क्रियाशील रिजालको संयोजकत्वमा तथा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र काँग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्गदेम्बे संरक्षकत्वमा ११ सदस्यीय समिति समेत  गठन गरिएको छ । 

संयोजक रिजालका अनुसार अभियानका क्रममा हाल रु दुई लाख जुटिसकेको र १० लाख सम्म जुटाउने तयारी गरिएको छ । यसरी सहयोग सङ्कलन रु १० लाखको कोष निर्माण गरी त्यो कोषबाट बालिकाको शिक्षासहित पालनपोषणमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको जानकारी दिइएको छ ।  

यसैबिच अभियानकी संयोजक रिजालसहितको टोलीले दमकको लाइफलाइन अस्पतालमा उपचार गराइरहेकी बालिका खजुमको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी लिएको छ । गत जेठ ६ गते राति मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या भएको थियो । उक्त घटनामा भागेर ज्यान जोगाएकी बालिकालाई घटनाको भोलिपल्ट उपचारका लागि दमक ल्याइएको थियो । 

प्रहरीको निगरानीमा उपचार गराइरहेकी बालिकाको प्रदेश सरकारले सबै उपचार खर्च व्यहोर्ने जानकारी यसअघि नै गराइ सकिएको छ । यसैबिच दमकका सामाजिक व्यक्तित्व घनेन्द्रराज योङयाले बालिकाको पालनपोषण गर्न तयार रहको जानकारी गराई सक्नुभएको भएको छ ।  बाँकी रहेका ‘परिवारले दिए बालिकालाई छोरीका रूपमा आफूले जिम्मा लिन तयार रहेको’ योङयाले बताएका थिए  । 

यसरी भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको पालनपोषण र शिक्षा दीक्षाको बारेमा जनस्तरमा सामुुहिक तथा व्यक्तिगत चासो राखेर विभिन्न अभियान सञ्चालन गरिएको भए पनि ‘शिक्षा तथा पालनपोषण’को जिम्मा एक नम्बर प्रदेश सरकारले जिम्मा लिएको छ । 

 दमकको लाइफलाइन अस्पतालमा उपचाररत बालिकाको शिक्षा तथा पालनपोषण गर्नका लागि आज गाउँपालिकाका अध्यक्ष अमर माखिमको उपस्थितिमा बालिकालाई प्रदेश सरकारले जिम्मा लिएको हो ।  परिवारको स्वीकृतिमा बालिकालाई प्रदेश सरकारका प्रतिनिधिलाई जिम्मा दिइएको गाउँपालिका अध्यक्ष माखिमले जानकारी दिएका थिए । 

बालिका स्वास्थ्य स्थिति बुझ्नको लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोका स्वकीय सचिव सुजन मङ्ग्राती र इटहरीको तरहरास्थित सहिद स्मृति आवासीय विद्यालयका प्रधानाध्यापक शिवचन्द्र राईसहितको टोली अस्पतालमा नै पुगेको थियो ।  

प्रहरीको निगरानीमा उपचाररत बालिकालाई सबै कानुनी प्रक्रिया पूरा गरेर गाउँपालिकाका अध्यक्ष माखिमलाई बालिका बुझाइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिएका थिए । 

कक्षा ९ मा अध्ययनरत बालिकाको पठनपाठनलाई निरन्तरता दिन इटहरीस्थित सहिद स्मृति आवासीय विद्यालयमा भर्ना गरिने तयारी समेत गरिएको छ ।