डा. विदुर चालिसे : लघुकथाका नौलो थालनी, प्राध्यापन तथा सृजनामा समर्पित नाम

डा. विदुर चालिसे : लघुकथाका नौलो थालनी, प्राध्यापन तथा सृजनामा समर्पित नाम

आशिष पौडेल  |  अन्तर्मन्थन  |  चैत्र ६, २०७९

डा. विदुर चालिसेको बुवा सरकारी जागिरे । घर, काठमाडौँ आरु बारी । आमा सामान्य गृहिणी । काठमाण्डौको काँठ क्षेत्र । दुई, चार रोपनी जमिन तथा खान लाउन दुःख नभएको एउटा सामान्य परिवार । यही परिवारमा उहाँको जन्म २०१६ सालमा भएको हो । 

सामान्यतया काँठ क्षेत्रमा बाल्यकालमा गुच्चा खेल्ने, पांग्रा गुडाउने, छिमेकीका बारीका फलफूल चोर्ने गरी बिते पनि उहाँको भने त्यस्तो भएन । अलि अपल भकुण्डो र अरु खेल खेल्दै बित्यो उहाँको बाल्यकाल । 

उहाँको घर नजिकै ग्राम निर्माण बन्धु मण्डल क्लबले खेलकुदका लागि फुटबल लगायत अरु सामग्री पनि उपलब्ध गराउने भएकोले फुटबलमा उहाँको पहुँच राम्रै भयो । उहाँले आठ कक्षा पढ्दै गर्दा तेह्र वर्षको उमेरमै २०३३ साल चैत ३ गते जागिर खानु भयो यसले पनि बाल्यकालमा उहाँको त्यस्तो बिज्याँइ गर्ने स्वभाव थिएन र अवसर पनि मिलेन भनेर भन्न सकिन्छ । त्यसमा वरिष्ठ साहित्यकार रमेश विकल उहाँको तेह्र दिने भित्रको भएको  हुनाले पनि उहाँलाई अन्य कुरामा लाग्ने अवसर मिलेन । 

उहाँको प्रारम्भिक शिक्षा अरुणोदय माविमा भयो जहाँ उहाँले तीन कक्षासम्म पढ्नु भयो । त्यसपछि गोकर्ण सहयोगी माविमा सात कक्षासम्म र माध्यमिक शिक्षा भने चामुण्डा माविबाट विद्यालय शिक्षाको बिट मार्नु भएको हो । 

अरुणोदय माविलाई समुन्नत बनाउन वरिष्ठ साहित्यकार रमेश विकलको ठूलो योगदान रहेकोले भवनदेखि लिएर बस्नलाई डेस्क बेन्चको राम्रै थिए । त्यस बेला पनि अन्यत्र झैँ सुकुलमा बसेर पढेको उहाँलाई सम्झना छैन । निमाविसम्म पढ्दा एउटा कक्षामा झण्डै पैँतीस/चालीस जनाको संख्यामा महिलाको सहभागिता भने अत्यन्तै न्यून थियो । यस्तै दुई/तीन जना महिला हुन्थे । 

स्कूलमा अतिरिक्त क्रियाकलाप पनि हुन्थे । ठूलाहरुले ठूलो पाँच नम्बरको फुटबल खेले पनि उहाँहरुको भागमा पनि सानो तीन नम्बरको बल पथ्र्यो । डण्डी बियो, कपर्दी र तेलकासा पनि उहाँले खेल्नु भएकै हो । 

माध्यमिक तहको कुरा गर्दा पनि महिलाको सहभागिता उस्तै नै रह्यो , दुई/तीन जनाको भन्दा संख्या बढेको अवस्था थिएन । उहाँ दुई/तीन कक्षामा पहिलो विद्यार्थी भए पनि आठ कक्षामा पढ्दा नयाँ शिक्षा लागू भएकोले कोर्सहरू परिवर्तन भएको हुनाले केही असजिलो भयो । उहाँ माध्यमिक तहसम्मा आइपुग्दा भने पढाइमा त्यस्तो अब्बल तथा लद्दु पनि होइन । पढाइ मध्यम नै थियो ।

उहाँले २०३५ सालमा एसएलसी दिनु भएको हो । उहाँको ब्याचमा झण्डै बीस/बाइस जना थिए । भर्खर नयाँ शिक्षा लागू भएकोले कोही पास भएन । स्कूल नै नील भयो । उहाँले त्यसपछि अर्को वर्ष एसएलसी पास गर्नुभयो ।

०००

एसएलसी गरेपछि उहाँ चाबहिलमा पशुपति क्याम्पसमा पढ्न थाल्नुभयो । त्यस बेला पशुपति क्याम्पस त्रिवि अन्तर्गत पहिलो प्राइभेट कलेज थियो । नयाँ शिक्षाको प्रभाव र प्रयोगको समय अनि स्थानीय बुद्धिजीवी, पेशा, व्यवसायीले आफ्नो ठाउँमा कलेज आएको हुनाले यसलाई हुर्काउनु पर्छ, बढाउनु पर्छ भन्ने भएकोले कलेजको व्यवस्थापन तथा पढाइ राम्रो थियो । 

त्यसपछि त्यस बेला बिए पढ्न कि त्रिचन्द्र कि आरआर जानुपथ्र्यो । त्रिचन्द्रमा उहाँको नाम निस्किएन त्यसकारण उहाँ बिए पढ्न आरआर क्याम्पस जानुभयो । आरआर क्याम्पस पढ्न शहर गएको हुनाले गाउँमा उहाँको शान पनि बेग्लै थियो । 

अनि उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एमए पास गर्नुभयो । अभिलेखीय नेपाली व्याकरण तत्वको बारेमा भने उहाँले विद्यावारिधी गर्नुभयो । 

०००

२०३३ साल चैत ३ गते उहाँले नेपाल औलो उन्मुलन संघको अफिस कमलपोखरीमा जागिर खानुभएको हो । त्यस बेला जागिर खानका लागि नागरिकता तथा प्रमाणपत्र पनि उहाँले केही पेश गर्नु परेको थिएन । उहाँको स्कूल त्यस बेला बिहान थियो । स्कूल बिहान छ बजेदेखि साढे नौ बजेसम्म थियो । त्यसकारण जागिर खान सहज भएको थियो । र जागिर खान दैनिक नै जानु पर्थ्यो । उहाँको काम भनेको दर्ता, चलानी तथा फाइलिङ यस्तै थियो । 

नेपाली लघुकथालाई अन्तर्राष्ट्रिय बजारमा अन्तर्राष्ट्रियकरण गर्नका लागि त्यसलाई कथा कुथुङ्ग्रीको रुपमा चार वटा कृतिहरु जस्ट फिक्सन इडिशन र ग्लोबल इडिटले प्रकाशन गरेको छ । अमेजनमा पनि त्यो किन्न पाइन्छ । त्यसमा सिउँदो, कुथुङ्ग्री, होलोकास्ट, कन्फ्ल्किट भने अंग्रेजीमा निस्किएका छन् । 

उहाँ चाइनिज फोनिक्स साइकल चढेर अफिस जानुहुन्थ्यो । साइकल भने बुवाले किनिदिनु भएको थियो । त्यस बेला साइकलको दाम साढे दुई सयदेखि तीन सय सम्म पर्थ्यो । 

त्यस बेला उहाँको तलब एक सय ३५ रुपैयाँ थियो । रोटेपिङ भएको खैरो खैरो सयको नोट अनि एक रुपैयाँको ३५ वटा नोट उहाँले पहिलो तलबका रुपमा बुझ्नु भएको थियो । त्यसबाट उहाँले अंग्रेजीको ट्युशन पढाएको तीस रुपैयाँ तिर्नुभयो । बाँकी पैसा ल्याएर उहाँले बुवालाई दिनुभयो । बुवाले आमालाई र आमाले उहाँलाई दिनुभयो । फेरि उहाँले आमालाई नै राख्न दिनुभयो । अनि आमाले एक हप्ताको लागि भनेर दश रुपैयाँ दिन गर्नुहुन्थ्यो । 

त्यस बेला पनि खाजा खान भने पचास पैसा खर्च हुन्थ्यो ।  सबै चिजको दश, दश पैसा पर्थ्यो । चिउरा, चना, भुटुन, आलु तथा चिया सबै गर्दा पचास पैसा खर्च हुन्थ्यो ।

तलब पाएको दिन भने उहाँले साइकल लिएर जानुभएको थिएन । कुर्था सुरुवाल लगाएर अफिस गएको मान्छे उहाँले पैसा कुर्थाको खल्तीमा राख्नु भएको थियो । अनि अफिसबाट आउँदा त्यो पैसा खस्ला भनेर उहाँले कुखुराले चल्ला च्यापेझैँ च्यापेर घर आइपुग्नुभयो । 

उहाँले यो जागिर झण्डै अठार वर्ष खानुभयो अर्थात् २०५१ सालसम्म खानुभयो । २०४८ देखि २०५० सम्म ग्राम सेवा शिक्षा मन्दिर मावि कपनमा पनि पढाउनु भयो । २०५० सालमा उहाँले कोटेश्वर बहुमुखी क्याम्पसमा पढाउन थाल्नु भयो । २०५१ देखि भने विश्व भाषा क्याम्पस र पद्मकन्या क्याम्पसमा पढाउन सुरु गर्नुभयो । २०५४ सालदेखि भने सेवा आयोगको परिक्षा पास गरेर उहाँ लेक्चररकोरुपमा काम गर्न थाल्नुभयो । र, भर्खर उहाँ सहायक प्राध्यापकबाट अवकाश हुनुभएको छ । 
०००
ग्राम निर्माण बन्धु निर्माण क्लबले उहाँलाई साहित्यमा लाग्न प्रेरित गरेको हो । २०३२/३३ सालदेखि नै नाटकको साज सज्जा बनाउनेदेखि नाटक खेल्ने सम्म पनि उहाँले गर्नुभयो । उहाँले २०३२ सालतिर नै वरिष्ठ कलाकार मनुजबाबु मिश्रसँग करिब नौ महिना कलाकारिता पनि सिक्नुभयो । कलाकारिताका कुरा आउने भएकोले उहाँलाई रमेश विकलले स्टेजको साज सज्जा आदिमा उहाँलाई भरोसा गर्नुभएको थियो । 

मनुज बाबु मिश्र कहाँ दुई वटा ठूला कुकुरहरू थिए । अनि जाँदा बाहिर ढोकामा सधैँ ढकढक गरेर जानुपर्थ्यो । सिक्न जाने क्रममा के भयो भने एक दिन उहाँले ढोका ढकढक गर्नुभयो । मिश्रको छोरी मञ्जु मिश्र हातमा चिया लिएर आएर ढोका खोल्नु मात्रै के भएको थियो । कुकुरले उहाँलाई झम्ट्यो र त्यसपछि उहाँ सिक्न जान नै छोड्नुभयो कुकुरको डरले ।

सुरु सुरुमा भने उहाँले छोटा छोटा कथाहरु लेख्न थाल्नुभयो । त्यसपछि भने गद्य कविताहरु लेख्न थाल्नुभयो । २०३५ सालमा भने स्वदेश मासिकमा उहाँको आमा भन्ने पहिलो कविता प्रकाशन भयो । त्यसपछि निरन्तर लेखन र सम्पादनको काम जारी राख्नुभयो । बन्धुसंगम, मुक्कालगायतका पत्रिका उहाँले सम्पादन गरेका कविता हुन् । 

२०४० सालमा जनकपुर चुरोट कारखानाको मुखपत्र शान्तिदूतमा यो गीत त मान्छेले गाउनुपर्छ भन्ने कथा प्रकाशन भयो । २०४५ सालमा भने राष्ट्र बैंकको मुखपत्र मिर्मिरे मा उहाँको रवी भन्ने लघुकथा प्रकाशन भयो । त्यसपछि २०४७ सालमा उहाँले युग बोल्छ तथा सिसिफसको श्रापित मांसपिण्ड लघुकाव्य २०५१ सालमा प्रकाशन गर्नुभयो । त्यस्तै २०७० सालमा उहाँको ऐतिहासिक नेपाली अव्यय अनुसन्धान ग्रन्थ प्रकाशन भएको छ । अहिलेसम्म उहाँका आठ वटा कविता संग्रह प्रकाशन भएका छन् । 

दुई वटा भने अंग्रेजी भाषामा अनुवाद जस्ट फिक्स एडिशनले प्रकाशन गरेको छ । जसको प्रिन्ट तथा अनलाइन दुवै स्वाद अन्तर्राष्टिय बजारमा लिन सकिन्छ ।  युग बोल्छ, मांसपिण्ड, सेनेगल, कोशीका उडान, स्मृतिका पहाड तथा च्याङमाइको डबली, हनीमुन अफ द गजलिष्ट र खालीखान्चा  रहेका छन् । जसमा हनीमुन अफ द गजलिष्ट र खालीखान्चा भने अंग्रेजी नेपाली दुवै भाषामा प्रकाशन भएका छन् । 

लामो समयदेखि लघुकथा लेखे पनि उहाँको रातो चामल भन्ने लघुकथा संग्रह २०७६ सालमा मात्र निस्कियो । २०७७ सालमा चलान, २०७९ मा लघु कथालय प्रकाशन भयो । अहिले भने लघुकथाको बारेमा त्यसको इतिहास तथा सैद्धान्तिक पक्ष सबै समावेश गरेर लघु कथाकल्प प्रकाशन भएको छ । 

नेपाली लघुकथालाई अन्तर्राष्ट्रिय बजारमा अन्तर्राष्ट्रियकरण गर्नका लागि त्यसलाई कथा कुथुङ्ग्रीको रुपमा चार वटा कृतिहरु जस्ट फिक्सन इडिशन र ग्लोबल इडिटले प्रकाशन गरेको छ । अमेजनमा पनि त्यो किन्न पाइन्छ । त्यसमा सिउँदो, कुथुङ्ग्री, होलोकास्ट, कन्फ्ल्किट भने अंग्रेजीमा निस्किएका छन् । 

उहाँका भाषा सम्बन्धी पनि चार वटा किताबहरु छन् । अभिलेखीय नेपाली क्रिया, ऐतिहासिक नेपाली अपडेट, नेपाली व्याकरणको इतिहास, अभिलेखीय नेपाली नाम धातु उहाँका भाषा सम्बन्धी किताब हुन् । 

समालोचनामा पनि उहाँले कलम चलाउनु भएको छ । कृष्ण बजगाइँको कृतिमा रहेको नवीनतम नियात्रा लेखनसँग सम्बन्धित पक्षलाई विश्लेषण गरेर लेखिएको नियात्रामा नौलो आयाम भन्ने पुस्तक प्रकशन भएको छ । सबै गरेर हालसम्म उहाँका २२ वटा पुस्तक प्रकाशन भएका छन् । 

२०४० सालमा नेपाल जापान भातृ संगठन भन्ने संस्थाले आयोजना गरेको कविता प्रतियोगितामा उहाँले दोस्रो पुरस्कार प्राप्त गर्नुभएको थियो । अर्को भनेको उपत्यका व्यापी अन्तर क्याम्पस कविता प्रतियोगितामा पहिलो पुरस्कार प्राप्त गर्नुभएको थियो । त्यसयता उहाँले कुनै पुरस्कार प्राप्त नगरे पनि आफू पुरस्कारका लागि भन्दा पनि आत्मसन्तुष्टि र कामका लागि लेख्ने भएकोले पुरस्कार नपाउँदा पनि त्यसले लेखकीय क्षमतामा ह्रास नआएको उहाँ बताउनुहुन्छ । 

अहिले लेखेर पुरस्कार पाउनुभन्दा पनि एउटा लेखकले आफ्नो लेखकीय धर्मलाई थामेर लेखेर बसिरह्यो भने त्यो नै सबैभन्दा ठूलो पुरस्कार हुने उहाँको ठम्याइ छ । उहाँ अहिले लघुकथाको क्षेत्रमा एउटा नयाँ काम गर्न खोज्दै हुनुहुन्छ । कवितामा महाकाव्य भने जस्तै लघुकथामा करिब आठ सय पेजको करिब चार सय लघुकथा समावेश भएको महासंग्रह निकाल्ने तयारीमा पनि हुनुहुन्छ । 

उहाँले यसका लागि एक दिनमा एउटा तथा बाह्र महिनाको, बाह्र अवधिमा वैशाखदेखि चैतसम्ममा दिन गन्ती गरेर लेखिएका लघुकथाहरू छन् । यो नेपाली लघुकथाको क्षेत्रमा वृहत्तर आकारको कृति हुनेछ । यसलाई उहाँले लघुकथा महासंग्रह भन्नु भएको छ । उहाँको जानकारीमा अहिलेसम्म यस्तो कृति नभएकोले यो पहिले तथा नयाँ प्रयोग हुने उहाँको सोच छ ।

अहिले भने उहाँ भाषाका विभिन्न लेख तथा अन्यत्र पठनपाठनमा नै समय बित्ने गरेको छ । एउटा लेखक तथा प्राध्यापनमा रमाएको मान्छेले गर्ने भनेको यही नै हो भन्दै उहाँ लेखपढमै आफ्नो समय बित्ने गरेको बताउनुहुन्छ ।