स्ववियु निर्वाचन : महत्व, गरिमा र औचित्यमाथि प्रश्नै प्रश्न

स्ववियु निर्वाचन : महत्व, गरिमा र औचित्यमाथि प्रश्नै प्रश्न

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ६, २०७९

एउटा समय थियो, विद्यार्थीहरु राजनीतिक परिवर्तनका आवाज उठाउँथे । निरंकुश पञ्चायती व्यवस्थामा राजनीतिक दलहरु प्रतिबन्धित थिए र विद्यार्थी संगठनहरुले नै राजनीतिक दलका एजेण्डाहरु विद्यार्थी र जनता समक्ष लैजाने कार्यको  नेतृत्व गर्ने गर्दथे ।

यसलाई उनीहरुले स्ववियुमार्फत संस्थागत गर्थे । यतिबेला आएर भने विद्यार्थीको यो प्रतिनिधिमूलक संस्थाको महत्व, गरिमा र औचित्यमाथि प्रश्न मात्रै खडा भएको छैन, स्ववियु निर्वाचन गर्नुपर्ने आवश्यकता समेत महसुस गर्न छाडिएको अवस्था छ ।

सिधा भन्दा स्ववियुको पञ्चायतकाल र त्यसपछि जुन भूमिका र साख थियो, त्यो अब कायम रहेन । दोस्रो जनआन्दोलनपछि त स्ववियु निर्वाचन नियमित नै नहुँदा अस्तित्व नै संकटमा  छ । 

आइतबार त्रिभूवन विश्वविद्यालय अन्तर्गतका सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन भयो । तर निर्वाचनमा न मतदाता उत्साहित देखिएनन् । किनकि विद्यार्थीहरूमा स्ववियु आफ्नो प्रतिनिधि संस्था भएकोमा गर्व गर्ने अवस्था छैन । 

केही वर्षअघिसम्म स्ववियू निर्वाचन जित्नका लागि पैसा र पहुँचका आधारमा विद्यार्थी भर्ना गर्ने प्रवृत्ति हाबी थियो । त्रिविका ६२ वटा आंगिक र १ हजार ४० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचनका लागि २८ वर्षे उमेर हद तोकिएको छ । स्ववियुलाई राजनीतिको अखडा बनाउनका लागि एउटै संकाय र एउटै तहमा पटक पटक भर्ना गरेर बसिरहने प्रवृत्तिलाई कम गर्ने अपेक्षा गरिएको छ । 

त्यसो त कुनै समय स्ववियु निर्वाचनलाई नेता उत्पादन गर्ने नर्सरीका रुपमा लिइन्थ्यो । अहिलेको राजनीतिका धेरै नेताहरु विद्यार्थी राजनीति बाटै उदाएका हुन् । आम रुपमा प्रभावशाली, पढाइमा तेज र जेहेन्दार तथा राजनीतिक परिवर्तन, प्रजातन्त्रप्रति सचेत विद्यार्थीले नेतृत्व गर्थे । तर पछिल्ला केही दशकदेखि स्ववियु राजनीतिको अखडा, गुण्डागर्दीको वैधानिक लाइसेन्सजस्तो बन्न पुगेको छ । त्यसैले पढाईमा तीक्ष्ण विद्यार्थीहरु स्ववियु र विद्यार्थी राजनीतिबाट टाढिन थालेका छन् । एक किसिमले विद्यार्थी राजनीति असक्षमहरुको झुण्डमा रुपान्तरित हुँदै जान थालेको छ । 

स्ववियु निर्वाचनका नाममा हुने झडप, क्याम्पस हाताभित्र विद्यार्थी संगठन बीचको काटमार, कलमको ठाउँमा खुकुरी लिएर जाने प्रवृत्तिले विद्यार्थीहरूमा वितृष्णा बढ्दो छ । 

विद्यार्थी संगठनहरु विद्यार्थीका समस्या, शैक्षिक मुद्दाहरुमा बहस गर्ने मात्रै होइन, दलहरु र सरकारले बाटो बिराएमा वा जनता विरुद्ध कदम चालेमा सशक्त रुपमा प्रतिरोधमा उत्रिने भएकाले सरकार पनि विद्यार्थी सडकमा उत्रिएपछि डराउने गर्दथे । तर अहिले विद्यार्थी संगठनहरु पार्टीका भ्रातृ संगठन मात्रै होइन, झोले संगठनमा रुपान्तरित भएका छन् । आफ्नो मूल पार्टी सत्तामा पुग्दा जस्तोसुकै कुकर्म गरे पनि सही र विरोधी पार्टी सत्तामा गए राम्रै काम गरे पनि विरोध गर्नुपर्छ भन्ने गलत परिपाटीको सिकार भएको छ । 

यी कुनै पनि विद्यार्थी संगठनलाई यसबारे सोच्ने फुर्सद नै छैन । बरु उनीहरु नाफा घाटाको हिसाब गरेर मात्रै आन्दोलन गर्ने वा नगर्ने, शैक्षिक सुधारको पक्षमा लड्ने नलड्ने निर्णय गर्छन् । यस्ता द्वैध चरित्रले विद्यार्थी आन्दोलनको मर्म, गरिमा र हैसियतलाई माटोमा मिलाइदिएको छ । तर विद्यार्थी संगठन र स्ववियुले यस्ता विषयमा आवाज उठाएको पाइदैन ।

विद्यार्थी संगठनहरु शैक्षिक मुद्दामा, विद्यार्थीका समस्यामा हैन, चन्दाको धन्दामा रमाएका छन् । भ्रष्टाचारको विरोध गर्नुपर्ने विद्यार्थी संगठनका नेताहरु नै स्ववियुमा पसेर फोटोकपी पेपरमा कमिशन खाएर राजनीति सुरु गर्छन् । वार्षिक रुपमा स्ववियुमा विभिन्न अतिरिक्त क्रियाकलापका लागि छुट्टिने बजेटमा अनियमितता र भ्रष्टचार गरेर स्ववियुलाई नै भ्रष्टचारको अखडा बनाएका छन् । 

कुनै समय त्रिभुवन विश्वविद्यालय विश्वमै प्रतिष्ठित विश्वविद्यालयमा पर्दथ्यो । तर अहिले त्रिविको अवस्था दिन दुई गुणा, रात चौगुणाका दरले बिग्रिँदै गएको छ । यसको शैक्षिक स्तर, यहाँ हुने लापरबाही, शैक्षिक सत्र सुरु र अन्त्य हुने समय, विद्यार्थीको परीक्षाको नियमितता, परीक्षा र रिजल्ट समयमा नै गर्नु पर्नेजस्ता कुरा त्रिविका लागि एकादेशको कथा भएका छन् । परीक्षा दिएको एक वर्षसम्म रिजल्ट नआउने कुरा सामान्यजस्तै भएको छ । त्रिविबाट प्रवीणता प्रमाणपत्र तहको खारेजीसँगै त्रिवि सुनसान बनेको छ । करोडौंका भवन र शैक्षिक सामग्री तथा प्रयोगशालाहरू प्रयोगविहीन बनेका छन् ।

भौतिक संरचनाको दुर्ग ती जताततै देख्न सकिन्छ । त्रिविमा हाजिर गर्ने र पढाउन निजी शिक्षण संस्था जाने प्राध्यापकहरको ठूलो संख्या छ । तर यी कुनै पनि विद्यार्थी संगठनलाई यसबारे सोच्ने फुर्सद नै छैन । बरु उनीहरु नाफा घाटाको हिसाब गरेर मात्रै आन्दोलन गर्ने वा नगर्ने, शैक्षिक सुधारको पक्षमा लड्ने नलड्ने निर्णय गर्छन् । यस्ता द्वैध चरित्रले विद्यार्थी आन्दोलनको मर्म, गरिमा र हैसियतलाई माटोमा मिलाइदिएको छ । तर विद्यार्थी संगठन र स्ववियुले यस्ता विषयमा आवाज उठाएको पाइदैन । विद्यार्थी संगठनको स्वार्थ टकराव, बिकृति र विसंगतिको पर्खालले स्ववियुलाई निरन्तर घाटतिरको यात्रा गराइरहेको छ ।